ताजा अपडेट »

आज गण्डकीमा सभामुखको निर्वाचन, गठबन्धन दलबाट माओवादीका धिताल उम्मेदवार

शनिबार, ३० पुस २०७९, ०७ : १७
27 Shares

बुटवल । गण्डकी प्रदेशमा आज सभामुख चयनका लागि निर्वाचन हुँदै छ । सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार बन्ने भएका छन् । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको शुक्रवार साँझ बसेको बैठकले गोरखा क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

दलका नेता एवं प्रदेश सरकारका विना विभागीय मन्त्री हरिबहादुर चुमानले दलको बैठकले सर्वसम्मत उम्मेदवार तय गरेको जानकारी दिए । सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघि नै भइसकेको छ । नेकपा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागवण्डा गरिएको थियो । सोहीअनुसार नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् । गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ ।

सभामुख चयनका लागि प्रदेशसभाको बैठक आज शनिवार अपराह्न ३ बजे बोलाइएको छ । प्रदेशसभाको शुक्रवारको बैठकमा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेशसभा सभामुख चयन गर्न शनिवार बैठक बोलाएका हुन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन ।

कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र १ सदस्य छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।