ताजा अपडेट »

कर्णालीमा एमाले बाहिरिए पनि सरकार सुरक्षित

मंगलबार, १६ फागुन २०७९, ११ : ०४
18 Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिए पनि सरकार सुरक्षित हुने भएको छ । अहिले नेकपा माओवादी केन्द्रले कर्णालीमा मुख्यमन्त्री पाएको छ । माओवादी कर्णालीमा दोस्रो दल हो । पहिलो दल कांग्रेस रहेको छ । कांग्रेसको १४ सिट , माओवादीको १३ सिट रहेको छ ।

माओवादीलाई कांग्रेसले समर्थन गरेमा माओवादीको सरकार सुरक्षित हुने देखिएको हो । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि २१ सिट आवश्यक पर्छ ।  माओवादी एक्लैसँग १३ सिट छ नेपाली कांग्रेससँग १४ सिट छ । यस्तै नेकपा एकीकृत समाजवादीको १ सिट छ भने राप्रपाको १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य रहेका छन् । सरकार बन्नका लागि माओवादी र कांग्रेसकै सुविधाजनक सिट रहेको छ । जसका कारण मुख्यमन्त्री शर्मा मुख्यमन्त्रीमै निरन्तरता पाउनेमा ढुक्क छन् । 

यसअघि पहिलो दलको हैसियतमा रहेको कांग्रेस १० पुसमा समीकरण बदलिएसँगै प्रतिपक्षमा बस्न बाध्य भएको थियो ।  त्यो बेला कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफू नै मुख्यमन्त्रीमा ‘कन्टिन्यू’ हुने बताउँदै आएका थिए ।  १० पुसमा केन्द्रमा नयाँ समीकरण बनेपछि उनको मुख्यमन्त्रीमा निरन्तरता पाउने आशामा ‘ब्रेक’ लागेको थियो । अहिले माओवादी संसदीय दलका नेता शर्मा मुख्यमन्त्री बनिसकेकाले कांग्रेसले अहिले नै मुख्यमन्त्रीमा भाग खोज्ने स्थिति भने देखिँदैन । 

मुख्यमन्त्री राजकुमार शर्माले नयाँ समीकरणले कर्णालीमा खासै असर नपर्ने बताए ।  २७ पुसमा एमाले, राप्रपा र समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका शर्माले ११ माघमा मात्रै मन्त्रिमण्डललाई पूर्णता दिएका थिए ।

कर्णालीमा एमालेले तीनवटा मन्त्रालयको नेतृत्व गरिरहेको छ । एमालेका टेकराज पछाईले सामाजिक विकास मन्त्रालय, विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना मन्त्रालय र जीतबहादुर मल्लले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

यस्तै माओवादीले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हालेको छ । साथै माओवादीकी उर्मिला विकलाई राज्यमन्त्री समेत माओवादीले बनाएको छ । 

एमालेले तीन मन्त्री पदसँगै सभामुख पद पनि गुमाउने जोखिम देखिएको छ । यति बेला एमालेबाट मन्त्री भएका सबै जना ‘ग्रासरुट’ अभियानमा व्यस्त छन् भने कांग्रेस, माओवादीका नेताहरूले केन्द्रको सर्कुलर कुरिरहेका छन् ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।