ताजा अपडेट »

रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान

शुक्रबार, ०५ असोज २०८०, १७ : ३१
6 Shares

दाङ । दाङको तुलसीपुर १८ की कौशिला रावतले बारीमा घरको लागि तरकारी खेती गरेकी छन् । तर, विभिन्न जातका किराले गर्दा सबै बोटहरू सुक्दै गएको र फल पनि कुहिएर गएको छ । उनले लगाएको तरकारीमा कुन रोग लागेको हो ? थाहा छैन । पहिलेको तुलनामा पछिल्लो समय विभिन्न किसिमको रोग तथा कीराहरू तरकारी खेतीमा देखिने गरेको उनको भनाइ छ । उनले भनिन्, ‘बारीमा लगाएका बौरीका बोट सबै सुक्दै गएका छन् । फर्सी पनि फलेका छन् । तर, सबै कुहिएर गइरहेका छन् । कुन रोग लागेको हो ? थाहाँ छैन् । पहिलो यस्तो रोग देखिँदैन्थ्यो ।’ यस्तै उनले अहिलेसम्म आफूले कुनै विषादि प्रयोग नगर्ने भएता पनि बुहारीहरूले नै प्रयोग गर्ने गरेको बताइन् ।

रावत त एक प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय कुनै पनि बस्तु उत्पादन गर्नको लागि अनिवार्य रुपमा रासायनिक मल र विषादीको प्रयोग गर्नु पर्ने हुन्छ । यसरी प्रयोग गर्दा मानव स्वास्थ्य र वातावरणमा कति असर पुगेको छ, भन्ने किसानहरूलाई थाहा नै छैन् । किसानहरूलाई रासायनिक मल र विषादिको असरको जानकारी दिँदै तुलसीपुरमा रहेको पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्र दाङले तुलसीपुर उपमहानगर स्तरीय अर्गानिक झोल मल र विषादि बनाउन तालिम दिएको छ ।

३ दिने तालिममा करिब ४० जना महिला किसानहरूको सहभागिता रहेको थियो । तालिममा सहभागी किसान मिना घोडासैनी बजारको विषादीले मानव स्वास्थ्य सँगै वातावरणमा असर गर्न र अर्गानिक विषादीले स्वास्थ्यमा पनि फाइदा पुग्ने र कम खर्चमा बनाउन सकिने कुरा थाहा पाएको बताइन् । उनले भनिन्, ‘तरकारीमा रोग लागेपछि हामीले सिधै बजारबाट औषधि ल्याएर छर्कन्थ्यौँ । तर, त्यसले हामीलाई कतिको असर गर्छ, भन्ने थाहा भएन । तर, कीरा मार्नको लागि हाम्रै घर आँगनमा अर्गानिक औषधि रहेछ । आज तालिममा आएर थाहा भयो ।’

यस्तै उनले रासायनिक मल किन्नु भन्दा पनि अर्गानिक बनाउन कम खर्च लाग्ने र माटोलाई पनि फाइदा हुने भएकाले अब अर्गानिक मल नै प्रयोग गर्ने उनको भनाइ छ । पछिल्लो समय गाईबस्तु पाल्न छोड्दा सबैले रासायनिक मल खेतीपातीमा प्रयोग गर्दै आएको भन्दै उनले अब आफू र वातावरणलाई स्वच्छ राख्नको लागि अर्गानिक खेतीपाती गर्नु पर्ने बताए । यस्तै तुलसीपुर १८ की अमृता चौधरीले तरकारी खेती गर्दै आएकी छन् । लगाएको तरकारी खेतीमा विभिन्न रोग लागेपछि बजारबाट विषादी ल्याएर प्रयोग गरेको उनले बताइन् । तर, त्यो विषादिले आफूलाई कति फाइदा गर्छ, असर गर्छ, भन्ने थाहा नभएको भन्दै तालिम लिएपछि मानिसको स्वास्थ्यसँगै वातावरणमा असर गर्ने थाहा पाएको बताइन् ।

उनले आफ्नै ठाउँमा रहेका बोट बिरुवा तथा जडिबुटीबाट अर्गानिक विषादि र मल बनाउ सकिने थाहा पाएको भन्दै अब अर्गानिक नै प्रयोग गर्ने बताइन् । उनले भनिन्,‘ खेतीपाती गर्दा रासायनिक मल प्रयोग नगरेमा धेरै फल्दैन । रोगले पनि त्यतिकै सताएको हुन्छ । बजारमा औषधि ल्यायो हाल्यो । अनि आफूले पनि खायो , बजारमा लगेर तरकारी बेच्यो । हेर्दा राम्रो देखिने भएयता पनि विषादिले कति असर गर्छ, भन्ने थाहा थिएन, अब अर्गानिक मल र औषधि प्रयोग गरिन्छ ।’

