ताजा अपडेट »

दाङमा स्थानीय सरकारद्वारा प्लाष्टिकजन्य फूल बिक्रीमा रोक, कृषक खुशी

बुधबार, १५ कार्तिक २०८०, ०६ : ४५
28 Shares

दाङ । पछिल्लो समय जिल्लामा व्यवसायिक रुपमा फूलखेती गर्नेको आकर्षण बढिरहेको छ । कहिँ सामूहिक रुपमा गरिएको छ, भने कहिँ एकल र विद्यालयहरूमा पनि गरिएको छ । खेती गर्ने क्रम बर्सेनी बढिरहेको अवस्थामा भनेमजस्तो बजार नहुँदा समस्या हुने गरेको फूलखेती व्यवसायीहरू बताउँछन् । विगत ३ वर्षदेखि तुलसीपुर ८ मा सयपत्रीको व्यवसायिक फूलखेती गर्दै आएका गणेश भण्डारीले विगतको वर्ष जस्तै यस पटक फूल बिक्रीमा समस्या नहुने बताए ।

विगतका वर्षहरूमा भारतबाट फूलहरू आउने र प्लाष्टिकजन्य फूलले गर्दा आफूहरूले उत्पादन गरेको फूलले बजार पाउन नसकेको भन्दै उनले यस पटक तुलसीपुर उपमहानगरले मात्र नभइ छिमेकी पालिकाहरूले पनि प्लाष्टिकजन्य फूलहरू बिक्री वितरणमा रोक लगाएपछि धेरै सहज हुने बताए । उनले भने, ‘हामीले अर्काको जग्गा भाडामा लिएर फूलखेती गरेका हुन्छौँ । तर, उत्पादन भएको फूल यहाँको बजारमा बिक्री हुँदैन । भारतबाट आउने फूल र प्लास्टिक फुलले हामीलाई धेरै असर हुन्थ्यो । अब त्यो यसपटक बन्द भएपछि सहज हुने भयो ।’ यस्तै उनले आफूहरूले व्यवसायिक रुपमा फूलखेती गर्नुको कारण भारतबाट आउने फूल बन्द होस्, र आफूहरूलाई थोरै भएपनि आम्दानी होस्, भन्ने रहेको पनि बताए ।

उनले भने, ‘मैले ३ वर्षदेखि सयपत्री फूलको खेती गर्दै आएको छु । तर, विगतका २ वर्षमा सोचे जस्तो नभएपछि अहिले १२ कठ्ठा जग्गामा खेती गर्दै आइरहेको छु । ७ कठ्ठा जग्गा तुलसीपुरका पूर्व मेयरको रहेको छ । त्यसमा भाडा दिँदैन । अर्को तुलसीपुर ८ कृष्ण मन्दिर नजिकै ५ कठ्ठा रहेको छ । जसको मासिक प्रतिकठ्ठा २ हजारको दरले भाडा तिर्नु पर्छ ।’ यस पटक १२ कठ्ठामा लगाएको सयपत्री फूलबाट यो सिजनमा २ र ३ लाख आम्दानी हुने अनुमान रहेको समेत उनको भनाइ छ । यस्तै दंगीशरण गाउँपालिकाको श्रीगाउँमा साढे ४ बिगाहा जग्गा भाडामा लिएको र अब त्यहाँ गर्ने योजना रहेको समेत उनले सुनाए । यस्तै उनले जिल्लामा व्यवसायिक रुपमा फूलखेती बढिरहेको भएयता पनि समान मूल्य नहुँदा समस्या भइरहेको समेत बताए । उनका अनुसार प्रति पिस मालालाई ७० र प्रतिकिलो ४ सयका दरले बिक्री गर्दै आइरहेका छन् ।

यस्तै पछिल्लो समय जिल्लामा फूलखेती बढ्दो क्रममा रहेको भएता पनि बजारको समस्या भएको तुलसीपुर १२ रझेनामा विगत २ वर्षदेखि व्यवसायिक फूलखेती गर्दै आइरहेका शशिराम विश्वकर्माले बताए । विगत २ वर्षदेखि करिब ५ बिगाहा जग्गा भाडामा लिएर फूलखेती गर्दै आएका विश्वकर्मालाई यस पटक स्थानीय सरकारले प्लास्टिक जन्य फुलको रोक लगाएपछि खुशी लागेको छ । उनले भने, ‘यस पटक भने स्थानीय सरकारले राम्रो काम गरिदिएको छ । हामी जस्ता व्यवसायीहरूलाई धेरै राम्रो हुने छ । आफ्नै ठाउँमा केही गरौँ, भने काम गरेको भएयता पनि सबैमा ठूलो समस्या बजारको रहेको छ । प्लाष्टिकजन्य फुल रोक गर्ने कार्यले हामीलाई थप उर्जा मिलेको छ ।’

जिल्लामा तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिकाले चाड पर्वहरूमा प्लाष्टिकजन्य फूल, माला बिक्री वितरणमा रोक लगाएका छन् । पछिल्लो समय चाडपर्व वा कुनै पनि कार्यक्रमहरूमा प्लास्टिक जन्य बस्तुहरू प्रयोग भइरहेको हुँदा अब पुष्पजन्य बस्तुहरूलाई प्रयोग गरेर पुष्पखेती गर्ने किसानलाई प्रोत्साहन गर्न जरुरी रहेको तुलसीपुरका नगरप्रमुख टिकाराम खड्का बताए । यस्तै उनले बजारमा प्लाष्टिकजन्य फूलहरू बिक्री बितरण, भण्डारण गर्न रोक लगाएको भन्दै उनले अटेरी गर्नेलाई कानुन अनुसार कारबाही गरिने समेत बताए । यसैगरी तिहारको समयमा बजारमा खुला रुपमा मिठाईहरू बिक्री वितरण हुने भएकाले त्यसो नगर्न समेत उनले आग्रह गरेका छन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी