ताजा अपडेट »

कठै मेरो देश !

सोमबार, २५ बैशाख २०८०, ०८ : ३२
89 Shares

तिमी ढांट, छल गर, सबथोक गर
थुपार कति सक्छौ सम्पत्ति
आउँदैछ बाडी, आउनुपर्छ पनि
तिमीले ओगटेको पद र सम्पत्तिहरु
तिम्रै आँखा अगाडि
बाडीले बगाएको देख्ने मन छ ।
निर्दोस होईन अपराध गर्नेलाई
कठघरामा उभाएको हेर्ने मन छ
पद र पावरमा होईन
सत्यलाई विजय गराउने मन छ ।।

शासनमा बस्नुपर्ने तिमी भोका मान्छेहरु
कति दरिद्र तिम्रो सोंच
कति तुच्छ तिम्रो बिचार
बेच्यौ देशको शान
खायौ जनताका पसिना
पुगेन तिमीलाई केहीले
र त शुरु गर्यौ मान्छेकै व्यापार ।।

सबै व्यापारी रहेछन् यहाँ
अस्तिका व्यापारी मेरा पर्ने थिएनन्
आफ्ना नपर्दा त दङ्ग म पनि
देखासिकीमा बिरोध जनाएं
सामाजिक सन्जालमा एकछिन रमाएं
आज त मेरै दाई पो व्यापारी
झस्कियो मन तर देखाउन सकिन
किनकी अहिले त मेरा साक्खै पो परे
तिमीले झुक्कायौं की दाजै मेरो भ्रम टुट्यो
सम्झिएनौ है तिमीलाई आमाले शिकाएको शिक्षा
अनि बुबाले दिएको ढाडस, याद आएन कति ?
कति चाहिन्छ, कति थुपार्छौ अझै सम्पत्ति ?

चोरको हातमा चांवी परेपछि
रक्षक नै भक्षक भएपछि
उफ कसको पर्नु भर अब
ताजुव लाग्छ अझै
उनकै बचाउको गुहार चल्छ जब ।
तिम्रा दाईको घिनलाग्दो व्यापार
मेरा दाइको नी उस्तै
छिमेकीले दुख सुख साटम भनेका छन
हात लागेको फुत्काउन भन्दा
छिटो बाटो काटम भनेका छन ।
आउ तिमी र म सुटुक्क बसम
दाईका विरुद्धमा नबोल्ने खानुपर्छ कसम ।।

म बोल्दा तिम्रा दाईलाई पोल्छ
तिमी बोल्दा मेरा दाईलाई पोल्छ
थोरै उघारेर कतै भेटी चडाम बरु
दाई बचाउन हामी होईन त्यही भेटी बोल्छ ।।
नचिप्लीनु थियो चिप्लीयो कुरो
तिमी र म मिल्नुको विकल्प छैन
जसरी नी बचाउनु छ
पैसा भाको बोरो ।
दाईको मन भ्रष्ट हुंदा हामीलाई पर्ने पिर
फर्की आउने बाटो मेट्दा
गांउमा भाका बा–आमाले
निउराईसके शिर ।।

धरातल बिर्सीएर गल्ती गर्यौ दाजै
कर्म गर्यौ, फल पायौ
बाचा बचन सम्झिएर
समर्पण गर आजै ।।
महङ्खीले आकुल–व्याकुल भाका छन जनता
बन्द हुंदैछन दैनिक उधोग र धन्दा
मर्दैछन दिनहुं धान्न नसकेर जीवन
बुझ्दैनौ की ? किन नबुझ्ने बन्यौ ?
जुन घरमा ओत लाग्यौ
त्यंही आंगन खन्यौ ।
जनताको प्राण धारमा पर्दा
दिन गनेर गरीवीको मारमा पर्दा
दुख्नु पर्ने हौईन र त्यता,
सम्झ न लौन, तिमीलाई
कसले बनायो नेता ।।

अति भो अव जनताले सहनुको सीमा
राहत देउ जनतालाई, नबनाउ जिउंदै किमा
हेक्का राख उम्लनेछन एकदिन
तिमीलाई तिमी बनाउनेहरु
सच्चिनुपर्छ अब हाम्रालाई राम्रा देख्नेहरु
आज नेपाल आमा रोईरहेकी छीन
तिमीले गरेको पाप पखाल्न
आफ्नै आंशुले धोईरहेकी छीन
कठै मेरो देश, जनताले नेता बनाए
नेताले भकारी बनाए ।
देशमा समृद्ध ल्याउने भाषण चुट्दै
उनै तिम्रा मेरा भ्रष्ट दाईले
देश चलाईरहेछन
कठै जनता
आंखा चिम्लेर भजन गाईरहेछन ।।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।