त्यस्तै गरी प्रशिक्षक कृषि ज्ञान केन्द्र दाङका बाली संरक्षण फिटुमान चौधरीका अनुसार अर्गानिक मल तथा विषादिले मानव स्वास्थ्यमा र वातावरण टेवा पुर्याउने र कीराहरू मार्ने, बोट बिरुवालाई चाहिने भिटामिन पनि दिने र उत्पादन भएको तरकारी पनि मिठो हुन्छ । पछिल्लो समय कृषिमा कीराहरू विषादि पचाउँदै शक्तिशाली बन्दै गइरहेको भन्दै उनले तिनीहरूलाई मार्नका लागि गाउँ घरमा खेर गइरहेको अर्गानिक विषादिहरू बनाएर प्रयोग गर्नु पर्ने बताए ।

उनले भने, ‘अर्गानिक विषादि बनाउनको लागि पिरो, अमिलो, टर्रो लगायतका झारपातहरू प्रयोग गर्नुपर्छ । त्यसमा अदुवा, टिमुर, ब्याज, खुर्सानी , लसुन जस्ता बस्तुहरू प्रयोग गरेर बनाउन सकिन्छ । यो विषादिले केही कीराहरू मार्छ, भने केही कीराहरू बोट बिरुवामा आउन सक्दैन ।’ यस्तै उनले जनसंख्या वृद्धि हुँदै गएको र जग्गाहरू कमी हुँदै गएको अवस्थामा थोरै ठाउँमा धेरै उत्पादन गर्नको लागि आवश्यक भन्दा बढि रासायनिक मल तथा विषादि प्रयोग गर्ने गर्दा मानव स्वास्थ्य सँगै वातावरणमा पनि असर पुग्दै गएको उल्लेख गरे ।

यस्तै उनले स्थानीय सरकारले यस्ता तामिल हरू गाउँगाउँमा दिएर जनताहरूलाई अर्गानिक मल र विषादिको बारेमा जानकारी दिनु पर्ने समेत बताए । उनका अनुसार बालिमा कुन रोग लागेको हो ? कुन औषधि प्रयोग गर्ने भन्दा पनि सिधै बजार गएर औषधि र टयाङ्की ल्याएर औषधि छर्कदा नै मुख्य चुनौति रहेको छ । उनले भने, ‘त्यस्ता विषादिहरू प्रयोग गर्दा क्षणिक रुपमा फाइदा पुगेको हुन्छ । तर, त्यसमा प्रयोग हुने विषका कारण वातावरण र मानव स्वास्थ्यमा दीर्घकाली असर पुग्छ । यसका बारेमा पनि जनचेतना दिन आवश्यक रहेको छ । ’

बाली विज्ञ चौधरीका अनुसार घरमा बनाएको अर्गानिक विषादि त्यसमा राखेको बस्तु अनुसार तयार हुन्छ । यस्तै सबै बस्तुहरू मिलाएर राखेको खण्डमा त्यसमा पाक्रमण पनि पुगेको छ, भने २ हप्तादेखि प्रयोग गर्न मिल्ने उनको भनाइ छ । यसैगरी जाडो समयमा ति सबै बस्तुहरू गल्न समय लाग्ने भएकाले बढिमा ४५ दिन तयार हुने समेत उनले बताए । यस्तै तयार भएको विषादि बोट बिरुवामा सिधै प्रयोग गर्न मिल्ने समेत उनको भनाइ छ ।

पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्ली बहादुर रावतका अनुसार जिल्लामा सिँचाइ पानी पर्याप्त नहुँदा रासायनिक मलको अत्याधिक प्रयोग गर्नाले माटोमा हुने चिसोपन हराउँदै जाँदा माटो सुख्खा हुँदै गइरहेको बताए ।

यस्तै रासायनिक विषादि प्रयोग गर्दै जाँदा कृषिको लागि आवश्यक पर्ने जीवहरू र चराचुरुङ्गीहरू नष्ट हुँदै गइरहेको अवस्थामा भावी दिनमा जिल्ला सुख्खा मरुभूमि बन्ने खतरा भएको हुँदा संस्थाले अर्गानिक मल र विषादि बनाइ प्रयोग गर्नको लागि किसानहरूलाई तामिल दिएको बताए । उनका अनुसार पहिलो चरणमा तुलसीपुरमा दिएको र अबको केही समय पनि पश्चिम दाङका विभिन्न गाउँपालिकाका किसानहरूलाई तामिल दिइने लक्ष्य रहेको छ । यस्तै उनले अब आम नागरिकहरू अर्गानिक खेती तिर जानु पर्ने भन्दै यसमा स्थानीय सरकारले पनि विशेष ध्यान दिनु पर्ने बताए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी