ताजा अपडेट »

कोशीमा सरकार गठनको म्याद आज सकिँदै, सभामुखलाई राजीनामा गराएर नेतृत्व दावी गर्ने तयारीमा गठबन्धन

मंगलबार, १६ साउन २०८०, ०८ : ५४
10 Shares
मंगलबार, १६ साउन २०८०
10 Shares

बुटवल। कोशीका प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुकी ५ बजे सकिँदै छ । यसैगरी सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सत्तारुढ गठबन्धनले सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुखले दिएको समयभित्र सभामुखलाई राजीनामा गराएर दाबी पेस गर्ने तयारी गरेको हो । गठबन्धनले उम्मेदवारको टुङ्गो लगाएको छैन । तर पूर्वसहमति अनुसार कांग्रेसका उद्धव थापाको नेतृत्वमा दाबी गर्ने लगभग निश्चितजस्तै छ । गत असार २१ गते पनि थापाको नेतृत्वमा सरकार गठन भएको थियो । सभामुखको छुट्टै हस्ताक्षर प्रयोग गरेर सरकारमा दाबी पेस गरेपछि सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्तिको बदर गर्दै नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो ।

परमादेशपछि सभामुखलाई राजीनामा गराएर गठबन्धनले सरकारमा दाबी पेस गर्न लागेको हो । नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले राप्रपाले समर्थन नगरेको अवस्थामा सभामुखलाई राजीनामा गराएर सरकारमा दाबी पेस गर्ने बताए । गठबन्धन दलका नेताहरु काठमाडौंमै छन् । बालुवाटार पुगेर विराटनगर जाने उनीहरुको तयारी छ । माओवादी केन्द्रका दलका नेता आङ्बोले शीर्ष नेताले बालुवाटार बोलाएको बताए ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कांग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखलाई राजीनामा गराएपछि), नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ पुग्छन् । सभामुखको राजीनामालाई लिएर माओवादी केन्द्रभित्र असन्तुष्टि छ ।

९३ सदस्यीय प्रदेश सभामा सभामुखलाई राजीनामा गराएर जाँदा गठबन्धन दलको कठिन बहुमत (४७) पुग्छ । तर विश्वासको मत पाउने सम्भावना भने न्यून छ । सभामुखले राजीनामा दिए उपसभामुख सिर्जना दनुवारलाई पनि राजीनामा गराउने एमालेको तयारी छ । सभामुख र उपसभामुख नभएको अवस्थामा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् । प्रदेश सभामा ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल छन् । मण्डललाई सरकारमा लगेर एमालेका ज्येष्ठ सदस्यलाई बैठकको अध्यक्षता गराउने विकल्पमा सत्ता पक्षले छलफल गरेको थियो । तर यो कदम पनि घातक हुने माओवादीका एक सांसदले बताए ।

‘सभामुखलाई राजीनामा गराउँदा एमालेले उपसभामुखलाई पनि राजीनामा गराउँछ,’ ती नेताले भने, ‘त्यसपछि ज्येष्ठ सदस्य गठबन्धनमा हुनुहुन्छ, उहाँलाई सरकारमा लगेर विश्वासको मत लिने दिनको बैठकमा एमालेले आफ्ना ज्येष्ठ सदस्यलाई उपस्थित गराएन भने के हुन्छ ?’ सत्तारुढ गठबन्धनसँग कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक सदस्य छन् । ९३ सदस्यीय प्रदेश सभामायो संख्या कठिन बहुमत हो । तर विश्वासको मत लिने प्रयोजनका लागि बैठक बस्दा सत्ता पक्षकै ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने बाध्यता आउन सक्छ । सत्ता पक्षकै सांसदले अध्यक्षता गरे सत्ता पक्षमा ४६ र विपक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ हुनेछ । बैठकको अध्यक्षले बराबर मत भएमात्रै निर्णायक मत दिन पाउँछन् । प्रतिपक्षी दलले बैठकमा आफ्ना एक जना मात्रै सांसद अनुपस्थित गराए बराबर मत पुग्दैन र अध्यक्षले निर्णायक मत दिन पाउँदैनन् ।

संविधानको धारा १६८ को उपाधारा २ अनुसार गठन हुने सरकारले विश्वासको मत नपाए संविधानको धारा १६८ ९३०बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।