ताजा अपडेट »

राष्ट्र बैंकको रिपोर्ट : यस्तो छ देशको वर्तमान आर्थिक स्थिति [पूर्णपाठसहित]

मंगलबार, ३० असोज २०८०, १४ : ३९
78 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ। बैंकले दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो । 

बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ। यस्तै आयात ५.१ प्रतिशतले, निर्यात ७.८ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ ।यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२.१ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको छ। यसैगरी, शोधनान्तर स्थिति रु.५३ अर्ब ६१ करोडलेबचतमा रहेको बैंकको रिपोर्टमा उल्लेख छ ।

यसैगरी, कुल विदेशी विनिमय सञ्चिति रु.१,५९८ अर्ब ९० करोड र अमेरिकी डलरमा १२ अर्ब १ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.१३१ अर्ब १४ करोड र राजस्व परिचालन रु.१४१ अर्ब ८ करोड रहेको छ ।नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै १६ खर्ब रुपैयाँ हाराहारी पुगेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

साउनमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति एक महिनामा झण्डै २५ अर्ब ७८ करोड रुपैयाँ थप भई भदौ मसान्तसम्म १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।यो सञ्चिति आर्थिक वर्ष २०७९/८० को अन्तिम महिना (असार)को तुलनामा ३.९ प्रतिशत धेरै हो। अमेरिकी डलरमा भदौ मसान्तसम्म १२ अर्ब १ करोड विदेशी मुद्रा सञ्चिति रहेको देखिएको छ। यो असारको तुलनामा २.६ प्रतिशत धेरै हो ।

अहिलेको विदेशी मुद्राको सञ्चितिले १२.६ महिनाको वस्तु आयात गर्न पर्याप्त हुन्छ। १०.३ महिनाको वस्तु तथा सेवा आयातमा यो सञ्चिति पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । २०८० भदौ मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पालन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपात २९.७ प्रतिशत, ८६ प्रतिशत र २६.२ प्रतिशत रहेको देखिएको छ।२०८० असार मसान्तसम्म यी अनुपात क्रमशः २८.६ प्रतिशत, ८३ प्रतिशत र २५.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।