ताजा अपडेट »

१६ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता, नगद १० लाखसहित कसले चुम्ला उपाधि ?

विहीबार, २२ बैशाख २०७९, १७ : ४४
18 Shares

नेपाल ब्यायम मन्दिरको आयोजनामा वैशाख २३ र २४ गते १६ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको चर्चाले यतिबेला देश बिदेशमा रहेका नेपाली शारीरिक सुगठन खेलाडीहरु तातेको देखिन्छ। चर्चा हुनुपनि स्वाभाविक छ, किनकी यसपटक धर्मश्रीका विजेताले हालसम्म कै सर्वाधिक पुरस्कार राशी १० लाख नगद प्राप्त गर्नेछन्।

खेलकूद क्षेत्रमा व्यक्तिगत विधातर्फ यो नै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो। गत संस्करणमा विजेताको पुरस्कार राशी पाँच लाख रहेको थियो। त्यसो त धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा सहभागी भइ बिजेता बन्ने संसारको जुनसुकै देशमा रहेका नेपाली शारीरिक सुगठन खेलाडीहरुको सपना रहेको देखिन्छ । संगीतको तालमा नियमित व्यायामद्वारा सुगठित परिएका शरीरका मांसपेशीहरुलाइ कलात्मक ढंगमा प्रदर्शन गरिने खेल नै शारीरिक सुगठन खेल हो।

नेपालमा शारीरिक सुगठन खेलको शुरुवात गर्ने श्रेय प्रजातन्त्रका सेनानी तथा अमर सहिद धर्मभक्त माथेमालाइ जान्छ। शारीरिक सुगठन खेलको बिकासमा उनले पुर्याएको योगदानको कदर गर्दै नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरले वि.सं. २०४२ सालबाट उनको स्मृतिमा धर्मश्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता निरन्तर रुपमा आयोजना गर्दै आइरहेको छ। बि स २०५५ सालदेखि निरन्तर नेपाल व्यायाम मन्दिरको नेतृत्व गर्दै धर्मश्री प्रतियोगिताको गरिमालाई उचाइमा पु¥याउन वर्तमान अध्यक्ष नारायण प्रधानको महत्त्वपूर्ण योगदान रहेको अग्रज खेलाडी प्रतापकाजी बरिया बताउँछन् ।

धर्मश्री प्रतियोगिताको नामाकरण र प्रारम्भ कसरी भयो त ?
बि.सं. २०४१्४२ सालतिर श्रीलंकाको कोलोम्बोमा आयोजित २१औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै पहिलोपटक खेलाडी सरोजकुमार श्रेष्ठ सहभागीता जनाएका थिए। उनको मनमा बिदेशमा सँगालेको अनुभवकासाथै त्यहाँ खेलको भव्यता देखेर सोहि अनुसारको नेपालमा पनि प्रोफेसनल बडी बिल्डिङ्ग प्रतियोगिता गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी जाग्यो। नेपालमा त्यति बेलासम्म राष्ट्रिय खेलकुद परिषदले मात्र एमेच्योर बडी बिल्डिङ्गको राष्ट्रिय प्रतियोगिताको वार्षिक रुपमा आयोजना गर्थो। नेपाल व्यायाम मन्दिरका तत्कालिन अध्यक्ष समेत रहेका श्रेष्ठले राष्ट्रिय स्तरको प्रोफेसनल बडी बिल्डिङ्ग प्रतियोगिता आयोजनाको जोहो गर्न थाले।

पञ्चायती व्यवस्था चरम बिगबिगी रहेको उक्त बेला सामुलायिक क्षेत्रबाट राष्ट्रियस्तरको खेलकुद प्रतियोगिताको आयोजना गर्ने कुरा फलामको च्यूरा चपाए सरह कठिन थियो। प्रतियोगिताकालागि पटकपटक सरकारी अनुमति लिने प्रयासहरु विफल भएको श्रेष्ठ बताउँछन्। त्यहीबेला शहिद दिवसको औपचारिक कार्यक्रममा शहिद धर्मभक्त माथेमा सहित अन्य तीन अमर शहिदहरुका तस्बिर राखेर कार्यक्रम गरियो । जस्मा संयोगबश धर्मभक्तको सुगठित शरिर प्रदर्शन गरेको तस्विर परेछ। त्यसपछि सरोज लगायत नेपाल व्यायाम मन्दिरका अन्य साथीहरु सल्लाह गरे। शहिद धर्मभक्त माथेमा बडीबिल्डर पनि हुन्, उनको मुलुकको व्यवस्था परिवर्तनमा समेत अतुलनीय योगदान समेत रहेको छ।

