Sep 24, 2023
२०४०/०४१ साल तिरको कुरा हुनुपर्छ । त्यतिबेलाको होली सम्झना, यतिबेला साट्न मन लागि रहेको छ । २०३८ असोज १३ गते तिनाउ खोलामा आएको बाढीले हामी लगायत धेरै घरपरिवारलाई भूमिहीन बनाएको थियो । हामीहरु घरवारविहीन भएका थियौं । गरिवीको पराकाष्ठ बताइसक्नु छैन ।
हाम्रो परिवार ठूलो थियो । पाँच दाजुभाइ र तीन बहिनी थिए । बाबाआमा अशिक्षित । भएको ५३ रोपनी जग्गा,दुई हल गोरु, ५२ थान बाख्रा र दुई वटा मुर्राभैंसी तिनाउ खोलाले बगाएर लैजादा हाम्रा बाबाआमाका आँसु भने तिनाउ खोलाभन्दा लामो थियो । जग्गाजमीन लगेपछि खनिखोस्री खाने ठाउँ रहेन । अनपढ बाबाआमाले जागिर खाने कुरो पनि रहेन । बाबाले तिनाउ खोलामा माछा मारेर केही समय हामीलाई पाले । बम पड्काउँदा आफू झण्डै गएनन् । कहिलेकाँही फुर्लुङ्मा माछा नआउँदा हाम्रो पेटमा मुसा दगुर्थ्यो । कैयौं छाक, निराहार ब्रत बस्यौं । ती कुरा आज बताउँदै गर्दा नमिठो लाग्छ ।
त्यतिबेला, कान्छो भाइबाहेक हामी सबै पढ्ने भइसकेका थियौं । ठूल्दाइ र माल्दाइ बुटवलतिर पढ्न आइसकेका थिए पाल्पा दोभानबाट । सायद आर्थिक अभावका कारण ठूल्दाइ र माल्दाइ २०४२ सालतिर दिल्लीतिर दौडिएका थिए । उनीहरु गएपछि घरमा बाबाआमालाई आर्थिक बोझ कम भएको हुनुपर्छ ।
गाउँकै दोभान प्राविमा पढ्थे मैले । मलाई पढाउने सरहरुमध्ये बालकृष्ण पाण्डेय सर यो भू–धरातलमा छैनन् । कुलबहादुर तुलाचन सर पक्षघात भएर सुतिरहेका छन् । हुकुम सर, लालबहादुर सर, अमर सर, पर्शुराम सर र यादव सर जीवनको आफ्नै लयमा छन् । गाउँका मेरा धेरै साथीहरु रातिनै बुटवलमा दाउरा बेच्न आइपुग्थे । वनपालेले त्यतिबेला पक्रिने डरले त्यस्तो हुन्थ्यो । म उठ्दा त उनीहरु घर फर्किसकेका हुन्थे । फर्किदा पाउरोटी, दूध लिएर फर्किन्थे । म उठेर मुख धुन बाहिर निस्किदा त उनीहरु दूधवाला चियामा पाउरोटी चोभेर ग्वाम-ग्वाम खाइरहेका हुन्थे । त्यो दृश्यले मलाई आजपनि पाउरोटीप्रतिको मोह झन् प्रगाढ बनेर आउँछ ।
अति रहर लाग्थ्यो दूधचियासँग पाउरोटी खान तर त्यतिबेला गरिवीको कारण त्यो सम्भव थिएन । साथीहरु प्रायः शनिवार बुटवलमा फिल्म हेर्न र जुलेवी खान आउँथे । मलाई पनि गुलियो जुलेवी खाने रहरले मुखै रसाउँथ्यो । फिल्म हेरेर फर्केका साथीहरुले गणेशटोल र ६ नम्बर वडा जोड्ने ऐतिहासिक पुलमा साँझपख बसेर फिल्ममा हिरो, हिरोइन र खलनायकले गरेका व्यवहार र संवादका बारेमा बेलिबिस्तार लगाउँथे । म भने ट्वाल्ल परेर उनीहरुका अभिनय अनि क्यारिकेचर हेर्थे, सुन्थें । त्यतिबेला प्रथममा बसेर फिल्म हेरेको पाँच मोहोर थियो । जाबो पाँच मोहोर नभएर साथीहरुका पछि लागेर फिल्मका कुरा सुन्न हुर्रेको अहिले सम्झिदा नि आफैलाई नियास्रो लाग्छ ।
