ताजा अपडेट »

फड्के किराले सुक्यो धान, नियन्त्रण नहुँदा कृषक चिन्तित

सोमबार, ०८ असोज २०८०, ०७ : ३१
12 Shares

दाङ । दाङमा धान पसाउने बेला फड्के किराको प्रकोप देखा परेको छ । कीरा नियन्त्रणका लागि प्रयास भएपनि समस्या समाधान नभएपछि यति बेला किसानहरू चिन्तित भएका छन् । राप्ती गाउँपालिका ५ का किसान मदन पोखरेलले करिब १० कठ्ठामा धान खेती गरेका छन् । अहिले उनको धान आधा भन्दा बढी कीराका कारण सुकेर पराल भएको छ ।

शुरुमा यो समस्या थोरै ठाउँमा देखिएको थियो । तर, उनले गाउँपालिकाबाट कृषि प्राविधिकहरू बोलाएर समस्या देखाएका थिए । प्राविधिकहरूले केही औषधि दिएपछि उनले त्यो औषधि धानमा धर्केका थिए । तर, किराले अहिले आधा भन्दा बढि पसाउन लागेको धानलाई सुकाएर पराल बनाएको उनको भनाइ छ । उनले भने,‘ प्राविधिकहरूले शुरुमा दिएको औषधिले काम नगरेपछि मलाई फेरि अर्को औषधि दिनुभयो । त्यो पनि प्रयोग गरे । त्यसले पनि काम गरेन । फेरि अर्को औषधि दिनुभयो, त्यो पनि प्रयोग गर्दा कुनै काम गरेन । अहिले आधा धान सुकेर पराल भएको छ । यस वर्षको धान खेती शून्य नै भयो ।’ धानको पात पहेँलो हुँदै गयो । सुरुमा एक दुई वटा बोटबाट सुरु भएको रोग किराको प्रकोप पछि खेतै भरी फैलियो । धान पसाउने बेलामा खेत भरीको धान पहेँलो भएर सुकेर जाने गरेको छ । स्थानीय सरकारले किसानको खेतमै पुगेर नमुना संकलन गरेको थियो । संकलन गरिएको नमुनाका आधारमा फड्के किराको प्रकोप पुष्टि भएको छ ।

गाउँपालिकाको वडा नम्बर १, २, ५, ७ का वडामा फड्के किराको प्रकोप देखा परेको हो । तर, किसानलाई परेको समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्ने सीसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकीले बताए । कहाँ कहाँ कति क्षति भएको छ । अध्ययन गरेर राज्यले सहयोग गर्नु पर्ने उनको भनाइ छ । फड्के किराको आक्रमणका कारण हालसम्म राप्तीमा करिब १५ बिगाहा भन्दा बढी क्षेत्रको धान बाली पहेँलो भएर सुक्न थालेको छ । सुरुमा धानको बोटमा तल्लो भागका पातहरू र पछि माथिल्ला पातहरू समेत पहेँलिँदै जाने, तिरुवाहरू गाँजिन र बढ्न नसक्ने, पछि पुरै बोटहरू डढेलो लागे जस्तो गरी मर्ने गरेको राप्ती गाउँपालिका कृषि शाखा प्रमुख सिमा भट्टले बताइन् ।

पड्के कीरा धान बालीको प्रमुख शत्रु जीव भएको भन्दै उनले यो कीरा तिन प्रकारको हुने समेत बताइन् । उनका अनुसार एउटा हरियो, सेतो र खैरो फड्के कीरा हुन्छ । गाउँपालिकाको विभिन्न ठाउँमा गएर हेर्दा खैरा फड्के कीरा फेला परेको हुँदा यो धानबालीको मुख्य शत्रु कीरा हो । गाउँपालिकाको सीसहनिया, पहरुवा र पाखापानी क्षेत्रमा यो किराले गर्दा धानको क्षति बढि देखिएको उनको भनाइ छ ।

उनले भनिन्,‘ किसानहरूले धान रोप्दा कम्तिमा २० सेन्टिमिटर दूरीमा एक देखि दुई वटा सरा रोप्नु पर्छ । तर, किसानहरूले बाक्लो र धेरै सराहरु रोप्दा धानको गाज बढि आएर हावा पास हुन नसक्दा त्यहाँका आद्रता बढि भएर यो कीरा लागि अनुकुल वातावरण सृजना हुन्छ । किसानहरूले डिएपी , पोटास भन्दा युरिया मल धेरै प्रयोग गर्दा पनि यो समस्या देखिन्छ ।’

सुमन केसी
लेखकको बारेमा
सुमन केसी