ताजा अपडेट »

तिहार आयो, पाइन्छ त फूल ?

शनिबार, १३ कार्तिक २०७८, ०६ : ३४
10 Shares

काठमाडौ । तिहार आउने क्रम शुरू हुँदैछ । जलवायु परिवर्तनका कारण आएको अस्वाभाविक वर्षाले धानबाली तथा अन्य बिरुवामा गम्भीर क्षति पुर्‍याए पनि तिहारमा अत्यधिक चाहिने सयपत्री, मखमली फूलहरूको अभाव भने नहुने भएको छ ।मुलुक सयपत्री फूलमा आत्मनिर्भर हुँदै गएकाले पनि तिहारमा सयपत्री फूलको मालाको अभाव नहुने देखिएको हो ।

पछिल्लो समय किसानले सयपत्री फूललाई व्यावसायिक रूपमा खेती गर्न थालेपछि सयपत्री फूलमा मुलुक आत्मनिर्भर हँुदै गएको छ । फ्लोरिकल्चर एसोसिसन नेपालका महासचिव विश्वमणि पोखरेलले मागअनुसार ९० प्रतिशत सयपत्री फूल स्वदेशमै उत्पादन हुने गरेको बताए । उनले धेरै फूल नेपालमै उपलब्ध हुने भए पनि स्थानीय बजारको माग धान्न तिहारको समयमा मात्रै १० प्रतिशत फूल भारतबाट आयात गर्ने गरिएको बताए ।

फूल व्यवसाय गर्ने कृषकलाई सरकारले बीउबिजन, फूल राख्ने मलहरूमा प्रभावकारी रूपमा सहयोग गरे आउने २/४ वर्षभित्रमा नेपाल फूलमा शतप्रतिशत आत्मनिर्भर हुन सक्ने महासचिव पोखरेलको भनाइ छ । उनले हरेक वर्ष १५ प्रतिशतका दरले फूलको माग बढ्दै गएको बताए ।

‘पछिल्लो समय फूल व्यवसाय गर्ने कृषक बढ्दै गएको भए पनि माग पनि बढ्दै जाँदा पूर्णरूपमा माग आपूर्ति गर्न सकेका छैनांै,’ उनले भने । यसपटक पानीले धेरै फूल खेतीमा असर पारेको हुँदा आन्तरिक उत्पादनले बजारको माग धान्न नसक्ने भएपछि भारतबाट २ लाख ३२ हजार सयपत्री फूलको माला आयात गर्नुपर्ने बाध्यता रहेको उनले जनाए ।

गत वर्ष १ लाख ५३ हजार सयपत्री फूलको माला आयात गर्नुपरेको थियो । गत हप्ता आएको अविरल वर्षाका कारण तराई क्षेत्रमा लगाएको फूल खेतीमा करीब ४० प्रतिशत क्षति भएको छ । त्यसकारण पनि भारतबाट गत वर्षभन्दा केही धेरै माला आयात गर्नुपरेको हो । महासचिव पोखरेलले कोरोनाका कारण पनि फूल व्यवसायमा ठूलो असर परेको बताए ।

कोरोनाका कारण १५ प्रतिशत व्यवसायीले खेती नगरेर त्यसै बसेको उनको भनाइ छ । उनले कोरोनाको असर नभएको भए यो वर्षमा ३ अर्बभन्दा बढीको फूलको कारोबार गर्ने लक्ष्य राखिएको बताए ।

विगतका वर्षहरूमा ठूलो परिमाणमा भारतबाट सयपत्री फूल माला आयात गरिन्थ्यो तर अहिले त्यो क्रम निकै घटेको व्यवसायीले बताएका छन् । तिहारको समयमा स्थानीय बजारमा ठूलो माग हुने हुँदा र चिसो समयमा नेपालमा धेरै फूल उत्पादन नहुने हुँदा भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । नेपालमा ६० प्रतिशत सयपत्री फूलको प्रयोग हुने गरेको छ ।प्लोरिकल्चर एसोसिसन नेपालका अनुसार यस वर्षको तिहारमा साढे १८ लाख फूल मालाको माग रहने अनुमान गरिएको छ ।

एसोसिसनका अध्यक्ष मीनबहादुर तामाङले देशका विभिन्न ठूला सहरमा मात्र फूलको कारोबार हुने गरेको बताए । उनले यो वर्षको तिहारमा १८ लाख ६५ हजार मालाको खपत हुने अनुमान गरिएको जनाए । अध्यक्ष तामाङले ६० प्रतिशत फूलको माला काठमाडौंमा मात्रै खपत हुने बताए । गत वर्ष स्थानीय बजारमा मालाको १७ लाख ५० हजार माग थियो भने यस वर्ष बढेर १८ लाख ६५ हजार पुग्ने अनुमान गरिएको छ ।

अध्यक्ष तामाङका अनुसार यस वर्षको तिहारमा मखमली फूलको मालाको औसत थोक मूल्य ३५ रुपैयाँ, सयपत्री फूलको मालाको औसत थोक मूल्य ५५ देखि ६० रुपैयाँ पर्नेछ । खुद्रा मूल्य मखमलीको ४० देखि ४५ र सयपत्री फूलको मालाको मूल्य ७० देखि ८० रुपैयाँसम्म पर्ने अध्यक्ष तामाङले बताए । तामाङले तिहारको पाँच दिनमा १० करोड ९ लाख रुपैयाँको फूल मालाको कारोबार हुने अनुमान गरिएको जनाए ।

फ्लोरिकल्चर एसोसिसन नेपालका अनुसार सयपत्री फूलको व्यावसायिक उत्पादन काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिराहा, रुपन्देही, कास्की, स्याङजा, बाँके, पाल्पा, तनहुँ, दाङ र कैलाली जिल्लामा हुने गरेको छ ।

यसैगरी, मखमली फूलको उत्पादन काठमाडौं, ईच. गुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी बडीखेल, कैलाली, पाल्पा धादिङ, इलाममा बढी हुने गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार ललितपुरमा १४औं गोदावरी पुष्प प्रदर्शनीको उद्घाटन गर्दै पुष्प व्यवसायले उत्पादनको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । राजधानीमा खबर छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।