ताजा अपडेट »

सहयोगकै भरमा दशैँ मनाउँछन् चेपाङ परिवार

विहीबार, २१ असोज २०७८, ०८ : २८
32 Shares

लमजुङ । सात पुस्ताअघि मकवानपुरको लोथरबाट वरबोट फाँटमा आएर बसोबास गर्दै आएको चेपाङ समुदायको जीवनशैली निकै कष्टकर रहेको छ ।साँझ-बिहान हातमुख जोड्न धौधौ पर्ने चेपाङ समुदाय कतैबाट राहत पाउँदा खुसीको सास फेर्छन् । चेपाङ समुदायकी अगुवा अमृता चेपाङले कसैले खाद्यान्न र कसैले लत्ताकपडा सहयोग गर्ने गरेको बताइन् । ‘हामी दु:खी, गरिब छौँ, आर्थिक अवस्था कमजोर छ भनेर ल्याइदिएका होलान् । दशैँ, तिहार जस्ता चाड पनि अरूले ल्याइदिएको अन्नले मान्नुपर्छ’, उनले भनिन् । 

वरबोट फाँटमा नौ र हिलेटक्सारको भिरकुनामा दुई घर गरी जिल्लामा कुल ११ घर चेपाङको बसोबास रहेको छ । आर्थिक, शैक्षिक, स्वास्थ्य र रोजगारीका दृष्टिकोणले निकै पछाडि परेका चेपाङहरूको गुजारा सामान्य ज्याला मजदुरी, अधियाँ प्रथाको खेतीबाली, बाख्रा र कुखुरा पालनबाट चल्दै आएको ६५ वर्षीया सुकमान चेपाङ बताउँछन् । 

बासका लागि अधिकांशको घर छैन, कच्ची पर्खालमा जस्ताले छाएको अस्थायी टहरामा बस्दै आएका छन् । आफ्नै पर्याप्त जग्गा नहुँदा उनीहरू समस्यामा पर्ने गरेका छन् ।सुकमानका अनुसार चेपाङका परिवार अझै पनि गिठा-भ्याकुर खाएर बाँच्नुपर्ने अवस्था छ । अचेल त्यही गिठा-भ्याकुर पनि पाउन मुस्किल परेको उनले बताए । ‘जग्गा जमिन छैन । हामी सबै अरूको काम गरेर खाने मान्छे हौँ’, उनले भने । 

उनले सहयोग पाएपछि मात्र बस्तीमा रमाइलोको रौनक छाउने बताए । बालबालिका कोही नाङ्गै, कोही झुत्रा र फोहोर लुगा बेरिएर बस्न बाध्य भएको उनले बताए । चेपाङ संघकी जिल्ला अध्यक्ष कल्पना चेपाङका अनुसार खान, लगाउनकै लागि चेपाङ समुदायलाई ऋण गनुपर्ने बाध्यता छ । 

धेरैजसो बालबालिका पढ्नमा भन्दा घरायसी कामकाज, ज्यालामा मेलापात, गाईबस्तुको गोठालो, भाइबहिनी हेर्ने काममा व्यस्त हुने स्थानीय गोविन्दराज पन्त बताउँछन् । अझै पनि गाउँमा सचेतनाको कमी रहेको उनको भनाइ छ । वर्षौंदेखि आर्थिक समस्या खेप्दै आएका चेपाङको जीवनयापनमा २०७२ वैशाखमा गएको भूकम्पले थप जटिलता निम्त्याएको पन्तले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।