ताजा अपडेट »

स्वाधिन कृषि उद्योगद्वारा सार्वजनिक सुनुवाई

सोमबार, २१ चैत्र २०७८, १५ : ५६
6 Shares

बुटवल । बुटवल १५ सेमलारमा रहेको स्वाधिन कृषि उद्योगले सोमबार स्वच्छ दूध उत्पादनको लागि व्यवसायिक गाई पलानको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । नेपाल लाईभस्टक सेक्टर इनोभेसनको आयोजनामा उत्पादनमूलक गठबन्धनमा आधारित पुरक अनुदान सहयोग कार्यक्रम कार्यान्वयनका लागि सार्वजनिक सुनुवाई गरेको हो ।

२०७४ सालमा दर्ता भएको स्वाधिनले घाँसमा आधारित गाई भैसी पालन गर्दै आएको छ । उद्योगले संघीय सरकारद्धारा प्रदान गर्ने स्वच्छ दूध उत्पादनको लागि अनुदानमा आवेदन दिएर छनौट भएकाले अनुदान कार्यक्रम कार्यान्वयनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । बुटवल उपमहानगरपालिका वडा न. १८ का वडाअध्यक्ष डम्बर भण्डारीले अब राजनीति उत्पादनसँग नजोड्ने हो भने त्यसले भविष्यमा ठूलो संकट निम्त्याउने बताए । उनले महिला उद्यमीले गाई तथा भैसी पालन गरेर उदाहरणीय काम गरेको भन्दै अनुदानले थप सहयोग गर्ने बताए ।

उक्त अवसरमा लुम्बिनी प्रदेश सरकार कृषि खाद्य प्रविधि भूमि व्यवस्था मन्त्रालयका पशुमहाशाखाका पशु चिकित्सक लोकराज भुसालले अब घाँसमा आधारित पशुपालन गर्नुपर्ने खाँचो औल्याए । उनले नेपाल लाईभस्टक सेक्टर इनोभेसनको अनुदानले उत्पादित दूधको विक्रिको समेत ग्यारेन्टी गरेको बताए । उनले संघीय सरकार मातहतको अनुदान भएपनि यसको कार्यान्वयनबारे प्रदेश सरकारले नियमन गर्ने बताए । ४९ लाख ३८ हजार मध्ये २४ लाख ६९ हजार रुपैयाँ अनुदान वापत उद्योगले प्राप्त गर्ने उद्योगका सञ्चालक एंव उपआयोजना संयोजक धनुकुमारी सिटौलाले जानकारी दिईन ।

गाईगोठ निर्माण गर्ने, गोदाम निर्माण, कम्पोष्ट पिट, घाँस उत्पादन र केहि उपकरण खरिद गर्ने गरि अनुदानमा परेको उद्योगका कर्मचारी खुमानन्द भुसालले जानकारी दिए । विभिन्न सहकारी क्षेत्रका व्यक्ति, स्थानीयहरुको सहभागिता रहेको कार्यक्रममा उद्योगका सञ्चालक विष्णु प्रसाद भुसालले स्वागत गरेका थिए । आफ्नो र विभिन्न व्यक्तिहरुको गरि करिव ३.५ विगाहा क्षेत्रफलमा फैलिएको जग्गा भाडामा लिएर पशु फार्म सञ्चालन गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।