ताजा अपडेट »

गुरु पुर्णिमा

सोमबार, १८ असार २०८०, १९ : ३२
8 Shares

म लड्थेँ -
उहाँहरु मलाई कहिल्यै उठाउनु हुदैनथ्यो
बरु हात दिनु हुन्थ्यो
अनि म आफैं उठ्न सिक्थेँ
जति पटक लड्थेँ
भन्नु हुन्थ्यो -
उठ्न सिक - प्रयास गर
म गर्थेँ
एकदिन साच्चै सक्ने भएँ
आज ती हातहरु टाढा छन्
तर मलाई सबल बनाइ
मेरै सामु छन् - आज म आफै उठ्न सक्ने भएको छु

म हार्थेँ -
गर्दागर्दै / मर्दा मर्दै
तर हार्थेँ
भन्नु हुन्थ्यो -
यो तिम्रै जित हो
पछाडि फर्केर हेर त
कतिलाई- कतिपटक जितेर आयौ
अनि हारमा नै जित पाउथेँ
आज ती प्रेरणाहरु टाढा छन्
तर हरेक हारमा पनि जित्न सिकाइ
मेरै आँट भित्र छन् - आज कुनै बेला हार्दा मेरा आँखा रसाउदैनन्

म बोल्थेँ -
जाने / नजानेका
बुझे / नबुझेका
भन्नु हुन्थ्यो -
पहिले सुन - नियाल
अनि सुन्न थालेँ
बोली आफै फुट्न थाले
आज ती बोलीहरु टाढा छन्
तर हरेक पटक मेरो गन्तब्य बताइ
मेरै वरिपरि गुन्जिरहन्छन् - आज म बोल्नु भन्दा पहिले सुन्ने भएको छु

म हेर्थेँ / देख्थेँ -
अरुका कुरा - गराइ - सोचहरु
जब हेर्दाहेर्दै - देख्दादेख्दै गल्ती गर्थेँ
भन्नु हुन्थ्यो -
हरेक कुरा - गराइ - सोचहरुको हेर्ने / देख्ने नजर फरक फरक हुन्छन्
तिम्रो पनि फरक बनाउ - प्रयास गर
एकदिन साच्चै नै मेरा सोचहरु आफै फुल्न लागे
आज ती आँखाहरु टाढा छन्
तर मलाई मेरो दृश्य दिइ
मेरै आँखाहरुमा छन् - आज म हेर्दै सोच्ने भएको छु
र अन्त्यमा
जन्म दिने,शिक्षा दिने,मार्ग देखाउने - सम्पूर्ण गुरुहरू प्रति नमन गुरू पुर्णिमा को सम्पुर्णमा शुभकामना।
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।