ताजा अपडेट »

गुल्मी अस्पतालको प्याड प्रकरण: घर गएकी सुत्केरी पुनः ९ दिनसम्म अस्पतालमा

विहीबार, १९ साउन २०७९, १३ : ५४
8 Shares

गुल्मी । सुुत्केरी भएको १३ दिन पछि योनी मार्गबाट प्याड निकालिएकी एक सुत्केरी महिला भर्ना भएको ९ दिनसम्म गुल्मी अस्पतालमा उपचार गराउनु परेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–८ सानोचेक्मीकी २१ वर्षीया अप्सरा पाण्डे गुल्मी अस्पतालमा भर्ना भएको ९ दिनसम्म उपचार गराई मंगलबार साँझ डिस्चार्ज भएकी हुन् ।

असार २८ गते गुल्मी अस्पतालमा सुत्केरी ब्यथा लागेर भर्ना भएकी पाण्डे सोही दिन छोरी जन्मिएर दोश्रो दिन असार २९ गते डिस्चार्ज भई घर गएकी थिइन् । घर गएदेखि पेट दुख्ने , रिंगाटा लाग्ने, खान नरुच्ने, नवजात शिशुलाई स्तनपान समेत गराउन नसकी थाँतै दिशा–पिशाव भएकी उनलाई परिवारजनले शंका लागेर हेर्दै जाँदा उनले सन्तान जन्माउने ठाउँको भित्रि भागबाट सुत्केरी जन्माउँदा प्रयोग गरिने प्याड कपडा निकालेर साउन ९ गते सोही गुल्मी अस्पतालमा ल्याएका थिए ।

दिन प्रतिदिन सुत्केरीको अवस्था नाजुक बन्दै गएपछि उनको स्यहार–सुसारमा खटिएकी साइँली सास पुतला पाण्डेले हेर्दैै जाने क्रममा भित्रि भागमा धागो जस्तो देखेको र चिम्टीको माध्यमद्वारा तान्ने क्रममा पाठेघर मै टाँसिएको अवस्थामा उक्त प्याड निकालेको बताउँदै आएकी छन् ।
सुत्केरी गराउने बेलामा अस्पतालको लापरवाहीका कारण प्याड पाठेघर आसपासमै छाडिएको सुत्केरी पक्षको दावी अस्वीकार गर्दै त्यस अस्पतालले उक्त प्याड पाठेघरमा रहन नसक्ने भन्दै विज्ञप्ती निकालेको थियो ।

नर्मल डेलिभरी गराइएकी सुत्केरीको पाठेघरमा प्याड रहनै नसक्ने अस्पतालले विज्ञप्तिमा दाबी गर्दै परिवारजनले निकालेको प्याड समेत आफन्जनले देखाउन नसकेको भन्दै समाचारको पूरै अंशलाई समेत झुट सावित गराउने प्रयास गरिएको थियो । तर, उक्त प्याड अस्पतालले गायव गराउन सक्ने भन्दै परिवारजनले सुरक्षित राखेका छन्। निकालेपछि घरको मल्खातोमा गाडिएको उक्त प्याड निकालेर तम्घास ल्याउन लगाई क्यामरामा कैद गरेर मात्र रिर्पोटिङ्ग सुरु गरिएको थियो र अहिले सुत्केरी अस्पतालबाट डिस्चार्ज भई हाम्रो कार्यालयमा आउँदा पनिसंगै लिएर आएका छन् र एक जना सरकारी मानिसकै रोहबरमा त्यसलाई सुरक्षित राखिएको छ ।

स्वास्थ्य अवस्था जटिल बनेर अस्पताल पुगेकी पाण्डेलाई सुरुमै डाक्टरले एकान्त स्थलमा लगेर ‘राखिएको प्याड सिस्टरले निकाल्न लगाउनु भएको थियो’ भन्ने कुरा बोल्न लगाई भिडियो रेकर्ड गर्न लगाएको पाण्डे बताउँछिन् । हामी रिर्पोटिङ्गका लागि त्यस अस्पतालका मेसु डाक्टर उत्तम पाच्याको कार्यकक्षमा पुग्दा पनि डाक्टर पाच्याले अडियो रेकर्ड सुन्नु हुन्छ? भन्दै थिए । डाक्टरले पहिल्लै अडियो रेकर्ड गराई सकेका छन् भन्ने सुँईको पाई सकेका हामीले पर्दैन भनेका थियौं । रिर्पोटिङ्गका क्रममा पछि निकाल्नु भनेको प्याड सुत्केरीले विवेक नपुराउँदा भित्रै रहेको हुन सक्ने बताएका डाक्टर पाच्याले डिस्चार्ज गर्ने बेलामा त्यसको ख्याल नगरी पठाएकोमा स्वास्थ्यकर्मीको पनि कमजोरी रहेको स्वीकार गरेका थिए ।

