ताजा अपडेट »

विश्वको सर्वाधिक लामो यात्रुवाहक उडान, सिड्नीमा अवतरण

आइतबार, ०३ कार्तिक २०७६, १४ : ४४
4 Shares

कार्तिक ३,

सिड्नी । करिब १९ घण्टाको सिधा उडानपछि क्वान्टासको यात्रुवाहक विमान न्यूयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ ।  यो विश्वकै सर्वाधिक लामो सिधा उडान रहेको क्वान्टासले जनाएको छ । क्वान्टासको फ्लाइट नम्बर क्यूएफ ७८७९ को विमानलाई न्यूयोर्कबाट सिड्नी पुग्न १९ घण्टा १६ मिनेट लागेको थियो ।  अस्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टासले यसअघि लन्डनदेखि सिड्नीको सिधा उडान पनि परीक्षण गरिसकेको छ । क्वान्टासले पछिल्लो समय संयुक्तराज्य अमेरिका र बेलायतबाट सिधा उडान गर्ने महत्वाकाँक्षी योजना अघि सारेको छ ।

न्यूयोर्कबाट सिड्नीको पहिलो उडानमा ४९ जना मात्र यात्रु थिए । यो विमानले तेल पुनः भरण नगरी १६ हजार किलोमिटरभन्दा बढीको यात्रा तय गरेको थियो । क्वान्टासका प्रमुख कार्यकारी अधिकृत अलान जोयसले यो उडान हवाई कम्पनी र विश्व हवाई यात्राका दृष्टिले निकै ऐतिहासिक क्षण रहेको बताए । लामो दूरीको यात्रामा जेटल्याग (बिरामीपन) हुने खतरा कम गर्न क्वान्टासले दुई वटा अस्ट्रेलियाली विश्वविद्यालयसँग मिलेर अध्ययन गरिरहेको छ । यात्रुहरुले अस्ट्रेलियाली आकाशतर्फ आइपुग्दा आफ्नो घडीमा सिड्नीको समय मिलाएका र खानेकुरा पनि अस्ट्रेलियाली लिएको विमान कम्पनीले जनाएको छ । क्वान्टासले गत वर्ष अस्ट्रेलियाको पर्थबाट लन्डनको सिधा उडान शुरु गरेको थियो । यो उडान करिब १७ घण्टाको छ, र विश्वमै लामो दूरीको उडानमध्ये यो एक हो । - एएफपी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।