ताजा अपडेट »

गठबन्धनमा अघिल्लो निर्वाचनको मतको आधारमा सिट बाँडफाँट मान्य हुँदैन: डा.भट्टराई

सोमबार, २१ चैत्र २०७८, २० : ५९
6 Shares


बुटवल । संविधान र व्यवस्था बचाउन गठबन्धन गरेको जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् ।  गठबन्धनमा आवद्ध दलहरुबीच ०७४ सालको मतका आधारमा स्थानीय चुनावको सिट बाँडफाँट गर्नु आफ्नो दललाई मान्य नहुने बताएका छन् ।

रुपन्देहीको शुद्धोधनमा सोमबार आयोजित पार्टी प्रवेश एवं आमसभालाई सम्बोधन गर्दै डा. भट्टराईले भने ‘संविधान र व्यवस्था बचाउन गठबन्धन गरेका हौं । सम्मानजनक सिट दिए मानिन्छ, बेइमानी, हेप्ने र चेप्ने काम भयो भने विकल्प सोच्छौं ।'

साथै उनले आफ्नो पार्टी देशलाई विकल्प दिने गरी भर्खरै बनेको भविष्यमुखी पार्टी भएकाले ०७४ सालको मतको कुरा स्वीकार्य नहुने बताए ।नेता भट्टराईले पुराना दल र नेताहरुबाट देश विकास सम्भव नभएको तर्क गर्दै नयाँ परिणामका लागि वैकल्पिक पार्टीलाई रोज्न पनि आग्रह गरेका थिए । पुराना दलहरु राजनीतिक व्यापारी र ठग भएको आरोप लगाउँदै भट्टराईले आफ्नो दल राजनीतिक व्यापारी र ठग नभएको दाबी गरे ।

यस्तै पुराना दलहरुले चुनाव जितेर आफ्ना मान्छेलाई ठेक्का दिने र भ्रष्टाचार मात्रै गरेर मुठ्ठीभर नेता मात्रै धनी भएको उनको टिप्पणी थियो । त्यसैले अबको चुनावमा जनताले विकल्प खोज्नुपर्ने उनको आह्वान थियो । कार्यक्रममा कांग्रेसका पूर्व महासमिति सदस्य भारथरी यादव, माओवादी केन्द्रका बौद्धिक नेता पोलिन्द्र पटेललगायत ३ सय बढी नेता तथा कार्यकर्ताहरू जसपा प्रदेश गरेको युवा नेता बिमल गिरीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।