ताजा अपडेट »

'तिहारपछि औषधि बोकेका ड्रोन गाउँ-गाउँमा पुग्छन्'

सोमबार, २३ भदौ २०७६, १६ : ५४
12 Shares

एसियाको नोबेल पुरस्कारको रुपमा हेरिने म्यागासेसे पुरस्कार विजेता महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रमार्फत विज्ञान तथा प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन् । उनीसँग मिलेर सयौँ इन्जिनियर नेपाली परिवेश सुहाउँदो आविष्कारमा केन्द्रित छन् । काठमाडौं, चितवन, धरान, जनकपुर र पोखरामा अनुसन्धानको काम भइरहेका छन् । आविष्कार केन्द्रले अहिले कृषि, इन्जिनियरिङ, शिक्षा, बायोमेडिकल, पर्यटनलगायतका १६ क्षेत्रमा अनुसन्धान तथा परीक्षण गरिरहेको छ । यसमध्ये सबैभन्दा महत्वपूर्ण काम मेडिकल ड्रोनको आविष्कार अन्तिम चरणमा पुगेको छ ।

मेडिकल ड्रोनले नेपालका भौगोलिक हिसाबले विकट स्थानमा रहेका हेल्प पोस्टहरुमा स्वचालित मानवरहित प्रविधिको माध्यमबाट औषधि पु¥याउने काम गर्नेछ । नेपालमा मेडिकल ड्रोनको आविष्कारले अन्तर्राष्ट्रियस्तरको ध्यानसमेत खिच्ने देखिन्छ । यसै सन्दर्भमा केन्द्रित रहेर आविष्कार केन्द्रमा अध्यक्ष पुनसँग गरेको कुराकानीको सम्पादित अंश :

तपाईंहरु यतिबेला ‘मेडिकल ड्रोन’को आविष्कारमा लाग्नुभएको छ । काम कहाँसम्म पुर्याउनुभयो ?

हामीले यसमा काम गरेको दुई वर्षजति भयो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे भन्ने ठाउँमा २०७४ सालमा एक किलो औषधि बोकाएर ड्रोन पठाएका थियौँ । त्यो हाम्रो परीक्षण थियो । त्यसपछि पनि विभिन्न ठाउँमा उडान गर्यौं । त्यस क्रममा देखिएका कमी–कमजोरीलाई सच्याउने काम भइरहेको छ । यो प्राविधिक रुपमा निकै जटिल काम हो । अहिले हाम्रा इन्जिनियर भाइबहिनीहरुले ८० प्रतिशत जति काम गरिसक्नुभएको छ । यस हिसाबले काम निकै अघि बढिसकेको छ । हामी सफल भइसकेका छौँ ।

अहिले के–कस्ता पक्षमा काम भइरहेको छ ?

आविष्कार केन्द्रले ड्रोन बनाउन शून्यबाटै काम सुरु गरेको हो । ल्याबमा लामो समयको मेकानिकल, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स कामपछि बल्ल ड्रोन बनेको हो । त्यसपछि परीक्षण गर्यौं। परीक्षण गरेपछि देखिएका समस्या समाधानको काम यतिबेला भइरहेको छ । कीर्तिपुरमा पटक–पटक परीक्षण उडान भइरहेका छन् । त्यसपछि देखिने समस्याको प्राविधिक रुपमा हल गरिरहेका छौँ । समग्रमा भन्नुपर्दा आठवटा पंखा र दुईवटा पखेटा भएको जहाजजस्तै उड्ने मेडिकल ड्रोन आविष्कार केन्द्रको रिसर्च ल्याबमा उड्नका लागि केही समयमै तयार हुनेछ ।

संख्यात्मक रुपमा ड्रोन कति हुनेछन् र यसका विशेषताहरु के–के छन् ?

अहिले करिब १६ वटा ड्रोन बनाउनका लागि सामानहरु जोडिँदै छ । त्यसका किसिमहरु पनि फरक–फरक छन् । एक किसिमका तीन अथवा चार वटा ड्रोन बनाउने गरी काम भइरहेको छ । म्याग्दीमा उडेको ड्रोन पहिलो भर्सनको थियो । अहिले ड्रोनको तेस्रो भर्सनमा काम भइरहेको छ । चार–पाँच किलोमिटरसम्म यात्रा गर्न सक्ने ड्रोनलाई ‘मल्टि रोटर’ भनिन्छ । अर्को भनेको ‘फिक्स विन्ज ड्रोन’ हो । जसले २० देखि २५ किलोमिटरसम्म यात्रा गर्न सक्छ । त्यस्तै, ‘हाइब्रिड ड्रोन’ आवश्यक परेको खण्डमा कुनै ठाउँमा बस्न र कुनै सामान ल्याउन सक्ने क्षमता राख्छ । यसको दूरी ठ्याक्कै यति भन्ने हुँदैन । यो ड्रोनले उचाइअनुसार यात्रा गर्छ । हामीले यी सबै ड्रोनमा काम गरिरहेका छौँ ।

यो ड्रोनले औषधिमात्र बोक्छ कि अन्य काम पनि गर्छ ?

मेडिकल ड्रोनले औषधिमात्र नभएर दुर्गम क्षेत्रका स्वास्थ्य चौकीमा अत्यावश्यक उपकरणसहित मेडिकल सामग्री पुर्याउने कामसमेत गर्छ । आवश्यक परे बिरामीको दिसा, पिसाब, रगतजस्ता नमूनाहरु संकलन गर्ने काम पनि गर्नेछ ।

अब नेपाली आकाशमा नियमित रुपमा ‘मेडिकल ड्रोन’ उडेको हामीले कहिले देख्न पाउँछौँ ?

सायद तिहारपछि म्याग्दीमा हामीले पहिलो ड्रोन उडाउनेछौँ । त्यसपछि नियमितरुपमा जनताको मागअनुसार अन्य ठाउँमा पनि उडान सुरु हुनेछ । अबको दुई महिनामा शतप्रतिशत काम सकेर ड्रोनको ‘फाइनल भर्सन’ लन्च हुनेछ ।

ड्रोनले कुन–कुन ठाउँमा औषधि पुर्याउँछ ? तपाईंहरुको लक्ष्य के हो ?

पहाडि क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न विभिन्न कठिनाइ व्यहोर्नुपर्छ । त्यसैले भौगोलिक रुपमा विकट रहेका त्यस्ता स्थानहरुमा औषधि पु¥याउन हामीले ड्रोनको परिकल्पना गरेका हौँ । पहाडी भेगमा उडान भर्न सक्ने गरी ड्रोनको तीन हजार मिटर उचाइसम्मका बस्तीमा सफल परीक्षण भइसकेको छ । ड्रोन कुन–कुन ठाउँमा उडाउने भन्ने लक्ष्य भने अहिल्यै आविष्कार केन्द्रसँग छैन । ड्रोन बनाइसकेपछि जो सेवा चाहियो भनेर आउँछन्, उनीहरुलाई सेवा उपलब्ध गराइनेछ । तर, म्याग्दीमा यसको परीक्षण गरेकाले त्यहीँबाट ड्रोनको उद्घाटन गर्ने हाम्रो योजना हो । 

ड्रोनको गुणस्तरीयतालाई लिएर पनि प्रश्न उठ्ने गरेको छ नि ?

सबै पार्टपुर्जा विदेशबाट ल्याएर तिमीहरुले के आविष्कार ग¥यौ भन्ने प्रश्न पनि उठाउँछन् कोही–कोही । आविष्कार भनेको कुनै पनि चीजलाई आफ्नो वा बजारको आवश्यकताअनुसार ढाल्नु हो । सबैभन्दा ठूलो कुरा त स्वदेशकै युवापिँढी ड्रोन बनाउन लागिपरेको छ । यो उनीहरुका लागि सिप सिक्ने र क्षमता अभिवृद्धि गर्ने ठूलो अवसर हो । अरु कुरा विस्तारै सिक्दै लागू गर्दै लैजाने हो । एकैपटक सबै खोजेर हुँदैन । समय लाग्छ । अहिले आविष्कार केन्द्रले राम्रो प्रतिभा भएका व्यक्तिलाई पनि मौका दिएर नेपालमा पनि केही चीज बनाउन सकिन्छ भन्ने कुरा प्रमाणित गर्न खोजेको हो । अनुसन्धानका सबै काम सफल हुँदैनन् । सफल भएका कामलाई परीक्षण गर्दै आगामी दिनमा कसरी गुणस्तर बनाउँदै लैजाने भन्ने पक्षमा आविष्कार केन्द्रले ध्यान दिनेछ ।

यस विषयमा सरकारको चासो वा सहयोग के–कस्तो छ ?

सरकारबाट ड्रोन उडाउनका लागि स्वीकृति दिनेबाहेक अरु काम गर्न सकेको छैन । हाम्रो काममा उसलाई कुनै चासो छैन । हामीले सरकारको लागि नभएर जनताका लागि काम गर्ने भएकाले सरकारले चासो दियो या दिएन, सहयोग गर्यो या गरेन भन्ने कुराले कुनै प्रभाव पार्दैन । 

मेडिकल ड्रोनबाहेक तपाईंहरु अन्य आविष्कारका कुन–कुन काम गरिरहनुभएको छ ?

हामीले १६ वटा काम गरिरहेका छौँ । ड्रोनपछि पुरानो गाडीलाई ब्याट्रीबाट चल्ने बनाउने काम प्राथमिकतामा छ । यो सफल भएपछि अर्को भर्सनका रुपमा नेपाली परिवेश सुहाउँदो कच्ची सडकमा चल्ने कार पनि बनाउनेछौँ । यसबाहेक किसानका लागि उत्पादित तरकारी लामो समयसम्म नबिग्रियोस् भनेर त्यस्तो सिस्टमको प्रविधि आविष्कार गर्दै छौँ । कपडा काट्ने, कम तापमानबाट बिजुली निकाल्ने, बाँदर लखेट्ने, सेल रोटी पकाउने प्राविधिक औजारको विकासमा काम भइरहेको छ । कुखुराको दानाको विकास गर्ने, सिन्के धूप बनाउने प्रविधि तथा स्वास्थ्य र पर्यटनका लागि आवश्यक एप्लिकेसनहरु बनाउनेजस्ता काम भइरहेका छन् । नेपाली समाज र परिवेशमा यी सबै सुहाउँदा र आवश्यक कामहरु हुन् ।

आइडिया भएका युवाहरुका लागि आविष्कार केन्द्र कस्तो प्लेटफर्म हो ?

युवाहरुले हामीसँग यस्तो आइडिया छ र हामी त्यसमा काम गर्न चाहन्छौँ भन्ने प्रस्ताव केन्द्रसमक्ष प्रस्तुत गरेपछि केन्द्रले पूर्ण सहयोग उपलब्ध गराउँछ । सो क्रममा आइडिया सफल भएको खण्डमा त्यसले देशमा रोजगारी सिर्जना गर्न, आर्थिक अवस्था उकास्न सक्छ या सक्दैन, व्यक्तिहरु उद्यमी बन्न सक्छन् या सक्दैनन् भन्ने विषयमा पनि अध्ययन हुन्छ । सबै पक्ष सकारात्मक छन् भने युवाहरु आफ्नो आइडियाका साथ आविष्कार केन्द्रसँग जोडिन सक्छन् । तर, सुरुमा जोसका साथ आउने अनि पछि काम गर्न नसक्नेहरु पनि धेरै देखिएका छन् । आफ्नो आइडिया सफल बनाउन चाहने जो कोही आविष्कार केन्द्रमा उचित प्रपोजल लिएर आउँछ भने हामी उसलाई स्वागत गर्न सधैं तयार छौँ ।- इन्जिनियर्स नेपाल

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।