उनकै नाममा प्रतियोगिताको आयोजना गर्दा देशकालागि जीवन उत्सर्ग गर्ने शहिद प्रति थप सम्मान पनि हुने र सरकारी अनुमति लिन पनि सहजता हुने भएकाले प्रतियोगिताको नाम धर्मश्री राख्ने तय गरिएको धर्मश्रीका प्रस्तावनाकार सरोजले बताए। शहीदलाई सम्बोधन गर्न शहीद स्मारक फुटबल लिग बि स २०११ सालदेखि आयोजना भएको थियो। तर, सम्मान स्वरुप शहीदको नामबाट नै नेपालमा खेल प्रतियोगिता आयोजना गरिने श्रेय भने धर्मश्री शारारिक सुगठन प्रतियोगितालाई नै जान्छ। विं.सं.२०४२ सालमा प्रथम पटक नेपाल व्यायाम मन्दिरबाटै अन्तरक्लब धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको जग हाल्ने कामको थालनी भएको देखिन्छ ।

पहिलो धर्मश्री प्रतियोगिता
वि.सं २०४२ साल जेष्ठ ३० गते आयोजित प्रथम धर्मश्री शारीरिक सुगठन प्रतियोगिता तिन तौल समूहमा मात्रै प्रतिस्पर्धा गराएर विजेता छानिएको थियो। प्रतियोगिता आयोजना गर्दा रकमको अभावले टोलमा नाटक गर्दा प्रयोग गरिने ड्रम र बाँसको सहायताले स्टेज तयार परिएको सरोज श्रेष्ठ संझन्छन। धर्मश्री प्रतियोगिता अन्तरक्लब स्तरियप्रतियोगिता भएको हुँदा राष्ट्रियस्तरका प्रतियोगिताहरुमा स्वर्ण र रजत पदक प्राप्त गर्ने खेलाडीलाई सहभागी हुनबाट बन्देज लगाइएको थियो । सो प्रतियोगितामा ज्ञानेन्द्र नकर्मी र किरण राजभण्डारी लगायतका खेलाडी बिजेता बनेका थिए । त्यस प्रतियोगितामा बासु श्रेष्ठ, सुशिल खड्का, सुदर्शन मान सिंह लगायतका खेलाडीहरु सहभागी भएका थिए ।

दोश्रो धर्मश्री प्रतियोगिता
पुर्व सहमती बमोजिम राजधानीका अन्य हेल्थ क्लबहरुले संचालन गर्नका लागि तयार नभएपछि पुनः वि.सं २०४३ सालको दोश्रो अन्तरक्लब धर्मश्री शारीरिक सुगठन प्रतियोगिता पनि नेपाल व्यायाम मन्दिरले नै आयोजनामा गर्यो। जस्मा राजन कुमार श्रेष्ठ, दिनेश राजभण्डारी र ज्ञानेन्द्र नकर्मी लगायतका खेलाडी बिजेता भएका थिए। त्यस प्रतियोगितामा शैलेश के शी, भुषण डंगोल, डिल्ली खड्की, बिजय मानान्धर, पुर्ण चन्द्रराइ, बिकास प्रधान, सुर्य मानान्धर र चन्द्र सुब्बा लगायतका खेलाडीहरु सहभागी भएका थिए ।

तेश्रो धर्मश्री प्रतियोगिता
दोश्रो अन्तरक्लब धर्मश्री शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भएपछि लामो यस प्रतियोगिताले निरन्तरता पाउन सकेन । २०४८ साल तिर ज्ञानेन्द्र नकर्मीको नेतृत्वमा नेपाल व्यायाम मन्दिरको नयाँ कमिटी गठन गरियो ।नवगठित कमिटीको पहलमा विं.सं. २०५० सालमा तेश्रो संस्करण धर्मश्रीको आयोजना भयो। यसै संस्करणबाट खुल्ला रुपमा सबै तौल समूहका विजेता खेलाडीहरु बीच प्रतिस्पर्धा गराएर धर्मश्रीको विजेता चुनिँदै आएको छ। यहि साल देखि बिजेता खेलाडीलाइ १५ हजार नगद पुरस्कार दिन थालियो, जुन बि स २०५४ सालसम्म यथावत रह्यो।रविन्शन शाक्यले २०५० सालमा भएको तेश्रो अन्तरक्लब धर्मश्री शारीरिक सुगठन प्रतियोगिता उपाधि चुम्न सफल भएका थिए। उपाधिसँगै उनले दश हजार नगद प्राप्त गरेका थिए ।

चौथो धर्मश्री प्रतियोगिता
सागर ताम्राकारले विं.सं. २०५३ सालमा भएको चौथो धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको बिजेता बनेका थिए। ललितपुर मंगलबजार निवासी सागरले ७५ केजी तौल समूहमा प्रथम हुँदै उपाधि चुमेका थिए। २०५३ सालमा भएको चौथो धर्मश्री अन्तरक्लब धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा उनलाई उपाधिसंगै १५ हजार नगद पुरस्कार दिने घोषणा गरियो । तर उक्त पुरस्कार रकमपछि उनले दुई किस्तामा गरेर बुझेको सागर बताउँछन्।

