Sep 25, 2023
पुस २३,
ग्लोबल आवाज
तिलोत्तमा । चितवनका एक दम्पतीले धार्मिक सहिष्णुताका लागि देवघाटदेखि लुम्बिनीसम्मको साइकल यात्रा गरेका छन् । भरतपुर महानगरपालिका १ पोखरा बसपार्ककी रुक्मिणी सापकोटा घिमिरे र केशव घिमिरेले ३ दिने साइकल यात्रा गरेका हुन् । बुधबार तिलोत्तमा आएका उनीहरुलाई रुपन्देही पानी उद्योग संघले स्वागत गरेको छ । केशव चितवनका प्रशोधित पानी व्यवसायी समेत हुन् ।
उनीहरुलाई संघका सचिव पुरुषोत्तम पाण्डेय (कृष्ण) र व्यवस्थापक सुनिलकुमार जयसवालले ड्राइभरटोलमा स्वागत गरे । धार्मिक पर्यटकीयस्थल देवघाटको मन्दिरमा पूजा गरी यात्रामा निस्किएको साइकल यात्री रुक्मिणीले बताइन् । उनका अनुसार देवघाटबाट भरतपुर २ लिलाचोकमा रहेको मस्जितमा आएर त्यहाँबाट लुम्बिनी यात्रा तय गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० र धार्मिक सहिष्णुता तथा पर्यावरणका लागि साइकल यात्रामा निस्किएको उनले बताइन् । पुस २५ गतेदेखि २६ गतेसम्म नारायणगढ, हेटौंडा र चितवनको पर्यटकीय क्षेत्र मेघौलीको यात्रा गर्ने पनि जनाइएको छ । १० वर्ष पहिलेदेखि साइकल यात्रा गर्दै आएका दम्पत्तिले यसअघि मुक्तिनाथ, वेनी, वन्दीपुर, काठमाडौं, सिन्धुली लगायतका स्थामा पुगिसकेका छन् भने चितवनको पर्यटकीय क्षेत्र सिराइचुली, उपरदाङगढी लगायतका स्थानमा पनि साइकल यात्रा गरिसकेका छन् ।
पर्यटन प्रर्वद्धनसँगै स्वास्थ्यका लागि र पर्यावरणका लागि पनि साइकल यात्रा महत्वपूर्ण रहने उनीहरूको भनाई छ । विभिन्न जिल्लाको यात्रा गरिसकेका दम्पत्तिले कुनै कार्यक्रममा निमन्त्रण आए आयोजकले खर्चको व्यवस्था गर्ने गरे पनि धेरै जसो खर्च भन् आफैँ गर्ने गरेको बताए । प्रतिघण्टा १५ किलो मिटरसम्म यात्रा गर्ने गर्दछन् भने एक दिनमा १५० किलो मिटरसम्म साइकल यात्रा गरेको रुक्मिणीले बताइन् । सडकमा साइकल लेन नहुनु तथा साइकलको फाइदाबारे मानिसलाई जानकारी नहुँदा साइकल यात्रीको संख्या बढ्न नसकेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस्