ताजा अपडेट »

देशलाई अग्रगामी दिशामा अघि बढाउन शिक्षण संस्थाको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री प्रचण्ड

बुधबार, ३१ जेठ २०८०, २० : २१
52 Shares
बुधबार, ३१ जेठ २०८०
52 Shares

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउनका साथै आत्मनिर्भर तुल्याउन शिक्षण संस्थाहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए ।

बुधबार नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङको पाचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेको उनले विश्वविद्यालयका कर्मचारी तथा विद्यार्थीहरूलाई राजनीतिक आस्था एवं दलगत भन्दा माथि उठेर शैक्षिक तथा प्राज्ञिक स्तर अभिवृद्धि गर्न समर्पित हुन जरुरी रहेको समेत बताए । उनले आफू नेतृत्वको सरकारले यस विश्वविद्यालयका कार्य योजनाहरूलाई सघाउन तयार रहेको समेत उल्लेख गरे ।

उनले भने,‘जसले संस्कृत जान्दैन, उसले आफूलाई चिन्न सक्दैन । आफूलाई चिन्न मात्र नभइ पूर्वीय भूगोलमा बस्ने हामीहरूले आफ्नो माटो, देश, संस्कृत र समाजको सुगन्ध अनुभव गर्न पनि संस्कृतको ज्ञान अतिआवश्यक छ । असत्यबाट सत्य तिर, अन्धकारबाट प्रकाश तिर, मृत्युबाट अमरत्वको यात्राका लागि प्रेम गर्नु नै प्राच्य ऋषि महर्षिहरूको मूल सन्देश हो ।’ सरकारले नेपालभित्र गुणस्तरीय शिक्षाको विकास एवं प्रर्वद्धनका लागि विश्वविद्यालयहरू बिच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई दिन चाहेको समेत उनले बताए ।

उनले भने,‘ विश्वविद्यालयको अध्ययन, अध्यापनलाई अनुसन्धानमा आधारित बनाउनुको साथै विश्वविद्यालयको पाठ्यक्रमलाई समय सापेक्ष बनाउन सरकारले आफ्नो नीति तथा कार्यक्रम भित्र समेटेको छ । विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुने गरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्यहरू र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालय मार्फत गर्नको लागि सरकार प्रतिवद्ध रहेको छ ।’

यस्तै, नेपालमा उच्च शिक्षाको विकास, विस्तार र स्तरीकरणमा नेपाल संस्कृत विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको समेत उनले बताए । पौरस्त्य मूल्य मान्यता , संस्कार, संस्कृति आदर्शको एवं विकासमा संस्कृति विश्वविद्यालयले दिएको योगदान अत्यन्त प्रशंसनीय रहेको पनि उनले उल्लेख गरे ।

उनले भने,‘ प्राच्य महर्षिद्धारा मानवीय सुख, समृद्धि संस्कार तथा पर्यावरण संरक्षणका निम्ति भएका अदिति अनुसन्धानका भण्डार संस्कृत भाषामा नै सुरक्षित छ । नेपाल संस्कृति विश्वविद्यालय यही परम्पराको उत्तराधिकार प्राप्त र देशका अन्य विश्वविद्यालय भन्दा फरक पहिचान बोकेको संस्था हो ।’ यस्तै संस्कृति विश्वविद्यालय पूर्वीय बाङ्मयको संरक्षण तथा सम्वर्द्धन गर्नुका साथै नेपाली पनको जर्गेना गर्नु यसको मुख्य दायित्व र कर्तव्य भएको समेत उनको भनाइ थियो । यस्तै, आज आयोजित दीक्षान्त समारोह अत्यन्त महत्वपूर्ण र विशिष्ट प्रकृतिको र ऐतिहासिक रहेको पनि उनको भनाइ छ ।

उनले विभिन्न कारणले गर्दा विश्वविद्यालयको दीक्षान्त कार्यक्रम १२ वर्ष पछि भएको भन्दै विद्यार्थीहरूको भविष्यसँग गाँसिएको यस्ता कार्यक्रमहरू निरन्तर गर्न विश्वविद्यालय प्रयत्नशील रहने पनि बताए । उनले यस विश्वविद्यालयबाट पनि सम्मुनत समाज निर्माण गर्न सक्ने सुसंस्कृत, सक्षम, अनुशासित दक्ष नागरिकहरूको उत्पादन गर्ने राज्यले अपेक्षा लिएको समेत बताए ।

यस्तै, भारतको बनारसमा रहेको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका कुलपति /प्रोफेसर हरेराम त्रिपाठीको प्रमुख आतिथ्यमा भएको समारोहमा उनले नेपाल भारतको सम्बन्ध असल छिमेकीको मात्र नभइ खुला सिमाना र सांस्कृतिक सामिप्यको कारण जनस्तरमा गहिरो सम्बन्ध रहेको बताए । उनले भने,‘ भारतका प्रधानमन्त्रीको निमन्त्रणामा म केही दिन अगाडि भारतको भ्रमणमा गएको थिए । त्यहाँ प्राप्त सम्मान र आतिथ्यता ले मैले नेपालप्रतिको भारतको सम्मान र अपनत्वको रुपमा लिएको छु ।’

अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पुरा गर्ने अभिभारा पुरा गर्न लागेको समेत उनले उल्लेख गरे । उनले देशमा समृद्धिको बिहान ल्याउन आम नागरिकहरूलाई शसक्त एकतावद्ध तुल्याउन पनि त्यतिकै आवश्यक रहेको औँल्याए । राष्ट्रिय पूर्ण जागरणको यो महान यात्रामा नेपाल संस्कृति विश्वविद्यालयले आफ्नो अंश दान गर्नु पर्ने समेत बताए । विभिन्न प्राविधिक कारणले गर्दा २०६७ सालदेखि दीक्षान्त भएको थिएन । विश्वविद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, एकवर्षे शिक्षा शास्त्री र बिएमएस उत्तीर्ण गरेका ४ हजार ७७३ मध्ये निवेदन दिएका ५७५ जना विद्यार्थी दीक्षित भएका हुन् ।

विद्यावारिधि हासिल गरेका १२० जना, आचार्य तह उत्तीर्ण १४५ जना, शास्त्री तह उत्तीर्ण १६३ जना, आयुर्वेद स्नातक उत्तीर्ण ५७ जना र एकवर्षे शिक्षा शास्त्री उत्तीर्ण गरेका ९० जना दीक्षित भएका हुन । बिस २०५४ सालदेखि दीक्षान्त समारोह आयोजना गर्दै आएको विश्वविद्यालयले २०६७ सालमा चौथो दीक्षान्त समारोह गरेको थियो। विश्वविद्यालयमा विभिन्न समयमा हुने आन्दोलन, हडताल, तालाबन्दीका कारण समयमा दीक्षान्त समारोह हुन सकेको थिएन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।