ताजा अपडेट »

गृहमन्त्री खाँणकै गृहनगर तिलोत्तमामा न्यायको माग गर्दै आन्दोलन

शुक्रबार, २५ भदौ २०७८, १२ : ३१
4 Shares

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणको गृह नगर तिलोत्तमामा युवतीको रहस्यमयी मृत्युको घटनालाई लिएर विगत एक सातादेखि आन्दोलन चर्किएको छ । तिलोत्तमा-८ मणिग्राम चार नम्बरकी सीता भण्डारीको हत्या भएको भन्दै एक सातादेखि आन्दोलन भइरहेको छ । आन्दोलनलाई साम्य पार्न बाक्लो रुपमा उपस्थित भएको प्रहरी प्रशासनले बल प्रयोग गरेपछि स्थिती थप तनावपूर्ण बनेको छ । गृहमन्त्रीकै दैलो अगाडि एक नारीले अकालमा ज्यान गुमाउँदा सत्यतथ्य छानविन नगरी उल्टो दमनकारी नीति लिनु गलत भएको भन्दै आन्दोलन थप चर्किएको हो ।

गृहमन्त्री खाँणकै गृहनगरमा महिलाको मृत्यु बारे छानविनका लागि प्रहरीमा उजुरी गर्दा दर्ता नहुनु दुःखद भएको भन्दै सीताका आफन्तले आपत्ति जनाएका छन् । यही भदौ १९ गते राती हत्या भएको भन्दै माइती पक्षले छानविनका लागि इलाका प्रहरी कार्यालय बुटवलमा ‘कर्तव्य ज्यान मुद्दा’ सम्बन्धि जाहेरी दर्ता गर्न गएपनि प्रहरीले उजुरी दर्ता गर्न नमानेको सीताका मामा रामप्रसाद पोखरेलले ग्लोबल आवाजलाई जानकारी दिए । ‘हामीले कर्तव्य ज्यान मुद्दा सम्बन्धि उजुरी दिन जाँदा यो मुद्दा दर्ता गर्न मिल्दैन भनेर प्रहरीले भन्यो ।’-पोखरेलले भने ‘उनीहरु (प्रहरी)कै सल्लाहअनुसार ‘आत्महत्या सम्बिन्धि दुरुत्साहन’ मुद्दा दर्ता गरार्यौ, त्यो पनि अदालतले अनुसन्धानका लागि म्याद थप्न नमिल्ने भन्दै फर्काइदिएपछि बिरोधमा उत्रिनु परेको छ ।’

मृतक २७ वर्षिया युवती सीता भण्डारीका बुबा हरिप्रसाद भण्डारीले छोरीका परिवारको योजनामा आफ्नो छोरीले ज्यान गुमाउनुपरेको बताए । पाल्पामा दरबार रिसोर्ट संचालन गरेका सीताका श्रीमान ४३ वर्षिय टीका पौडेलसँग २ वर्ष अघि विवाह भएको थियो । परिवारले योजनावद्ध रुपमा आफ्नो छोरीको हत्या गरे पनि प्रहरीले घटनालाई सत्यतथ्य छानविन नगरी लुकाउन खोजिरहेको भन्दै सीताका आफन्त तथा महिला अधिकारकर्मीहरुले उनको घर अगाडि विरोध प्रदर्शन गरिरहेका छन् ।

सत्यतथ्य छानविन गरी बाहिर ल्याउनु पर्ने माग राख्दै सीताका श्रीमान टीका पौडेलको घेरिएको छ । बाक्लो रुपमा प्रहरी परिचालन गरिएको उक्त ठाउँमा सीताका माइती पक्षले विभिन्न नारासहितका प्ले कार्डसहित सीतालाई न्याए दिलाउन माग गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।