ताजा अपडेट »

पाल्हीनन्दन अध्यक्षविरुद्ध पक्राउ पुर्जी : अनुसन्धान फितलो भएको भन्दै पोलिग्राफ जांच गर्न माग

मंगलबार, २८ भदौ २०७९, १७ : ४०
55 Shares
मंगलबार, २८ भदौ २०७९
55 Shares

बुटवल । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता मुछिएको मुद्दाको अनुसन्धान फितलो भएको र उनलाई राजनीतिक पहुंचका आधारमा जोगाउन खोजिएको भन्दै पोलिग्राफ टेस्ट गर्न माग गरिएको छ । साझेदारी व्यापारको एक करोड बढी रकम हडप्ने उद्देश्यले दुई भारतीयलाई योजनाबद्ध रूपमा लागूऔषध मुद्दामा फसाएको आरोपमा गुप्तालाई दुई हप्ताअघि पक्राउ पुर्जी जारी भएको थियो । तर उनीविरुद्ध मुद्दा दर्ता र पक्राउ गर्न प्रहरीले चासो नदिएको बरु उल्टै मुद्दालाई कमजोर बनाउन खोजेको थुनामा रहेका दुई भारतीयका परिवार र जिल्लाका राजनीतिक दलहरुको दावी छ ।

गुप्ताकै योजनामा गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई लागु औषध कारोबार गरेको आरोपमा पक्राउ गरेको थियो । तर प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले गरेको अनुसन्धानमा उक्त घटना बनावटी भएको,गाउंपालिका अध्यक्ष गुप्ता प्रमुख योजनाकार र जिल्ला प्रहरी प्रमुखको भूमिका शंकास्पद रहेको निश्कर्ष निकालेका थिए ।

अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी रघुनाथ धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । घटनामा मुछिएका पाण्डे मलेशिया पुगेका छन् भने अध्यक्ष गुप्ता फरार छन् ।

सरकारी वकिल कार्यालय नवलपरासीका चन्द्रबहादुर सिंजालीले प्रहरीको अनुसन्धान प्रतिवेदनमा अझै केही कुरा अपुग भएकाले पुनः अनुसन्धानका लागि समय दिइएको बताए । पक्राउ पुर्जी जारी भएका गाउंपालिका अध्यक्षलाई प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गर्नुपर्नेमा प्रहरीले पालिका कार्यालयमा गएर कुराकानी गरेको विषयमा सरकारी वकिल कार्यालयले स्पष्ट पार्न भनेको सिंजालीले बताए । ‘गुप्ताले के के कुरा गरेका थिए त्यो खुलाएर ल्याउन भनेका छौं’–उनले भने ।

यसबीचमा अध्यक्ष गुप्ताले धोबीलाई ८० लाख रुपैयां दिने शर्तमा उनलाई बयान फेर्न लगाई धोबी नै घटनाको मुख्य दोषी देखाएर आफू उम्किन खोजेको धोबीकी श्रीमतीले बताएको स्थानीय राजेन्द्र साहनीले बताए । माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष गुप्ताले राजनीतिक पहुंच र आर्थिक चलखेलका आधारमा प्रहरी प्रशासनलाई प्रभावित गरेर आफू उम्किन खोजेको भन्दै उनका सहयोगी धोवीको पोलिग्राफ टेस्ट गर्न हिरासतमा रहेका भारतीयका परिवारले माग गरेका छन् । गुप्ता माओवादी अध्यक्ष प्रचण्ड निकट छन् । ‘शक्ति र पैसाको आडमा निर्दोषलाई फसाइएको छ,सत्यतथ्य पत्ता लगाउन रघुनाथ धोबीको पोलिग्राफ जांच हुनुपर्छ’–रामा गुप्ताका सालो सञ्जय शाहले भने ।

स्थानीय धरेन्द्र यादवले घटनाको अनुसन्धान गर्दा जिल्लाको प्रहरी नेतृत्वले गाउंपालिका अध्यक्षलाई जोगाउन खोजेको देखिएकाले आफूहरुले उच्चस्तरीय छानवीनको माग गरेको बताए । गाउंपालिका अध्यक्ष गुप्ताविरुद्ध भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको मुद्दा समेत अख्तियारमा परेकाले उनले आर्थिक चलखेलकै आधारमा गठबन्धनको दुरुपयोग गरेर उम्किने प्रयास गरेको भन्दै त्यसो भएमा आन्दोलन गर्ने बताउंछन् । ‘भारतीय नागरिकलाई साझेदारी कारोबारको एक करोड ३३ लाख दिनुपर्ने रकम नदिन नक्कली घटना बनाएर फसाइएको हो’–यादवले भने ।

जिल्ला प्रहरी प्रमुख ऋषिराम कंडेलले घटनाका बारेमा प्रतिक्रिया लिन खोज्दा आफू बाहिर रहेकाले सूचना अधिकारीसंग कुरा गर्न भन्दै पन्छिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले पक्राउ पुर्जी जारी भएका गाउंपालिका अध्यक्ष गुप्ताको खोजी भइरहेको तर फेला नपरेको बताए । अनुसन्धान प्रभावकारी बनाउन पोलिग्राफ जांच आवश्यक देखेमा गर्न प्रहरी तयार रहेको उनले बताए ।

घटनाको अनुसन्धान शुरु भए लगत्तै गाउंपालिका आउन छाडेका अध्यक्ष गुप्ताले आफू चढ्ने गाउंपालिकाको गाडी कहां राखेका छन् भन्ने गाउंपालिका प्रशासनलाई थाहा छैन । दुई हप्ताअघि पक्राउ पुर्जी जारी भएपछि सरकारी गाडी कार्यालयमा हुनुपर्नेमा कहां छ भन्ने पत्तो नभएको गाउंपालिकाकी कार्यवाहक अध्यक्ष फातुमा खातुन अन्सारीले बताइन् । ‘पक्राउ पुर्जी जारी भएपछि सरकारी गाडी अफिसमा छाड्नुपर्ने हो, तर दुरुपयोग भएको छ’–उनले भनिन् । प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले दुई दिन पछि गाडी सहित आफै गाउंपालिकामा आउने गुप्ताले म्यासेन्जरकलमा बताएको जानकारी दिए । गुप्ताको मोबाइल भने स्वीच्डअफ छ ।

भारतीय नागरिक रामा गुप्ताले गाउपालिका अध्यक्ष बैजुप्रसाद गुप्तासंग १२ वर्षदेखि कवाड कारोबार गर्दै आएका थिए । पछिल्लो समय रामा गुप्ताले अध्यक्ष बैजुप्रसादबाट एक करोड ३३ लाख रुपैयाँ पाउनुपर्ने थियो । सोही रकम हडप्नकै लागि गाउँपालिका अध्यक्षले उनीहरुलाई लागूऔषध मुद्दामा फसाएको अनुसन्धान प्रतिवेदनले भनेको छ ।

तीन महिनादेखि थुनामा रहेका भारतीइ नागरिक गुप्ता र पासवान निर्दोष रहेको भन्दै तत्काल रिहा गर्न र गाउँपालिका अध्यक्षलाई पक्राउ गरी उनीमाथि छानबिन गर्न नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नवलपरासीले समेत माग गर्दै आएका छन् ।

निर्दोषलाई फसाएको भन्दै नवलरासीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवारले माथिल्लो प्रहरी निकायमा जानकारी गराएपछि प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले अनुसन्धान टोली खटाएको थियो । घटनाको अनुसन्धानपछि प्रहरी टोलीले समेत निर्दोष व्यक्ति थुनामा परेको उल्लेख गरेको प्रहरी स्रोतले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।