ताजा अपडेट »

फूल खेतीमा रमाउँदै बनकट्टीका ५ युवा, तिहारको लागि १ लाख विरुवा तयार हुँदै

शुक्रबार, ०५ असोज २०८०, ०६ : ५७
8 Shares

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका १७ बनकट्टीस्थित नेपाल संस्कृत विश्वविद्यालयको ३५ बिगाहा जमिन भाडामा लिएर ५ जना युवाहरूले सामूहिक रुपमा फूलखेती गरेका छन् । वार्षिक १६ लाख भाडा दिएर नेचुरल एग्रो एण्ड नर्सरी मार्फत अहिले १६ बिगाहामा फूलखेती गरेको व्यवसायी बुद्धिराज पौडेलले बताए । उनले २०७७ सालदेखि फूलखेतीसँगै नर्सरी व्यवसाय गर्दै आएका थिए । तर, यस पटक आफूसहित अन्य ४ जना युवाहरू मिलेर ठूलो मात्रामा फूलखेती गरेको उनले बताए । उनले भने, ‘फूलखेती व्यवसाय राम्रो छ । तर, केही चुनौति पनि रहेको छ । म यसबाट सन्तुष्टि नै छु ।’

जिल्लामा तिहार लक्षित गरेर मात्र फूलखेती हुँदै आएको छ । तर, अहिलेको समयका लागि करिब ६ बिगाहा जमिनमा ३ लट फूल रोपिएको छ । तीमध्ये पहिलो लटको फूल लटरम्म फूलेका छन् । दोस्रो लटका फूल फुल्ने क्रममा रहेका छन्, भने तेस्रो लटको फूल कोपिला अवस्थामा रहेका छन् । यस्तै बाँकी १० बिगाहा क्षेत्रमा सवा १ लाख सयपत्रीका बिरुवा तिहारको लागि रोपिएको उनको भनाइ छ । उनका अनुसार बाहै्र महिना दैनिक २ क्विन्टल फूल उत्पादन गर्ने लक्ष्यका साथ यो खेती गरिएको र भारतबाट हुने आयातलाई रोक्ने उद्देश्य रहेको छ । उनले भने, ‘पछिल्लो समय सरकारले पनि प्लास्टिक जन्य वस्तुहरूको प्रयोगलाई निरुत्साहित गरेको छ । चाडपर्व, विभिन्न कार्यक्रमहरूमा पनि फुलको प्रयोग बढ्दो रहेको छ । जसले गर्दा पनि फुलको माग बढ्दै गएको छ ।’

गत वैशाखदेखि नै फूल उत्पादन भइरहेको र त्यो फुल जिल्लामा मात्र नभइ छिमेकी जिल्लाहरूमा पठाउँदै आएको समेत उनको भनाइ छ । उनका अनुसार थाइल्याण्डमा उत्पादित भएको बिउको फूलखेती गरिएको छ । नेपाल मै उत्पादित हाइब्रिड प्रजातिको बिउ नभएको र अन्य बिउ लगाउँदा उत्पादन कम हुने समेत उनले बताए । पौडेलका अनुसार उत्पादन भएका फूलहरू बाहिर जिल्ला पठाउँदा धेरै समस्या हुने गरेको छ ।

सडक सञ्जाल राम्रो नहुँदा र जिल्लाबाट नियमित हवाई सेवा नहुँदा ढुवानीमा समस्या हुने गरेको उनको भनाइ छ । उनले भने,‘ सडकबाट पठाउँदा कतिबेला सडक बन्द हुन्छन्, थाहा हुँदैन । हवाईबाट पठाऊँ भन्दा सेवा नियमित छैन् । फुल तोकिएको समयमा नपुगेपछि त्यो प्रयोग गर्न मिल्दैन् । जसले गर्दा पनि समस्या भएको छ ।उनका अनुसार जिल्लामा उत्पादन भइरहेको फुललाई भारतबाट भन्सार नतिरेर आउने फुलले नै समस्या हुने गर्दछ ।

यस्तै राज्यले स्वदेशमा भएका बस्तुहरूलाई माथि उठाउन गर्नको लागि त्यस्ता बस्तु आयातमा निरुत्साहित गर्न सकेमा आफू जस्ता व्यवसायीलाई फाइदा पुग्ने र स्वदेशको पैसा बाहिर नजाने समेत उनले बताए । उनका अनुसार तराईका जिल्लामा भन्सार नतिरेर भारतबाट फूलहरू आउने गर्दा नै यहाँ उत्पादन भएका फुल कम मात्रामा प्रयोग हुन्छ । उनका अनुसार विश्वविद्यालयको ३५ बिगाहा जमिनको भाडा वार्षिक १६ लाख रहेको र प्रति वर्ष १० प्रतिशत बढ्ने सम्झौता भएको छ । जग्गा भएका ठाउँ सिँचाइको समस्या हुँदा चैत बैशाखमा अलि समस्या हुने गरेको उनको भनाइ छ । हालसम्म नर्सरीमा डेढ करोड खर्च भइसकेको छ भने सयपत्रीमा मात्रै ३० लाख खर्च भएको उनले बताए ।

