ताजा अपडेट »

रुपन्देहीको लुम्बिनीमा नवौ सडक खाना महोत्सवको तयारी

विहीबार, ०७ पुस २०७९, १३ : ४५
74 Shares

भैरहवा । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमो पुस १६ गत नवौ सडक खाना तथा सांस्कृतिक महोत्सव हुने भएको छ । लुम्बिनी होटल संघ नेपालको आयोजनामा अङ्ग्रेजी नया वर्षको अवसरमा लुम्बिनीमा सडक खाना महोत्सवको आयोजना हुदैछ । कार्यक्रमबारे जानकारी दिने उद्देश्यले लुम्बिनीमा भएको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनीमा आयोजना गरिने महोत्सवलाई स्थानीय खानपिनका परिकारहरुका साथै लुम्बिनीमा रहेका अन्तरर्रािष्ट्रय विहारहरुको सहयोगमा चीन, जापान, कोरिया, भियतनाम, क्याम्बोडिया, म्यानमार, श्रीलंका आदि देशका परिकारहरु पनि सामेल गर्ने गराउने कोसिसमा रहेको बताए ।

लुम्बिनी सांस्कृतिक महोत्सव तथा सडक खानपिन महोत्सवमा स्थानीय थारु समुदाय मुस्लिम समुदाय पश्चिमी तराईका ब्राह्मण समुदाय आदिका खानपिनका साथै पाल्पाको झिनिया रोटी बटुक, हासको छोइला, चुकौनी, इम्रिति लगायतका खानेकुरा सडक खाना महोत्सवमा रहने उनले बताए । महोत्सवमा नौमति पञ्चेबाजा, विरहा, थारु झुमराका साथै आधुनिक पप ÷ डिजे गीत संगीतको व्यवस्था समेत मिलाइएको छ ।

लुम्बिनी होटल संघ नेपाल प्रमुख आयोजक भए पनि महोत्सव आयोजनामा पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश, पर्यटन डिभिजन कार्यालय, रूपन्देही, लुम्बिनी विकास कोष, लुम्बिनी पर्यटन विकास परिषद लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थ उद्योग वाणिज्य संघ र होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन रुपन्देही लगायतका संघ संस्था र निकायहरु समेतले आयोजकका रुपमा सहयोग गरेको ज्ञवालीले बताए ।

लुम्बिनीमा बसेर महोत्सवमा सहभागी हुन अतिथिहरुलाई सहयोग पुरयाउने उद्देयले लुम्बिनी होटल संघ नेपालले पुस १६ गतेका निम्ति होटल कोठामा ३० प्रतिशत छुटमा उपलब्ध गराउन आफ्ना सदस्य होटलहरुसँग समन्वय गरेको संघमा वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।