उतिबेला, दूधवाला गुलियो चिया र जुलेवी खाने उत्कट रहर थियो तर पैसा थिएन । यतिबेला ती चिज खान पैसा पुग्छ तर खान स्वास्थ्यले मान्दैन । मौका, समय र अवसरको अर्थ यही रहेछ । ती दिनहरु सम्झिदा नि आज एउटा सिंगै युग बितेजस्तै लाग्छ । होलीको अवसर पारेर होलीकै प्रसंग जोड्ने प्रयत्न गरेको छु । दोभानमा त्यतिबेला होली (हामीले हाम्रो भाषामा हुरी ) खेल्ने भन्थ्यौं । दोभान गाउँमा होलीको बेलामा पाटन, सुकेताल र महाराबासतिरका संस्कृतिकर्मीहरु मादल बजाउँदै, अवीर घस्दै हुरी(होली) खेल्दै र गाउँदै आउँथे । पुरुषहरु, महिलाको पोसाकमा मारुनी बनेर नाँच्थे ।
हा..हा.. हुरी खेलौं न ।
वर्षै दिनको फागूमा हुरी खेलौं न ।
यस्तैयस्तै गीत गाएर फन्कीफन्की नाँच्थे मारुनीसँगै मादलेहरु । भूइँको धूलो आकासतिर देखिन्थ्यो । घरबेटीले दिएको बिजुलीपानीले घाँटी भिजाएर उनीहरु बिजुली चम्केसरि नाँचेको देख्दा हामीहरु उसै खुसी हुन्थ्यौं । हामी हिङ नभएपनि हिङ बाँधेका टालाजस्तै दाम नभएपनि नेपाले साहुका नामले कहलिएका दोभानका नेपाले साहु थियौं । बाबा आमाले जनतन उनीहरुलाई खुसीपार्न सक्दो दान दिन्थे । उनीहरुले नाँचेर मनोरञ्जन दिन्थे । अवीर दलेर खुसी साट्थे ।
हाम्रो गाउँमा केशव दाइको कुटानीपिसानी मिल थियो मेजर बाजेको घर नजिकै । मीलका कारणले होला त्यतिबेला मानिसहरुको अलि भीड लाथ्यो । मान्छेहरुका ओहोर दोहोर बढी देखिन्थ्यो । हामी सानामा खेल्ने ठाउँ नि त्यतै थियो । होली खेल्न हामीले अवीर नहुँदा इँटलाई पिसेर साथीका गालामा दलिदिएको आजजस्तै लाग्छ । खस्रो भएर होला, साथीहरुलाई इँटको धूलो गालामा लगाउँदा ऐया ! भन्थे । तर,इँटको धूलो भनेर चिन्दैनथे । सोही मिलबाट निस्केको ग्रीस पनि अँध्यारामा दलेर होली मनाइन्थ्यो ।
यी सबै रहरसँग बाध्यता मिसिएको होली थियो । पैसाको अभावले अवीर किन्न नसकिदा खुसी हुन इँट पिसेर धूलो र ग्रीस दल्नुपरेको थियो । होली खेल्ने रहर हुन्थ्यो तर सप्तरङ्गी अवीर किन्ने हैसियत थिएन । रहरलाई थुनेर बस्ने कुरो पनि भएन । अचेल, होली खेल्ने रहर पनि ओथारो बस्न थालिसक्यो । तैपनि ती होलीका दिनहरु यतिबेला आँखामा झलझली नाँचिरहेका छन् । त्यतिबेला खेलिने अभावका होलीहरु यतिबेला सम्झनाका तरेलीमा नाँचिरहेका छन् ।
प्रतिकृया दिनुहोस्