ताजा अपडेट »

चितवन मेडिकल कलेजमा तोडफोड, १० जना पक्राउ

मंगलबार, १८ असोज २०७९, २० : १२
16 Shares

चितवन । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चितवन मेडिकल कलेजमा तोडफोड गरेका छन् । आक्रोशित आफन्तले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) कक्षभित्र प्रवेश गरेर मङ्गलबार तोडफोड गरेको चितवन प्रहरीले जानकारी दिएको छ ।

तोडफोडबाट लाखौं रुपियाँको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट मेडिकल आइसीयू कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरण लगायतमा क्षति पुगेको अस्पतालले जनाएको छ । आक्रोशित भिडले आइसीयू कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको अस्पताल प्रशासनको भनाइ छ । 

भरतपुर–१३ का ३६ वर्षीय रमेश कुँवरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । उहाँलाई प्याङक्रियाटाइटिस र उच्च रक्तचापको समस्या भएर उपचारका लागि आफन्तले अस्पताल भर्ना गरेका थिए । अस्पतालले उपचार गर्न सेन्ट्रल भेन खोलेर औषधि दिएको बताएको छ । त्यसलाई आफन्तहरुले घाँटीको शल्यक्रिया भन्दै तोडफोडमा उत्रिएको अस्पतालको भनाइ छ । 

तोडफोडमा संलग्न रहेको भन्दै मृतकका १० जना आफन्तलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।  -शालीग्राम नेपाल/ गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।