पाँचौ धर्मश्री प्रतियोगिता
२०५४ सालमा भएको नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको पाँचौ धर्मश्री अन्तरक्लब धर्मश्री शारीरिक सुगठन प्रतियोगिता ७० केजी तौल समूहमा प्रथम स्थान प्राप्त गर्दै लालबहादुर गुरुङले उपाधि जितेका थिए । सो प्रतियोगितामा १० जिल्लाबाट ५३ जना सहभागी भएका थिए।प्रत्येक बजन समूहबाट १/१ जना गरि ६ जना विजेताहरूको अन्तिम चरणका लागि छनोट गरियो ।

जसमध्ये ५५ केजी तौल समूहमा सचित प्रधान, ६० केजी तौल समूहमा बिरु महर्जन, ६५ केजी तौल समूहमा प्रकास प्रजापति, ७० केजी तौल समूहमालालबहादुर गुरुङ, ७५ केजी तौल समूहमा सुदर्शन डंगोल र ७५ केजी भन्दा माथि तौल सम्ममा नरेश महर्जन छनौट भएका थिए। अन्तिम प्रतिस्पर्धामा सबै प्रतिस्पर्धीलाई पछि पार्दै लालबहादुर गुरुङ पाँचौं धर्मश्रीको उपाधि उचाल्न सफल भए।उनले उपाधिसँगै १५ हजार नगद पुरस्कार समेत प्राप्त गरे।दोस्रो भएका बिरु महर्जनले ८ हजार र तेस्रो सचित प्रधानले ५ हजार नगद प्राप्त गरे।

छैठौं धर्मश्री प्रतियोगिता
वि.सं. २०५५ को छैठौं संस्करणदेखि धर्मश्री प्रतियोगितालाइ खुल्ला राष्ट्रिय स्तरमा स्तरोन्नती गरियो। त्यसपछि राष्ट्रिय प्रतियोगितामा स्वर्ण र रजत पदक प्राप्त गर्ने खेलाडीलाई समेत सहभागी हुन पाउने नियम लागू गरियो । कपिलबस्तु निवासी जीवन गिरिले छैटांै धर्मश्री खुल्ला राष्ट्रव्यापी शारीरिक सुगठनमा आफ्नो वजन समुहमा विजयी हुँदै उपाधि समेत चुम्न सफल भए । विजेता भए बापत उपाधिसँगै नगद ३० हजार पुरस्कार पाएको उनले सुनाए।

सातौं र नवौं धर्मश्री प्रतियोगिता
वि.सं. २०५७ सालमा भएको सातौं र २०५९ मा भएको नवौं राष्ट्रव्यापी धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि नरेश महर्जनले चुमे । उनले उपाधीसँगै नगद ५० हजार समेत हात पारेका थिए ।

ठौं धर्मश्री प्रतियोगिता
वि.सं. २०५८ सालमा भएको सातौं राष्ट्रव्यापी धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि हरीस श्रेष्ठले जितेका थिए। नृत्यका औधी सौखिन हरिश प्रतियोगिताहरुको म्यूजिकल राउण्डमा उनको नृत्यशैलीमा गरिने प्रस्तुतीले खेल हेर्न आएका दर्शक मात्र होइन उनका प्रतिष्पर्धीहरु र निर्णायकहरु समेत दङ्ग पर्ने गरेको अग्रज रमेशनाथ खनाल बताउँछन् ।

दशौं र एघारौं धर्मश्री प्रतियोगिता
वि.सं. २०६२ सालमा सानू गुरुङ व्यायाम मन्दिरद्वारा आयोजित दशौं धर्मश्री खुल्ला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधिसँगै नगद पुरस्कार एक लाख हात पार्न सफल भए।सोही प्रतियोगितामा उपविजेताहरु क्रमशः दोस्रो भएका राम दाहालले ५० हजार, तेस्रो श्याम श्रेष्ठले ४० हजार, चौथो सचित प्रधानले ३० हजार, पाँचौ हरिश श्रेष्ठले २५ हजार र छैटौं अनिल श्रेष्ठले २० हजार प्राप्त गरेको थिए । सोही प्रतियोगिताको एघारौं संस्करणम २०६४ सालमा पुनः सानु विजेता बनेर लगातार दुई पटक धर्मश्री उपाधि जित्ने पहिलो खेलाडी बन्ने इतिहास रचे। यधपी नरेश महर्जनले सातौँ र नवौ संस्करण धर्मश्री जितेका थिए।

बाह्रौं धर्मश्री प्रतियोगिता
वि.सं. २०६८ सालमा नेपाल व्यायाम मन्दिरद्वारा आयोजित बाह्रौ धर्मश्री खुल्ला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको विजेता लोकेन्द्र परियार बने। ७५ केजी तौल भन्दा माथिको समुहबाट खेलेका लोकेन्द्रले आफ्नो समूहमा स्वर्ण पदक विजेता बन्दै अन्तिम प्रतिष्पर्धामा उपाधि कब्जा गर्न सफल भए। विजेता भएका उनले उपाधिसहित नगद पुरस्कार १ लाख ५० हजार हात पारे। ६५ केजीबाट अन्तिम चरणमा सहभागी बनेका श्याम श्रेष्ठले उपविजेता हुदै ७५ हजार तथा ६० के जी मा सचित प्रधानले तृतिय हुँदै ५० हजार नगद प्राप्त गरेका थिए।

तेह्रौं धर्मश्री प्रतियोगिता
वि.सं. २०७१ सालमा भएको १३औं धर्मश्रीमा राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि महेश्वर महर्जनले जितेका थिए। उनि ७५ केजी तौलबाट विजेता हुँदै उपाधि चुम्न सफल भएका थिए ।उपाधिसंगै महेश्वरले २ लाख नगद पुरस्कार हात पारे । फाइनल चरणमा रामबहादुर दाहाल दोश्रो, अर्जुन वर्णवाल तेश्रो, ज्ञाननारायण महर्जन चौथो, सचित प्रधान पाँचौं र रुजेश शाही छैटौं भए । उनीहरुले क्रमशः १ लाख, ७५ हजार, ६० हजार, ५० हजार र ४० हजार नगद पुरस्कार पाए ।

चौधौ धर्मश्री प्रतियोगिता
चौधौं धर्मश्रीको उपाधि अर्जुन बर्णवालले जितेका थिए। ८० केजी तौल समूहका विजेता समेत रहेका अर्जुनले उपाधि, ब्यानेट सहित अर्जुनले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए। कडा प्रतिस्पर्धामा दोश्रो भएका महेश्वर महर्जनले २ लाख रुपैयाँ प्राप्त गरेका थिए। ७५ केजी तौल समूहका विजेता उमेर राई समग्रमा तेस्रो भएको थिए। उनले १ लाख प्राप्त गरे। ७० केजी तौल समूहको विजेता रामहरी खनाल चौथो भएका थिए। ६५ केजीका विजेता रामबहादुर दाहाल पाँचौं, संजीव कुमार श्रेष्ठ (६० केजी) छैटौं र रत्नश्री पोखराका कमल भन्डारी (५५ केजी) सातौं भएका थिए। रामहरीले ८०, रामबहादुरले ७५, सञ्जिवले ६० र कमलले ५० हजार रुपैयाँ प्राप्त गरेका थिए।

पन्धौं धर्मश्री प्रतियोगिता
वि.सं. २०७५ सालमा नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको पध्रौं धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि मिलन बिक्रम सिजापतिले हात पारेका थिए । प्रतियोगिता अन्तर्गत ८० केजीभन्दा माथिको तौल तौल समूहमा प्रतिष्पर्धा गरेका मिलन समूहको विजेता बनेर फाइनल प्रवेश गरेका थिए।फाइनलमा मिलनले ६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिसँगै मिलनले पाँच लाख रुपैयाँ हात पारे ।त्यस्तै महेश महर्जन द्वितीय भए भने रामबहादुर दाहालले तेस्रो स्थान हात पारे ।

यसैगरी प्रवेश श्रेष्ठ चौथो, सञ्जीव श्रेष्ठ पाँचौं, आशिष देवाजु छैटौं र सुरेश खत्री सातौं भएका थिए। उनीहरुले क्रमशः २ लाख, १ लाख, ९० हजार, ८० हजार, ७५ हजार र ६० हजार रुपैयाँ प्राप्त गरेका थिए। समूह विजेताले ३० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गरेका थिए। प्रत्येक नेपाली शारीरिक सुगठन खेलाडीको सपना रहेको धर्मश्री शारीरिक सुगठन प्रतियोगिता हालसम्म निरन्तर रुपमा सञ्चालन हुँदै आएको छ ।

तर, गत दुई वर्ष भने कोभिड महामारीका कारण प्रतियोगिता सञ्चालन गर्न नसकिएको आयोजक संस्थाका अध्यक्ष नारायण प्रधान बताउँछन् । दश हजार पुरस्कार राशीदेखि प्रारम्भ हुँदै १० लाख नगद पुर्याउन अहोरात्र खटिएका प्रधान यस पटकको धर्मश्री प्रतियोगितालाइ ऐतिहासिक बनाउदै आफ्नो सम्पुर्ण टेली परिचालन गर्दै आफ्नो कुशल नेतृत्व क्षमताको पुनर्पुष्टी गर्दैछन् ।

नारायण प्रधान
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार