ताजा अपडेट »

प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि इटहरीका प्रसाईँले दिए जग्गा

सोमबार, २१ चैत्र २०७८, १५ : १२
4 Shares

इटहरी । नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि कांग्रेस नेता, इटहरी निवासी रोहित प्रसाईँले जग्गा दिएका छन् । सोमबार (आज) बिहान एक कार्यक्रमकाबीच प्रसाईँले जग्गाको धनीपूर्जा हस्तान्तरण गरेका छन् ।

प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारीलाई उनले जग्गाको धनीपूर्जा हस्तान्तरण गरे। धनीपूर्जा हस्तान्तरणपछि कार्यक्रममा बोल्दै कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका प्रसाईँले भने, ‘प्रेस युनियनका अध्यक्षले हाम्रा गतिविधि हाम्रै भवनमा सञ्चालन गर्छौँ भनेका कारण सहयोग गरिदिनुहोस् भनेर भनेकाले मैले बोलेको हुँ ।’

उनले भवन निर्माणको काम तुरुन्तै अगाडि बढाएर चाँडै निर्माण गरिसक्नुपर्ने बताए। आफूले मन जितेर जग्गा दिएका कारण चाँडै भवन निर्माण गर्न सुझाव दिए । एक फरक प्रसंगमा बोल्दै उनले नेपाली कांग्रेसलाई तीनै तहमा निर्वाचित गराएको खण्डमा विकास निर्माणका कामले तीव्रता पाउने बताए । ‘आगामी निर्वाचनमा पार्टीबाट जुनसुकै उमेद्वार आएपनि नेपाली कांग्रेसलाई विजयी गराऔँ,’ उनले भने, ‘ पत्रकारिता क्षेत्र जनतालाई सुसूचित गर्ने क्षेत्र भएकाले यहाँका गतिविधि आम मानिसले थाहा पाउनुपर्नेगरी पत्रकारहरूले काम गरिरहेकाले खुशी पनि लागेको छ ।’

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले देशका ७७ जिल्लामध्ये चितवनमा मात्रै युनियनको भवन रहेकाले अब सुनसरीमा भवन निर्माण हुने बताए । उनले भने, ‘नक्सा बनाउने काम भइरहेको छ, दुईवर्षभित्रमा भवन सक्नेगरी काम सुरु गर्छौँ ।’ उनका अनुसार नेपाली कांग्रेस इटहरीका मेयरका प्रत्याशी समेत रहेका प्रसाईँले इटहरी १७ स्थित पूर्व–पश्चिमा राजमार्गको मुख्य हाइवेमा साढे ६ धूर जग्गा प्रदान गरेका हुन् ।

साथै सोही कार्यक्रमको अवसरमा भवन निर्माणका लागि होटल व्यवसायी संघ इटहरीको तर्फबाट अध्यक्ष जीवन पराजुलीले २५ बोरा सिमेन्ट, उवासंघ इटहरीका सदस्य नवराज काफ्लेले ५१ हजार बराबरको इट्टा, रोटरी क्लबकी अध्यक्ष सबिना कोइराला (शोभा) ले २१ हजार नगद, कांग्रेस नेता श्याम रिजाल र गोकुल प्रसाईँले २५–२५ बोरा सिमेन्ट सहयोग गर्ने घोषणा गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।