वार्षिक ४० लाखसम्म आम्दानी गर्ने लक्ष्य लिएको समेत उनको भनाइ छ । तिहारमा मात्रै कम्तिमा ३ सय क्विन्टल बढी फूल बिक्री गर्ने लक्ष्यका साथ १० बिगाहामा ७/७ दिनको अन्तर पारेर ५ लट बिरुवा रोपिएको उनले बताए । अहिले यो नर्सरीमा १२ जना कर्मचारी मासिक तलबमा काम गरिरहेका छन् । बिरुवा रोप्दा, गोडमेल गर्दा, सिजनको बेला र धेरै फूल तथा मालाको माग हुँदा अन्य कामदारहरू पनि प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

नर्सरीमा फूल खेतीसँगै तरकारी खेती पनि गरिएको छ । १५ हजार बोट काउली, ७ क्विन्टल बढी आलु रोपिएको छ भने करिब २ बिगाहा जग्गामा ५ जातको अदुवा, ५ जातको बेसार, बदाम, मुङको दाललगायत अनुसन्धानका लागि रोपिएको छ । त्यस्तै ४ बिगाहामा केरा खेती र २ बिगाहामा चाइनिज दूबोको खेती गरिएको छ । उनका अनुसार फूलहरू दैनिक रुपमा उत्पादन भइरहँदा एकै पटक बाहिर पठाउन समस्या हुने भएकाले चिस्यान केन्द्रको अभाव रहेको छ । उनले भने,‘ बिरुवा उत्पादन गर्नको लागि प्रविधिको समस्या रहेको छ । फुललाई निश्चित एउटा तापक्रम आवश्यक पर्छ । त्यसको लागि स्टोर गर्ने ठाउँको अभाव छ । त्यो भएको खण्डमा हामीले धेरै उत्पादन गर्न सक्थ्यौँ ।’

यस्तै उनले सरकारले अन्य बस्तुमा यसका सहयोग गरे आफूहरूलाई सहज हुने बताए । ढुवानी र बजारिकरणमा पनि सहज गरे अझै आफूहरूलाई सहज हुने उनको भनाइ छ । अहिले दैनिक रुपमा करिब एक सय किलो फुल उत्पादन भइरहेको समेत उनले बताए । ६ बिगाहा जग्गामा ३ लटमा फुल फुलिरहेको भन्दै उनले अहिले आफूहरूको दैनिक २ सय किलो उत्पादन गर्न लक्ष्य रहेको पनि बताए । गत बैशाखदेखि शुरु गरेको भएयता पनि असारसम्म सोच जस्तो उत्पादन नभएको र अहिले उत्पादन बढ्दै गइरहेको उनको भनाइ छ ।

त्यसैगरी पौडेलले तुलसीपुर ८ दुधेनामा एकल लगानीमा नर्सरी व्यवसाय पनि गर्दै आएका छन् । उनका अनुसार सिजनल र अन्य समयका लागि वार्षिक साढे २ लाख बिरुवाहरू उत्पादन हुँदै आएको छ । विभिन्न बिरुवासँग मौसम अनुसारका फुलका बिरुवाहरू पनि उत्पादन हुने उनको भनाइ छ । त्यसैगरी पौडेल कम्प्युटर इन्जिनियर हुने भने खेमराज शर्मा करिब ३५ वर्षसम्म कृषि अनुसन्धान विज्ञका रुपमा काम गरेका हुन् । अरु अन्य तिन जना भने अन्य पेसामा आवद्ध रहेका छन् ।

यस्तै एक/दुई वर्ष पहिले तिहारको समयमा फुलको धेरै अभाव हुँदा करिब ७ रुपैयाँ किलोसम्ममा किनेको भन्दै त्यसैले गर्दा फुलको सहज बनाउनको लागि कम मूल्यमा नागरिकहरू पाउन भन्ने उद्देश्यले सामूहिक रुपमा खेती गरिएको खेमराजले बताए । उनका अनुसार कर्मा १११, कर्मा ५५५, कर्मा ७७७, कर्मा श्वान ह्वाइट र मालासिस जातका सयपत्री फूल तथा मखमली र गोदावरी फूलहरू पनि रोपिएको छ । सबै बिउँहरू कर्मा कम्पनीमा रहेका र काठमाडौँबाट ल्याएर लगाउने गरेको उनको भनाइ छ ।

उनका अनुसार आफूहरूले रोपेका फूलहरू जात अनुसार ५५ दिनदेखि ९० दिनमा फुल्न गर्दछन् । फूलहरू टिप्दै जादा फेरि नयाँ हाँगाहरू पलाउने भएकाले करिब ३ महिनासम्म एउटै बोटबाट फुल टिप्न सकिने उनले बताए । यस्तै उत्पादन भएको फुल प्रतिकिलो साढे ३ रुपैयाँका दरले बिक्री गर्दै आइरहेको भन्दै उनले प्रति माला ८० रुपैयाँमा दिने गरेको पनि बताए । यस्तै तिहारमा पनि यो भन्दा माथि मूल्य नजाने समेत उनको भनाइ छ । तिहारको लागि सवा एक लाख सयपत्री फुलका बिरुवा लगाएको र करिब ३ सय क्विन्टल उत्पादन गर्ने लक्ष्य रहेको पनि उनले बताए । अहिले अफ सिजनमा पनि राम्रो बिक्री भइरहेको समेत उनले बताए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी