ताजा अपडेट »

जीवनमा के कमाउने ?

आइतबार, १४ कार्तिक २०७८, १८ : ३०
36 Shares

मानवको जैविकिय उद्विकासको क्रममा ढुगें युगको समाप्ति पछि कृषि युगमा प्रवेश गरेदेखि नै मानिसमा कमाउने प्रणालीको विकास भएको पाईन्छ । तत्कालिन समयमा विपक्षी समूह र जंगली जनावरबाट बच्ने शक्ति कमाउनुलाई प्रमुख मानिन्थ्यो । प्राचिन सयमदेखी नै कमाउन लागेको मानव समुदाय विज्ञान र प्रविधिको विकास उत्कर्षमा पुगेको वर्तमान २१ औं शताब्दीमा समेत जीवनमा खास के कमाउनु पर्दछ ? भन्ने प्रश्नको उत्तर भेटाउन सकिरहेको छैन । जसका कारणले गर्दा होला उ दिनरात नभनी निरन्तर कर्ममा लागिरहेको छ । यद्धपी उसले यति मिहिनेत गर्दा पनि यो प्रश्नको उत्तर प्राप्ति नगरिकनै आफ्नो मानविय रुप परिवर्तन गरेर परमधाम अथार्त धनि र गरिब , दुःखी र खुसी दुवैको अन्तिम तर, पिय्र घरमा पुग्ने गर्दछ।

विगतदेखि वर्तमानसम्म मानवीय जीवनमा के कमाउनु पर्दछ भन्ने विषयमा संसारका कुनैपनि विश्वविद्यालयका औपचारिक पाठ्यक्रमले समेत ठोस रुपमा पढाउन तथा बुझाउन सकिरहेका छैनन् । विश्वमा मानवलाई नैतिक अनुशासनमा राख्नका लागी तयार गरिएका अनुशासनका दस्ताबेज हुन् वा कुनैपनि धार्मिक ग्रहन्थ जसले जीवनमा एक मात्रै चिज किटान गरी यहि कमाउ भन्न सकिरहेका छन् । मानव जीवनमा के कमाउने ? भन्ने कुरा मानिसको आफ्नो स्वभाव, व्यवहार, उमेर, महत्वकाच्छाँ तथा उसको आवश्यकताको विषयले निर्धारण गर्दछ । साथै देशको सामाजिक, आर्थिक, सांस्कृतीक, पर्यावरणीय अवस्था तथा परिवेशले पनि मानिसलाई जीवनमा के कमाउने भन्ने कुराहरुको निक्र्यौल गर्दछ ।

विकसित देशका नागरिकहरुले आफ्नो जीवनमा सामाजिक कल्याणलाई बढाउन चाहन्छ । त्यसैगरी विकासोन्मुख देशहरुका नागरिकहरुले आफ्नो जीवनको मुख्य उद्देश्य पैसा कमाउने राखेका हुन्छन् । किनकी ति देशका नागरिकहरुले आफ्नो जीवनस्तर सुधार ल्याउनको लागी अनिवार्य सर्तका रुपमा आफुहरुमा रहेको गरिबी न्यूनीकरणलाई बुझेका हुन्छन् । जीवनमा प्रायः सबै मानिसहरुले पैसाँ आर्जन गर्न चाहन्छन । किनकी यसका माध्यबाट उसले आफ्नो परिवार वा सन्तानलाई बदलिदो विश्व परिवेश अनुसारको जीवनशैलीमा बचाउन र चलाउन सक्षमता प्राप्ति गर्दछ । पैसाकै माध्यबाट उच्चस्तरीय शिक्षा , गुणस्तरीय स्वास्थ्य सुविधा प्राप्त गर्न र प्रदान गर्न सकिन्छ । अर्थशास्त्री एडम स्मिथले मानिसले आफ्नो जीवनको पहिलो प्राथकिता भित्र धन कमाउनुलाई राखेर अगाडि बढ्ने गर्दछ भनेर चित्रण गरेका छन् ।

वर्तमान समयमा विज्ञान र प्रविधिले विकसित गरेका सम्पूर्ण सुविधाहरुको उपयोगका लागी पनि धनको आवश्यकता पर्ने भएकोले अधिकांश मानिसले धन कमाउन चाहन्छन । वास्तवमा धन के ? कति ? कमाएपछि मानिसलाई पुग्ने गर्दछ भन्ने बारेमा ठोस जानकारी अहिलेसम्म संसारमा पढिने कुनै पनि विषयले बताउन सकिरहेका छैन । अर्थशास्त्री रबिन्सका अनुसार सिमीत स्रोत साधनको वैकल्पिक प्रयोग गरी आफ्ना आवश्यकताहरु कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा ज्ञान प्राप्ती गर्नु नै जीवनको ठूलो कमाई हो । वर्तमान समयमा युवापुस्ताले सबैको ध्यान आफुमा केन्द्रीकृत गराउने अत्यन्तै महत्वकांक्षी सपना पुरा गर्ने चाहना राख्ने गर्दछ । जुन उसको जीवनको महत्वपूर्ण उपलब्धिका रुपमा दर्ज होस् भन्ने गरी तर उ मिहिनेत र काममा साधना र निरन्तरता दिन चाहँदैन । यसकारण जीवनमा कमाउनु पर्ने महत्वपूर्ण चिज धैर्यता र इमान्दारीता सहितको मिहिनेत पनि हो।

महान विचारक कन्फ्यूसियसले भनेका छन्‘जीवनमा यस्तो कुरा आफ्नो कमाइका रुपमा स्वीकार गर जसमा तिम्रो पसिना भिजेको छ र त्यसलाई भावी पुस्ताले आफ्नो आर्दशका रुपमा स्वीकार गरोस् । प्राय सबै मानिसले आफ्नो जीवनमा यस्तै कमाईको आसा राखेर अगाडि बढेका हुँदैन । किनकी यो अत्यन्तै जटिल र संर्घषपूर्ण रहने गर्दछ । मानविय चोला प्रकृतीको एक अमूल्य उपहार हो । त्यसकारण जीवनमा आफ्नो मनमा मात्रै शान्ति र खुसी होईन सारा प्राणीको जीवनमा शान्ति ल्याउने कुरा कमाउनु पर्दछ । आफ्नो जीवनमा इमानदारीता कायम राख्दै हामी जुन कुरा कमाउन सक्षम छौं त्यही कुरा नै कमाउनु पर्दछ । आफ्ना ज्ञानेन्द्रीयहरुलाई आफ्नो मन र मस्तिष्कको सहि समायोजन गराएर जुन कुरा कमाउन सकिन्छ वास्तविक कमाइ त्यही नै हो ।

मानिसले आफ्नो जीवनमा कमाउनु पर्ने मुख्य कुराहरुमा : संघर्ष गर्न सिक्नु ,इमानदारिता , संस्कार , आफ्नो आस्था र संस्कृतिप्रतिको प्रेम, आधारभूत आवश्यकता पूरा गर्ने धन, असल जीवनसाथी , सफा मन, असल चरित्र, विश्ववन्धुत्वको भावना , सहयोगी मित्र,आदि कुराहरु प्रमुख रुपमा कमाउन सकेको अवस्थामा मानिसले आफ्नो जीवनमा कुनैपनि कुराको अभाव भोग्नु पर्दैन । विभिन्न किसिमका धर्म संस्कृतिहरुले पनि माथि उल्लेखित कुराहरु नै मानविय जीवनका कमाई बन्नु पर्दछ भन्ने कुरामा नै जोड दिएको पाईन्छ । जुन कुरासँग हाम्रो जीवनको वास्तविकतासँग समेत पूर्ण रुपमा मिल्ने गर्दछ । हाम्रो जीवनशैली र व्यक्तित्वलाई समाजका अन्य मानिसले समेत सकारात्मक रुपमा आत्मसाथ गर्ने बनाउन सक्नु नै सबै भन्दा ठूलो कमाई हो । जसलाई अंक गणितले समेत मापन गर्न सकिदैन्।

अन्त्यमा,हाम्रो मानविय जीवनमा हामीलाई कसले यो सुन्दर संसारमा जन्म दिने र अन्त्यमा कसले बिदाई गर्ने भन्नेमा कुनै पूर्वनिर्धारित कार्यतालिका नभएकोले गर्दा पनि हामीले आफुमा रहेका हरेक प्रकार क्रोध , ईष्या, रिस जस्ता नकारात्मक पक्षहरुलाई त्यागेर इमान,प्रतिष्ठा र सहितको सकारात्मक सोच र व्यवहार कमाउनु पर्दछ । जसले गर्दा अकस्मात सबैको प्रिय अन्तिम तथा साझा घरमा पुराउने मानिसको संख्या अंकमा व्यक्त गर्न नसकी अनुमान मात्रै गर्न सकियोस् । अस्तु , धन्यवाद ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।