ताजा अपडेट »

किन रोकियो कलम ?

विहीबार, ३२ जेठ २०८०, १७ : ०४
18 Shares

आफू गर्भबाट झरेको
बामे सरेको
खोज्दै थिएँ लेख्न एक थान कविता
धर्तीमा झर्न नपाउँदै
राम्ररी बामे सर्न नपाउँदै
ठोक्किएँ एक्कासि अभावको पहाडसँग
तिरमिराए दुई नयन
रोकियो मेरो कलम !

चिनिनसक्दै
कखराका सग्ला अक्षर
बुझिनसक्दै
अर्थ सरल वाक्यहरूका
भेउ नपाउँदै उमेर बाबाको
ढलिनसक्दै बैँस आमाको
ढल्यो भरोसाको मूल खाँबो
धसियो आश्रयको मझेरी
चिराचिरा भयो
मैले दङ्ग्याउन पाउने आँगन
रोकियो मेरो कलम !

घेरेपछि अभावका पर्खालहरूले
बाँधेपछि गरीबीका बन्धनहरूले
कैद भएपछि बैँसालु सपनाहरू
अनाथ भई टेक्नुपरेपछि निरन्तर काँडाहरूमाथि
बोक्नुपरेपछि नखाएको ऋणको गरुङ्गो भारी
उमेरभन्दा पहिले नै
परिपक्व भई चाउरियो मन
गुमनामी भए चाहनाहरू
विदीर्ण भयो तन
रोकियो मेरो कलम !

कवितामय बन्थे रातहरू कुनै पल
हेर्दै नाङ्लाभरि सिताराहरू
ताराबीच जून हराएपछि
सम्साँझै त्रासका स्यालहरू कराएपछि
शून्यशून्य भयो गगन
अँध्यारोमा अताल्लियो मन
रोकियो मेरो कलम !

के लेखिस् ?
कस्तो लेखिस् ?
के हुँदै छ नयाँ आजकल ?
लेख्नुपर्छ गीत प्रगतिका !
भुलिदिनू उतारचढाव विगतका !
ढाडस दिने प्रियजन टाढिएपछि
दिनमै उज्यालो हराएपछि
दिग्भ्रमित भई निसास्सियो मन
रोकियो मेरो कलम !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।