ताजा अपडेट »

बढ्यो डेंगु : लुम्बिनी सरकारकाे छैन तयारी, स्वास्थ्य कार्यालयहरु बजेटविहिन

सोमबार, १६ साउन २०७९, १४ : ३७
27 Shares

बुटवल । साउन महिना लागेसँगै रुपन्देही लगायत तराईका जिल्लाहरुमा डेंगुका बिरामी बढेका छन् । सरकारी तथा नीजि स्वास्थ्य संस्थाहरुमा डेंगु परीक्षण गराउनेहरुको संख्या पछिल्लो साता ह्वात्तै बढेको छ । गत साताको बुधबारदेखि परीक्षण गराउनेको संख्यामा एक्कासी वृद्धि भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको त्याङ्कले देखाउँछ । लुम्बिनी प्रदेशमा तराईका जिल्लाहरु रुपन्देहीसहित कपिलवस्तु, नवलपरासी, दाङ, बाँके, बर्दिया तथा पहाडी जिल्लाहरुमा समेत डेंगुका बिरामी बढेका छन् ।

बुटवलकाे लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै दैनिक ७० जना बढी डेंगु परीक्षणका लागि आउने गरेका छन् । परीक्षण भएका नमूना मध्ये ४५ प्रतिशत अर्थात दैनिक ३० जना बढीमा पोजेटिभ केस भेटिने गरेका छन् । अस्पतालको आकस्मिक कक्षमा दैनिक २५ देखि ३० जना परीक्षण गराउन आएका मध्ये १५/१६ जनामा पोजेटिभ भेटिने गरेका छन् भने ओपिडीतर्फ दैनिक औसमा ४० जना परीक्षणमा आएका मध्ये १५ जना बढीमा पोजेटिभ भेटिने गरेको परीक्षणमा संलग्न कर्मचारीहरुले तथ्याङ्क उपलब्ध गराएका छन् । अस्पतालका सूचना अधिकारी डा. नेत्र थापाका अनुसार दैनिक ३ देखि ४ जना बालबालिकाहरुमा समेत डेंगु पोजेटिभका केस भेटिने गरेका छन् ।

अस्पतालको ल्याब शाखाको तथ्याङ्क अनुसार गत असार १ गतेदेखि साउन ५ गतेसम्म ९८६ जनाले परीक्षण गराएका मध्ये १२२ जनामा पोजेटिभ केस भेटिएको थियो । साउन महिनाको पछिल्लो साता भने डेंगु संक्रमितको संख्यामा वृद्धि भएको छ । अस्पतालका सूचना अधिकारी डा. नेत्र थापाका अनुसार केही वर्षअघि भदौ र साउन महिनामा डेंगुका बिरामी बढी देखिने गरेका थिए भने यो वर्ष असार महिनादेखि नै डेंगुका बिरामी देखिन थालेका छन् । साउन महिनामै डेंगुका बिरामीको संख्या वृद्धि भएका कारण सचेत हुनु पर्ने उनको सुझाब छ ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल, सैनामैना, देवदह र तिलोत्तमामा डेंगुका बिरामीहरु बढेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा यो रोग लागेका बिरामीहरुले भरिएका छन् । यी मध्ये धेरै गम्भीर प्रकृतिका बिरामीहरुलाई चितवन तथा काठमाडौं पठाइएको छ । लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको सचेतना, यसको लार्भा खोज र नष्ट गर भन्ने अभियान बिगतमा गरिएपनि अहिले पालिकाहरुले प्रभावकारीरुपमा यसलाई संचालन गरेको देखिदैन । सरकारी तथा नीजि स्वास्थ्य संस्थाहरुमा डेंगु परीक्षण गराउनेहरुको भिड लाग्ने गरेका छन् । वर्षात र गर्मी मौसम, बुटवलको मुख्य सडकसहित भित्री सडकहरू विस्तार हुँदा खाल्डोमा संकलन भएको फोहोर पानी र लामखुट्टे निराकरणसम्बन्धी सचेतनामुलक कार्यक्रमहरू नहुँदा डेंगुका बिरामीहरू बढ्दै गएको चिकित्सकहरुले बताउने गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले कार्यालयसँग बजेट धेरै नभएकाले सचेतनाका कार्यक्रम धेरै गर्न नपाएको तर सबै स्थानीय सरकारलाई यस बारेमा सचेतना गराई कार्यक्रम गर्नका लागि आग्रह गरिएको बताए । उनले भने–‘अहिले हामीसँग बजेट नै हुँदैन, समन्वय गर्ने काम गरिरहेका छौं, प्राविधिक पक्षबाट गर्ने काम हामी गर्छौ तत्काल सचेतना र लामखुट्टेको खोजी तथा नष्ट अभियान चलाउने भनेर सबैलाई तयारी गर्न भनेका छौं ।’ ‘अहिले डेंगुको बढी हुने समय हो, यो समयमा सबै सचेत हुनुपर्दछ’– ढकालले भने ।

डेंगु नियन्त्रणका लागि लुम्बिनी प्रदेश सरकारले समेत प्रकावकारी योजना ल्याउन सकेको छैन । प्रदेश सरकार अन्तरगत रहेको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले डेंगु सम्बन्धित सचेतनाका लागि आफूहरुसँग बजेट नभएको उल्लेख गरे । प्रदेशमा डेंगु रोग सम्बन्धि भरपर्दो सूचना प्रणाली समेत नभएको बताउँदै उनले प्रदेश सरकारबाट यसका लागि कुनै बजेटको व्यवस्था नभएको उल्लेख गरे । संघीय सकारबाट वार्षिक रुपमा डेंगु नियन्त्रण तथा रोकथामका लागि सचेतना तथा सूचनाका लागि बजेट व्यवस्था हुने गरे पनि उक्त बजेट समेत यो वर्ष आइनसकेको चौधरीले बताए । संघीय सरकारबाट आउने थोरै बजेटले पत्रपत्रिका तथा रेडियो टेलिभिजनका माध्यमबाट सचेतनाका कार्यक्रम हुने गरेको बताए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।