ताजा अपडेट »

'मेरो तस्वीर' गीत सुनेपछिको अनुभूति

बुधबार, २५ माघ २०७९, २१ : १४
53 Shares

संगीतले गीतको प्राण भरिदिन्छ । गीतलाई जीवन्त बनाई दिन्छ । गीतले सन्देश बोकेको हुन्छ । गीत फरक फरक हुने गर्छन् । देशभक्तिपूर्ण गीतले देशप्रतिको मोह जगाउँछ । राष्ट्र र राष्ट्रियताप्रति वफादार बनाउँछ । लोकगीतले लोकलाई खुशी बनाउने प्रयास गर्छ । मनका गाँठाहरुलाई फुकाउने कोसिस गर्छ । मनोरञ्जन दिन्छ । आधुनिक गीतले समय बोल्छ । युगलाई पक्रिन खोज्छ । क्रान्तिकारी गीतहरुले क्रान्ति ओकल्छन् । यस आफ्नो समयलाई जुरुक्क उचाल्छ । यस्ता गीत सुनेर मान्छेहरु मर्न र मार्न पछि पर्दैनन् ।

सबै खाले गीतहरुले मान्छेका मनमा अनेक प्रश्न उब्जाउँछन् । गीतले मान्छेका भावना बोलेको हुन्छ । संगीतवद्ध गीतसँगको सामीप्यताले मान्छेलाई कहिले उदास बनाउँछ, कहिले क्रान्तिकारी बनाउँछ । कहिले सम्झाउँछ, कहिले रुवाउँछ । गीत सुनेर कोही खुसी हुन्छन्, कोही पीडावोध गर्छन् । आखिर किन यसो हुन्छ होला ? गीतमा त्यस्तो के शक्ति हुन्छ होला ? ‘ग्लू मी सण्डे’ गीत सुनेर मान्छेहरुले आफ्नो देह त्यागेको हामीले पढेकै हौं । मास्टर रत्नदासका गीत सुनेर दरवारमा महिसाहेवहरु भावविह्ल भएको इतिहास पाइन्छन् ।

विछोड मनहरु जोडिएका छन् गीतले । जोडिएका मनहरु टुटेका छन् गीतले । आखिर किन गीत सुनिन्छन् होला ? गीतले के दिन्छ होला त्यस्तो तागत, जसका कारण मान्छेलाई उद्वेलित गराउँछ । किन लेखिन्छन् होला गीत ? किन गीत लेख्न बाध्य छन् मान्छेहरु ? गीत, साँच्चिकै मनको प्रतिविम्व होला र ? मनको भाका र भाषा होला र ?

पढ्दा पढ्दा र लेख्दा लेख्दा थकित हुँदा कहिलेकाँही गीत सुन्ने गर्छु । त्यतिबेला गीतले मलाई उर्जा थप्छ । नयाँ उत्साह दिन्छ । मनमा जाँगर पलाउँछ र फेरि आफ्नो कर्ममा तल्लीन हुन मन लाग्छ । विहिवार साँझ यूट्यूवमा डाक्टर विष्णुमूर्ति भट्टराईद्वारा रचित एउटा आधुनिक गीत सुनें । करिव पाँच मिनेटको उक्त गीतले मनमा अनौठो भाव तरङ्गित गर्यो । वियोगान्त शैलीको उक्त गीत सुनेपछि मनमा अनेक तर्कहरु खेले ।

खोजीखोजी मेरो तस्वीर
तिमीलाई हेर्नुपर्ला
सम्झि त्यो दिन अंगालोमा
मेरै तस्वीर बेर्नुपर्ला
समयले तिमीसँग गुनासो गर्ला
मलाई सम्झि मेरो यादमा आँसु झर्ला ।

यो गीतमा छोडी जानेसँगको गुनासो प्रकट हुन्छ । अलिकति घुर्की समेत छ । मलाई छोडी जानेले मेरै तस्वीर खोजेर हेर्नुपर्ने, अंगालोमा बेर्नुपर्ने, उसैसँग समयले गुनासो गर्ने अनि आफ्नो यादमा आँसु झर्ने ? यो गीतको भावले एकपटक दया एवम् प्रेमभाव जाग्छ । तीनवटा अन्तरा रहेको उक्त गीतमा शब्द चयन विछोडकै छन् । पुराना दिनका सम्झनाहरु छन् । स्नेह र प्रेमका विम्वहरु छन् । सायद विगतले आगतमा पीडा दिइरहेको भान हुन्छ । गीतका रचयिता लेख्छन् –
लुकीलुकी खोपिएका
नामहरु मेट्नुपर्ला
नचाहे नि दोबाटोमा
अल्झिएर भेटनुपर्ला
समयले तिमीसँग गुनासो गर्ला
मलाई सम्झि मेरो यादमा आँसु झर्ला ।

उनले आफ्ना स्मृतिहरुलाई मेटाउनु पर्ने, छाडी जानेलाई नचाहेर पनि अन्यासै भेट्नु पर्ने बाध्यताका कुराहरु प्रकट गरेका छन् । समय हो, कहिकतै गौडामा भेटिन सक्छन् । तैपनि समयसँग उनको गुनासो कायमै छ । विछोडको सम्झनाले पिरोल्दा आँसु झर्ला नि भनेर प्रश्न गरिरहेका छन् । जनरल सर्जन समेत रहेका उनै डा.विष्णुमूर्ति भट्टराई, सिरिञ्ज र सिजरमामात्र सीमित छैनन् बरु उनी आफ्ना भावलाई गीतमा बुनिरहेका छन् ।

चर्चित गायिका रचना रिमालको स्वरमा सजिएको उक्त गीतमा श्रीधर अधिकारीले संगीत भरेका छन् । ‘मेरो तस्वीर’ बोलको उक्त गीतको म्यूजिक भिडियो बन्नै बाँकी छ । म्यूजिक भिडियोमा सो गीत सुन्न र हेर्न पाइएमा सुनमा सुगन्ध थपिने थियो कि !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।