ताजा अपडेट »

नेपाल टी २० लिगः फार वेस्टको पहिलो जित

सोमबार, ११ पुस २०७९, १३ : ३८
13 Shares

काठमाडौं । फार  वेस्ट युनाइटेडले नेपाल टी–२० लिगमा पहिलो जित निकालेको छ । कप्तान हस्मतउल्लाह साहिदीको अर्धशतकप्रेरित फार वेस्टले काठमाडौं नाइट्सलाई चार विकेटले पराजित गरेको हो । 

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबार काठमाडौंले प्रस्तुत गरेको ९९ रनको लक्ष्य सामान्य लक्ष्य पछ्याएको फार वेस्टले १९.१ ओभरमा ६ विकेट गुमाउँदै विजयी भयो । 

फार वेस्टका कप्तान साहिदीले ४९ बलमा तीन चौका र दुई छक्का मद्दतमा अविजित ५० रनको योगदान दिए । देव खनालले १६ र भिम सार्कीले ११ रन जोडे । काठमाडौंका लागि अनिल खरेलले दुई तथा अज्मतउल्लाह ओमार्जाइ, रायन बर्ल बसिर अहमद र अविनाश बोहोराले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९८ रनको योगफल तयार पारेको थियो । काठमाडौंका लागि एलेक्स ब्लेकले ३७ बलमा पाँच चौका र एक छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ४५ रनको योगदान दिए । यसैगरी कप्तान ज्ञानेन्द्र मल्लले १३ र  सन्तोष कार्कीले १२ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

फार वेस्टका लागि उमेर अलीले तीन, भुवन कार्की र  हस्मतउल्लाह साहिदीले समान दुई तथा शेर मल्लले एक विकेट लिए ।

यस जितसँगै फार वेस्टले दुई खेलमा दुई अंक जोडेको छ । यसअघि  फार वेस्टले पहिलो खेलामा लुम्बिनी अलस्टार्ससँग ६७ रनको  हार ब्यहोरेको थियो । पहिलो पराजय ब्यहोरेको काठमाडौं पनि दुई खेलबाट दुई अंक नै छ । यसअघि काठमाडौंले उद्घाटन खेलमा पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको थियो ।

सोमबार नै हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्स प्रतिस्पर्धा गर्दैछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।