ताजा अपडेट »

आमालाई शहर

विहीबार, ०७ बैशाख २०८०, १० : ४४
14 Shares

छोरा !
म यो शहरमा बस्दिनँ
यहाँ त दिशा र पिसाब फेर्दा पनि
पैसा लिँदा रछन्
पैसा लिन मान्छे ढोकामै
उभिँदा रछन्
म यो शहरमा बस्दिनँ ।

प्लास्टिकमा पोक्याएको दूध
प्लास्टिककै बट्टामा राखेको घ्यू
मिलमा पिसेको मसलाको धुलो
प्लास्टिककै प्याकेटमा राखेको तेल

छोरा!
मलाई गाउँमै लगिदे
म शहरमा बस्दिन
खै ! त हर्पे र ठेकी ?

चामल राख्ने डालो देखिनँ
तरकारी काट्ने चुलेसी भेटिनँ
मसला पिस्ने लोहोरो सिलौटो पाइनँ
मासु काट्ने अचानो छैन
सबै अर्कैले गरिदिएपछि
कसरी बाँचिन्छ
ताजा खानेकुरा खान नपाएपछि ।

खै तेल पेल्ने कोल
खै धान कुट्ने ढिकी
खै मकै र कोदो पिस्ने जाँतो
अनि
खै पानी राख्ने माटाको घैला र तामाको गाग्री ।

आमा भुलिउन् भनेर टिभी ल्याइदिइस्
आफन्तसँग कुरा गरून् भनेर मोबाइल किनि दिइस्
गर्मी होला भनेर पँखा झुन्ड्याई दिइस्
जाडो होला भनेर हिटर राखिदिइस्
बुहारीले धेरै मायाँ गरेकी छ
सक्दो मेरा सेवा गरेकी छ
मलाई आफ्नै आमा झैं ठानेकी छ
तथापि
तेरो यी सबै प्रयासका बाबजुद पनि म खुसी हुन सकिनँ

छोरा !
मलाई गाउँमै लगिदे ।

गर्मी हुँदा कल्कल् ढुंगे धाराको पानी
अञ्जुलीले पिउनुको मजा बेग्लै
जाडो हुँदा दाउरा बालेर आगो तापेर बस्नुको मजा अर्कै
भोक लाग्दा हाँडीमा भुटेको
मकै र भटमास खानुको मजा छुट्टै
करेसा बारीको उखु पड्याक्क भाँचेर दाँतले ताछेर
कर्याम्म कर्याम्म चपाउँदै घुटुक्क रस निल्नुको मजा आहा १

पुजा गर्ने मन्दिर घरै भित्र छ
पाइखाना पनि घरै भित्र छ
हिँडडुल गर्न आफ्नै गाडी छ
लाउन खानको कुनै दुःख छैन
फोनको भरमा सबै कुरा घरमै आउँदो रैछ
तथापि म खुसी हुन सकिनँ

छोरा !
मलाई गाउँमै लगिदे ।

त्यहाँ मेरा देउरानी जेठानी छन्
भाउजू बुहारी छन्
नन्द आमाजु छन्
मलाई दिदी मान्नेहरू छन्
मैले बहिनी भन्नेहरू छन्
देवर जेठाजुहरू छन्
भाइ भतिजाहरू छन्
मैले घाँस काट्ने खन्यु दुधिलो र गोगनका रुखहरू छन्
अनि बाँसका झ्याङहरू छन्
मैले बाटो हिँड्दा पाती चढाउने देउरालीहरू छन्
मैले पानी भर्ने धारा र कुवाहरू छन्

छोरा !
मलाई गाउँमै लगिदे ।

हप्तामा एक दिन फोनमा
तेरो स्वर सुन्दाको मजा नै बेग्लै
वर्षमा एक पटक तेरो परिवार
घरमा आउँदाको खुसी नै छुट्टै
तैंले कसैको हातमा मलाई खर्च पठाएको
कुरा थाहा पाएर म पुलकित हुँदाको क्षण नै अर्कै १

छोरा !
मलाई गाउँमै लगिदे ।

आँखा भरि तेरो तस्वीर र मुटुभरी तेरो मायाँ साँच्ने छु
म दुईचार वर्ष अरु बढी बाँच्ने छु
देउडा मारुनी र लोक भाकामा रमाउँदै नाच्ने छु ।

छोरा !
मलाई गाउँमै लगिदे ।

आँखा टिभीमा छन्
मन गाउँमा पुगेको छ
शरीर यहाँ छ
सपना गाउको मात्रै देख्छ १

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।