ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा युवतीको शंकास्पद मृत्यु, प्रहरीले जाहेरी नबुझेको माइतीको आरोप

मंगलबार, २२ भदौ २०७८, १५ : १२
26 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा युवतीको संकास्पद मृत्युपछि आफन्तले छानविन गरी दोषी माथि कारबाहीको माग गरेका छन् । तिलोत्तमा-८ मणिग्राममा चार नम्बरमा २ बर्षअघि बिबाह भएकी सीता भण्डारी पौडेलको आफ्नै घरमा हत्या भएको भन्दै माइती पक्षले कारबाहीका लागि प्रहरीमा जाहेरी दिए पनि सुनुवाई नभएको भन्दै गुनासो व्यक्त गरेका छन् ।

यही भदौ १९ गते राती हत्या भएको भन्दै माइती पक्षले छानविनका लागि इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गर्न गए पनि सुनुवाई नभएपछि न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् । मँगलबार आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी मृतक २७ वर्षिया युवती सीता भण्डारीका बुबा हरिप्रसाद भण्डारीले छोरीका परिवारको योजनामा आफ्नो छोरीले ज्यान गुमाउनुपरेको बताए ।

पाल्पामा दरबार रिसोर्ट संचालन गरेका सीताका श्रीमान ४३ वर्षिय टीका पौडेलको परिवारले योजनावद्ध रुपमा आफ्नो छोरीको हत्या गरे पनि प्रहरीले घटनालाई सत्यतथ्य छानविन नगरी लुकाउन खोजिरहेको भन्दै न्यायका लागि आग्रह गरेका हुन् । ‘भदौ १९ गते रातीको घटना माइतिपक्षलाई भोलि विहान २० गते ५ बजेमात्रै जानकारी दिइएको थियो ।’-घटनाको विवरण सुनाउँदै माइती पक्षले भने परिवार र प्रहरीले भने यस घटनालाई ‘आत्महत्या’ हो भन्दै वास्तविकता लुकाउन खोजेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले भने अहिलेसम्म जाहेरी आफूकहाँ नआएको बताए । ग्लोबल आवाजसँग कुरागर्दै उनले घटना बारे छानविन भइरहेको हुँदा अनुसन्धानमा प्रभाव पर्ने भएकाले सबै कुरा बताउन नमिल्ने उल्लेख गरे ।

यस्तो छ, माइती पक्षले तयार पारेको जाहेरी पत्र

श्री ईलाका प्रहरी कार्यालय बुटवलमा चढाएको जाहेरी दरखास्त

. जाहेरवालाको नाम, थर, उमेर र वतनः मृतक सिता भण्डारी पौडेलकी बाबु जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ८, चारनम्बर बस्ने चेतनारायण भण्डारीको छोरा वर्ष ५३ को हरि प्रसाद भण्डारी

२. कुन केशमा जाहेर गरेको हो : ज्यान सम्वन्धी कर

३. कशुर गर्ने व्यक्तिको नाम, थर, ठेगानाः.. (क) रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नं. ५ बस्ने अं वर्ष ४३ को टिका पौडेल ((ख) ऐ.ऐ. बस्ने अवर्ष ५० की विष्णु पौडेल ।

४. कशुर गर्ने व्यक्तिको बाबु आमाको नामः (क) देवी प्रसाद पौडेल/ दुर्गा देवी पौडेल । (ख) देवी प्रसाद पौडेल/दुर्गा देवी पौडेल

५. कशुर गर्ने व्यक्तिको हुलियाः

(क) अ ५.५ फिट अग्लो गहु गोरो वर्णको, अगाडी लामो कपाल राखेको, दारी पालेको (ख) अं. ५ फिट अग्ली गहुँ गोरी, मध्यम कदकी

. कशुर सम्बन्धि विवरण: (क) कशुर भएको स्थान, समय र मितिः रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नं. ५ कफी कम्पनी स्थित अभियुक्तको घरकोठा, मिति २०७८/०५/२० गतेका दिन विहान २ देखी ५.३० बजेको समय बीचमा।

(ख) कशुरसंग सम्वन्धीत घटनाको विवरणः– मेरो छोरी र अभियुक्त खण्डका ज्वाई टिका पौडेलले पाल्पा तानसेनमा दि दरवार रिसोर्ट नामको होटल संचलन गर्दै आएका थिए । निज छोरी र ज्वाई पाल्पाबाट मिति २०७८/०५।०६ गतेका दिन मेरो घरमा आई सो राती मेरो घरमै बसी अर्को दिन ७ गते छोरीलाई माईतीमा छाडी ज्वाई मात्र आफ्नो घर गएका थिए । यही भाद्र १९ गतेका दिन निज ज्वाईले छोरीलाई फोनगरी भतिजीको जन्मदिन छ घरमा आउनु भनी खवर गरी बोलाएका हुँदा सोही दिन दिउसो २ बजे तिर छोरी घरमा गएकी थिईन् । छोरी घरमा पुगेपछि घरमा के कुरामा खटपट भएर हो वा किन हो, निज ज्वाई सोही १९ गतेका साझ अ. ६.३० बजे एक्कासी मेरो घरमा आई तपाईकी छोरी अव वितारा पर्ने भई मैले त आनन्दको जीन्दगी जिउछु भनी धम्कीपूर्ण कुरा गरी अरु केही नवोली आफ्नै घर फर्किगए। अघिपछि पनि ज्वाईले मादक पदार्थ सेवन गरी मात्तिई झगडा गर्दा छोरीले सम्झाई बुझाई गरी थामथुम पार्दै आएकी हुँदा यो पनि सामान्य कुराका विषयमा त्यसो भनेका होलान् भनी वास्ता गरिएन ।

मिति २०७८/०५/२० गतेका दिन विहान अं. ५.३० को समयमा ज्वाईले आफ्नो मोवाईल. नं. ९८६******* बाट ९८४७****** मा फोन गरी तपाईहरु छिट्टै आईहाल्नु पर्ने भयो, अति जरुरी काम पर्यो भनेकाले म जाहेरवाला, मेरो श्रीमती पुनम भण्डारी, सालाहरु पदम पोखरेल र लक्ष्मण पोखरेल भई विपक्षको घरमा पुगी हामीहलाई हतारो गरी किन बोलाउनु भएको हो ? छोरी कताछन् भनी सोध्दा घरमा भएका सासु ससुराले कुनै जवाफै दिएनन् । विपक्षी ज्वाईलाई घरमा देखेनौ । घरमा पुगेपछि अं. २० मिनेट पछि बाहिरबाट घरमा आई तपाईहरुको छोरीलाई मार्नमा प्रमुख हात यसैको छ भनी निजको विवाहित दिदी विपक्षी मध्येकी विष्णु पौडेललाई औला ठड्याई कुरा गर्न लागेका हुँदा छोरी जीवित छैनन् भन्ने भई म जाहेरवाला र श्रीमती बेहोस भई त्यही लड्यौ । साथमा गएका सालाहरु पदम पोखरेल र लक्ष्मण पोखरेलले घरभित्र गई हेर्दा एट्याच कोठाबाट वाथरुममा पस्ने ढोकामाथी काटीएको चुन्नी झुण्डिई रहेको, छोरीलाई भुईमा घोप्टोपारी सिरानीमा टाउको राखिएको, मृतकको दुवै कोखामा निलडाम रहेको, मुखबाट रगत बगी अनुहारमा लत्पत्तिएको र घाटीको दायाँ छेउमा गाठो पारिएको चुन्नीले कसेको अवस्थाम फेला पार्यौ हामी जादा सम्म पनि विपक्षीहरुले प्रहरीलाई सुचना नगरेका हुँदा म सँगै गएका सालाहरुले किन प्रहरीलाइ तत्कालै खवर नगरेको भनी प्रस्न गरेपछि मात्र प्रहरीमा खबर गर्ने काम भयो ।