तर, अस्पातलको बिषयमा लापरवाही भएको समाचार प्रकाशित भए पछि त्यसको छानविन गर्ने, बिरामी र सरोकारवालालाई स्पष्ट पार्नुपर्ने ठाउँमा एक्कासी विज्ञप्ती निकालेर सुत्केरी र सुत्केरी पक्षले गरेका गुनासाहरु पूरै झुट बनाउने कोशिस गरिएको थियो ।
सुत्केरी पाण्डे भन्छिन् ‘म त्यसरी सिकिस्त भएर त्यसै अस्पतालमा लडेकी थिएँ , त्यति नै बेला हामीले सञ्चार माध्यमलाई बताएका कुरा झुट हुन भनेर विज्ञप्ती निकालेको थाह पाउँदा दुःख लाग्यो । त्यति मात्र होइन , म भर्ना भएकै बेला एउटी सुत्केरीलाई बोलाएर रगत दिइयो । पत्रकारहरु बोलाएर अस्पतालले उनलाई नवजीवन दिएको समाचार बनाईयो, तर म एउटी सुत्केरी यतिका दिनसम्म अस्पतालको बेडमा लडेको कुरा चाँही केहि जस्तो ठानिएन।’

उनको योनी मार्गको भित्रि भागबाट प्याड निकालेकी उनकी साईली सासु पुतला पाण्डे आफूले पाठेघरमै टाँसिएको प्याड चिम्टीले तानेर निकालेको दावी गर्छिन् । ‘मैले नभएको कुरा किन गर्थे ? उनले भनिन्–‘ पाठेघर भन्दा तल राखिएको भए त्यतिका दिनसम्म मैले डे«सिङ्ग गर्दा थाहा पाई हाल्थे नि ? आफूहरुको गल्ती गर्ने, उल्टो अरुलाई झुट बनाउने?’ काठमाण्डौंमा रहेका सुत्केरीका श्रीमान कृष्ण पाण्डे लामो समयसम्म श्रीमती अस्पताल भर्ना भए पछि घर आएका छन् । उनले सुत्केरी पोषणका साथ घरमा बस्नु पर्ने श्रीमती अस्पतालमा ९ दिनसम्म उपचार गराएर बस्नुको कारण अस्पताल कै लापरवाही भएको अरोप लगाउँछन् ।

सुत्केरीका देवर बसन्त पाण्डेले ९ दिनसम्म अस्पतालमा बस्दा करिब १६ हजार खर्च भएको , त्यसकोे क्षतिपूर्ति अस्पतालले दिनुपर्ने र आगामी दिनमा सोही कारणले भाउजु रोगी बनेमा अस्पतालले नै जिम्मा लिनुपर्ने माग गरेका छन् । उनलेआफु जिल्ला प्रशासन कार्यालयमा पुगेर अस्पतालको लापरवाहीविरुद्धको उजुरी दिएको र पछि बेलाउँछौं भनेर फर्किएको बताए ।

विरामीकै इप्छा अनुसार ९ दिनसम्म अस्पताल राखिएको अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डे दाबी गर्छन् । साथै प्याड छुटेको भए पनि पाठेघरमा नभई योनिर्मागमा छुटेको डाक्टरहरुबाट बुझेको अध्यक्ष पाण्डेको भनाई छ ।–उनले भने –‘‘खाना मिठो नहुने समस्या भएपछि उहाँँकी आमाको आग्रहमा अस्पतालमा राखिएको हो । हिजो डिस्चार्ज भएर जानु भएको छ । अहिले उहाँको स्वास्थ्य अवस्थामा कुनै समस्या छैन्।’ बिरामीँ र उनका आफन्तकै ईच्छा अनुसार अस्पतालमा राखिएको भन्ने अध्यक्ष पाण्डेको भनाई आए पनि बिरामीको ईच्छा अनुसार अस्पतामा जति दिन पनि बस्न पाईने कुरा बिरलै सुनिन्छ । बिरामीको अवस्था अनुसार डाक्टरले राख्ने गरेको पाईन्छ । ती सुत्केरीलाई दुई हप्ता पछि फेरी अस्पताल आउन भनिएको स्वयमले बताएकी छन् ।

के भन्छन् त प्रसुती विशेषज्ञ ?
यस सम्बन्धमा हामीले लुम्बिनी प्रादेशिक अस्पतालका प्रसुती विशेषज्ञ डाक्टर बिष्णु गौतम भन्छन् –‘नर्मल डेलिभरी गर्दा पनि सुत्केरी महिलाको पाठेघरको मुख काट्नु पर्ने हुन्छ । त्यतिबेला रगत रोक्नका लागि प्याड लगाइन्छ । जुन चार–पाँच घण्टापछि निकाल्ने गरिन्छ ।

त्यसरी प्याड लामो समयसम्म रहनु भनेको गडबढी हो । योनीमार्गमा रहेको प्याड सिस्टरहरुले सुत्केरीलाई निकाल्न भन्नु पर्छ । जुन कुरा डिस्चार्ज गर्ने बेलामा पनि दोहराउनु पर्ने हो । प्याड त्यसरी भित्र रहेको तर, कहाँ रह्यो भन्ने कुरा ‘कन्फ्यूज’ को बिषय रह्यो । जहाँ रहेको भए पनि त्यतिका दिनसम्म रहनु भनेको त गडबढी नै भयो ।’

सिस्टरहरुले दुई वटा प्याड राखिएको र निकल्न भनेअनुसार सुत्केरीले ती दुई वटा प्याड अस्पतालमा छँदै ट्वाइलेटमा गएर फालेको बताउँदै त्यो तेश्रो प्याड कहाँबाट आयो ? भन्ने प्रश्न गरेकी छन् । उनले प्याड पाठेघर आसपास मै रहेको दावी गर्दै फेरी द्ुई हप्तापछि बोलाइनुले आफू त्यही कारणले रोगी बनियो कि भन्ने चिन्ता ब्यक्त गर्दै गहभरी आँशु पारिन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार