ताजा अपडेट »

स्थानीयको बहिष्कार बीच बिहिबारदेखि लुम्बिनीमा “अन्तर्राष्ट्रिय ट्राभल मार्ट”

बुधबार, २७ बैशाख २०८०, १९ : ०९
35 Shares
बुधबार, २७ बैशाख २०८०
35 Shares


भैरहवा । बिहिबारदेखि लुम्बिनीमा तीन दिने बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट हुँदैछ । नेपाल पर्यटन बोर्डको आयोजनामा हुन लागेको यो कार्यक्रमको स्थानीय पर्यटन ब्यवसायीहरुले भने बहिष्कारको घोषणा गरेका छन् ।

लुम्बिनीमा हुन लागेको कार्यक्रमबारे स्थानीय पर्यटन ब्यवसायीलाई नसमेटेको भन्दै यहाँका पर्यटन ब्यवसायीहरुले पर्यटन सरोकार मन्च गठन गरि कार्यक्रमको बहिष्कार गरेका हुन् । बिभिन्न देशका सहभागी आउने यो कार्यक्रमको कार्यक्रम स्थल छेवैमा उनिहरुले बहिष्कारको ब्यानर राखेका छन् ।

पर्यटन सरोकार सञ्जालका संयोजक समेत रहेका सिद्धार्थनगर होटल एशोसिएसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले यस क्षेत्रको पर्यटन ब्यवसायीलाई आयोजकले जानकारी नदिएको आरोप लगाए ।कार्यक्रमको अन्तिम समय आई सक्दा पनि जानकारी नदिएको कारण कार्यक्रममा आफूहरु सहभागी नहुने ब्यवसायीहरुको भनाई छ । “लुम्बिनी प्रदेशको पर्यटनका हामी साझेदार हौं, यही कार्यक्रम आयोजना गर्दा हामीलाई पूर्ण बेवास्ता गरियो ।” उनले भने, “रुपन्देहीका पर्यटन व्यावसायीको सहभागिता बिना मार्ट कसरी सफल हुन्छ ? यसपाली कार्यक्रमप्रति हाम्रो असहमति छ ।”-श्रेष्ठले भने, “त्यसैले सञ्जालमा आवद्ध संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुँदैनौं ।” कार्यक्रममा सहभागी नभए पनि कुनै प्रकारले अवरोध नगर्ने ब्यवसायीहरुको भनाई छ ।

बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको भोली लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गर्दै छन् । कार्यक्रममा भारत, मलेसिया, चीन, कोरीया, बाङ्गदलादेश, म्यानमार, थाईलैण्ड, श्रीलंका लगायतका देशबाट ३५ जना भन्दा बढी ट्राभल टुर अपरेटरहरुको सहभागीता रहने आयोजक नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डकी प्रवन्धक श्रद्धा श्रेष्ठले यस बारे ३ महिना अघिदेखि नै गृहकार्य भई रहेको बताईन् । यसले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा मात्र नभई भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको प्रवर्द्धनमा समेत सहयोग गर्ने उद्देश्य रहेको उनको भनाई छ ।

लुम्बिनीको होटल पवन प्यालेसमा हुने कार्यक्रममा बिटुबि कार्यक्रम, स्वदेशी तथा विदेशी विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुती सहितको सेमिनारको आयोजना हुने नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलियाले बताए । सेमिनारले नेपालको लुम्बिनी लगायत बुद्धिष्ट सर्किटको विश्वव्यापी प्रचार प्रसार मार्फत नेपाललाई पर्यटकिय हव बनाउने बिषयमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो । बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट सञ्चालन बाट नेपाली टुर/ट्राभल कम्पनीहरु र होटल व्यवसायीले विदेशी टूर ट्राभल कम्पनीहरु संग व्यापार साझेदारी गर्ने संभावना वृद्धि हुने थपलियाको दावी छ । लुम्बिनीमा विश्वभरीका पर्यटक ल्याउन कार्यक्रमले थप मद्धत पुग्ने विश्वास लिइएको छ ।

कार्यक्रमको संयोजन नेपाल ट्राभल्स एण्ड टुर्स अपरेटर (नाट्टा) ले गरिरहेको छ । नाट्टाका केन्द्रिय अध्यक्ष रमेश थापाले स्थानियहरुलाई सहयोग गर्न अपिल गरेका छन् । यो कार्यक्रमले समग्र देशकै पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने भएकोले स्थानिय पर्यटन ब्यवसायीलाई उनले सहयोगको अपेक्षा रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।