मृतक छोरीले माईतीमा आउदा अमाजु दिदी घरमा आउदा सम्पतिको विषयमा सधै कल झगडा मारपिट हुन्छ, मलाई पनि भए नभएका झुठ्ठा आरोपहरु लगाउने गर्दछन् भनी बताउने गदर्थिन, घटना हुदाको दिन पनि विपक्षी मध्येकी विष्णु आफ्नो घरबाट माईतीमा आएकी रहिछन् । घटना अघि र पछिको विपक्षीहरुले गरेको हर्कत, र छोरी प्रतिको दुरव्यवहार, छोरीको शरीरमा देखिएका निलडाम, झुण्डिएको भनिएको स्थलको उचाई, मृतकको घाटीको दायाँतर्फ मात्र चुन्नीको गाठो कसिएको अवस्थामा घोप्टोपारी भुईमा पल्टाई राखेको अवस्थामा भेटाईएको, घटना घटाई सकेपछि निज ज्वाई आफु तत्कालै घरछाडी फरार भएका, बाहिरबाटै हामीलाई फोन गरेका, आफ्नो पौडेल टिका नामको फेसबुक पेजमा घटना पछि यसको मूल्य कसले चुकाउछ भनी पब्लीक पोष्ट गरेका, रातिको घटनामा विहान ६ बजे सम्म पनि प्रहरीलाई खबर सुचना केही नगरी अपराधबाट बच्ने प्रमाण परिस्थिति सृजना गर्ने प्रयासमा लागेका लगायतका शिलशिलागत र पस्थितिगत प्रमाणका आधारमा नियोजित रुपमै विपक्षीहरुले छोरीको हत्या गरेको कुरा पुष्टि हुन आएको छ । तिजको मुखमा माइतीमा बसी रहेकी मेरी छोरीलाई भतिजीको जन्मदिन परेको भन्ने बहाना बनाई आफ्नो घरमा बोलाई रातीको समयमा दुवैजना दिदी भाई मिली मेरी छोरीलाई कुटपिट गरी बेहोस बनाएर हो वा सुतेको अवस्थामा चुन्नीले घाटीकसी श्वास प्रशास बन्द गराई अव मरी भन्ने भएपछि वाथरुमको भेण्टिलेटरमा आफै झुण्डीएको र आफुहरुले पासो काटेको भन्ने भान पार्न पहिलेनै काटेको चुन्नी झुण्ड्याई राखेको पाईनुका साथै विपक्षीकै कर्त्यव्य र कार्य कारणबाट मेरो छोरीको मृत्यु भएको कुरा प्रष्ट हुन आएको हुँदा यो जाहेरी लिई आएको छ ।

तसर्थः यस कार्यालयबाट निज दुवैजना कसुरवालाहरुलाई तत्काल पक्राउ गर्नुका साथै अरु जो जे बुझ्नु पर्छ बुझी कानुन बमोजिम आवश्यक कारवाही गरी हदैसम्म सजाय गरी पिडितलाई उचित क्षतिपुर्ति समेत दिलाई न्याय पाउँ ।

(ग) कशुरको प्रकृती र सो सगँ सम्बन्धित अन्य विवरणः घटनास्थल मुचुल्का बुझी पाउँ । मृतकलाई घाटीमा लगाएको पासो र अभियुक्तहरुले प्रयोग गरेको मोवाईल कल डिटेल लगायतका दशी प्रमाण बुझी पाउँ ।

(घ) कशुरसँग सम्बन्धित सबुद प्रमाणः मृतकको पोष्टमर्टम गरी पाउँ ।

(ङ) कशुरसगँ सम्बन्धित अन्य विवरणः– मृतकको सासु दुर्गादेवी पौडेल ससुरा देवी प्रसाद पौडेल र जेठाजु हरि पौडेल समेतलाई झिकाई निजहरुको समेत के कुन प्रकारको संलग्नता छ । छानविन गरी आवश्यक कारवाही गरी पाउँ

७. यसमा लेखिएको व्यहोरा ठीक साँचो हो झुट्ठा ठहरे कानुन बमोजिम सँहुला बुझाउला । साथै पछि अदालत समक्ष मुद्धा चल्दाका वखत उपस्थितिको जनाउ पाएका वखत उपस्थित भई आवश्यक सहयोग गर्नेछु ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।