ताजा अपडेट »

तीज पर्व : स्वास्थ्य सतर्कताका साथ मनाऔं

बुधबार, २३ भदौ २०७८, ०७ : १५
6 Shares

आज दरखाने दिन । गत वर्ष जस्तै यस वर्षपनि कोरोना संक्रमणका कारण दर खाने कार्यक्रम प्रभावित छ । अर्थात् विश्वव्यापी कोरोना महामारी जारी छ,स्वास्थ्य सावधानी र सामाजिक दूर आवश्यक छ। तर, घरमै दर खाने कार्यक्रम भने सुरु भइसकेको छ। नेपाली महिलाहरूको महान तथा महत्वपूर्ण पर्व हरितालिका तीज अन्तर्गत आज दरखाने दिन हो। हरेक वर्ष तीजको एकदिन अगाडि दर खाने प्रचलन रहँदै आएको छ। धार्मिक तथा परम्परा अनुसार यो दिन माइती पक्षले आफ्ना चेलीहरुलाई बोलाएर विशेष दर वा परिकार खुवाउने प्रचलन रहेको छ। करिब डेढ वर्षदेखि जारी महामारीले गत वर्षको तीज लगाएतका पर्वहरुलाई निकै प्रभाव पारे जस्तै यस वर्षपनि जारी छ । हाल पनि कोरोना संक्रमण र जोखिम कायमनै छ ।

प्रशासनले यस वर्षपनि महिलाहरु भेला भई सार्वजनिक स्थलमा दरखान नाचागान गर्नमा निषेध गरेको छ । यद्यपि आज देशभर दरखाने कार्यक्रम गरी यो पर्व मनाइँदैछ । विभिन्न मिष्ठान्न परिकारका साथ आज बुधबार दर खाएर तीज पर्व मनाइँदैछ । हरितालिका तीजको अघिल्लो दिन हिन्दु नारीहरूले दरखाने प्रचलन छ । भोलि बस्ने निराहार व्रतको अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दरखाने परम्परा छ । तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरूले खिर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दुध घ्यूबाट बनेका परिकारका रूपमा खाने चलन भएको छ । तर, पछिल्ला वर्षहरुमा खानपिनका परिकारमा भने धेरै परिवर्तन भएको छ। हाल दर कार्यक्रममा विशेषगरी माछा,मासु,मिठाई,फलफूल लगाएतका परिकार खाने प्रचलन छ। दर खाने कार्यक्रमको अर्कोदिन नारीहरु व्रत बस्ने गर्दछन् । सुखी दाम्पत्य जीवन रआफ्ना सन्तानको सुखका लागि पानी पनि नखाई लिइने यो व्रतप्रति महिलाहरूको बढ्दो आकर्षणले उनीहरूको प्रेम र ममताको संवेदनशीलता देखाउँछ।

पछिल्लो समय तीज महिला र पुरुषबीच साझा रुपमा मनाउने गरेतापनि यो विशेषतः महिला केन्द्रित पर्व हो । महलिाहरुको स्वतन्त्रता,स्वाधिनता ,सन्देशहरुको प्रवाह गर्ने अवसर पनि हो। आधा आकाश मानिने महिलाहरु यस पर्वमा खुलेर गाउने,नाच्ने आफ्ना दुःख,सुख व्यक्त गर्नुका साथै धार्मिक,सामाजिक,यौनिक सन्दर्भमा सन्देश पनि प्रवाह गर्दछन् । पौराणिक कथा,प्राचिन मान्यता र परम्पराबाट सुरु भई मनाउँदै आइएको तीज हाल आधुनिक कालमा मनाउने शैलीमा परिवर्तन भएतापनि यसका मूल्य,मान्यता भने उनै छन् । बढ्दो आधुनिकता,व्यस्तता,प्राविधिक पहुँच लगाएतले तीजलाई झनै रमाइलो र विशेष पर्व बनाइदिएको छ ।

तीजले श्रीमान् श्रीमती बीचको सम्बन्धलाई सुमधुर बनाउँछ। साथी संगी, छिमेकीसँगको प्रेमलाई गाढा बनाउँछ। माइती र चेलीबीचको मनोमालिन्य हटाइदिन्छ । यिनै सब कारणले गर्दा पनि तीज हिजोभन्दा आज अझ बढी लोकप्रिय हुँदै गइरहेको छ। यो पर्व पति–पत्नी बीचको प्रेमको प्रतीक भएकोले यसमा माहिलाले सोह्र श्रृंगार गरेरआफूलाई सजाउनुलाई अचम्मले हेरिनु हुँदैन। श्रीमान–श्रीमतीबीच,माइती–चेलीबीच मिनल र आत्मियता बढाउने पर्वको स्वरुप परिवर्तन भई विस्तारित भएको छ । पछिल्ला वर्षहरुमा पहिल्यैदेखि व धेरैदिन दर खुवाउने कार्यक्रमले आफन्तजनले पनि आफन्त चेलीहरुलाई निमन्त्रणा गर्ने प्रचलन भएको छ। जसले चेली र माइती घरबीचको सम्बन्ध मात्रै नभई आफन्तहरु बीच पनि स्मरण गर्ने,निमन्त्रणा गर्ने र दर खुवाउने कार्यक्रम हुन थालेको छ।

यी लगाएत तीजको मूल मर्मलाई बुझेर यसलाई सभ्य र शालिनता पूर्वक श्रद्धा भक्तिका साथ मनाउने हो भने यसले अवश्य पनि समाजलाई सही बाटोमा डोर्याउने छ । संक्रमणको त्रास र तेस्रो लहरको कहरका बीच नारी शहनशीलता,संघर्ष,शक्ति,भक्ति र सामथ्र्यसँगै स्वतन्त्रताको प्रतिक हरितालिका तीज मनाइँदै छ । पर्व परम्परा हुन् ,निरन्तरता दिनु पर्दछ । तर,यससँगै स्वास्थ्य सावधानी पनि अपनाउनु पर्दछ । चाहे रोग संक्रमण होस्,नहोस् जहिलेपनि स्वास्थ्य सावधानी आवश्यक हुन्छ नै तर, पर्व र संक्रमणको समयमा उच्च स्वास्थ्य सतर्कता अपनाउन आवश्यक । तसर्थ महिला अर्थात् हरेक सन्तानकी प्रथम गुरु,महिलाले तीज पर्व मनाइँरहँदा आफ्नो परिवार,समाज र राष्ट्रको स्वास्थ्य सुरक्षाका लागि पनि यो पर्वमा विशेष ध्यान दिई सकारात्मक शिक्षा दिन जरुरी छ ।

तीज पर्वको अवसरमा सम्पूर्ण नारीहरु र उनीहरुका परिवारप्रति रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता,हिम्मत र धैर्यताको हामी कामना गर्दछौं । साथै पर्वको अवसरमा असावधानी नगुमाउन र संयम् भएर आ–आफ्ना घरमै रहेर आवश्यक सुरक्षा र सावधानीका साथ पर्वलाई सरल तवरले मनाउन अनुरोध गर्दछौं । पर्वहरु संक्रमण,संकट,संघर्ष माथि विजयी हासिल गरेर मनाइने अवसर हुन् तसर्थ यस वर्षको हरितालिका तीजले पनि वर्तमान विषम परिस्थितिको सामना गर्दै कोरोना माथि विजयी गर्दै आउने हरेक संकटको सामना गर्ने शक्तिको स्रोत,आधार र विश्वास् बनोस् । उच्च स्वास्थ्य सतर्कताका साथ हरितालिका तीज मनाऔं भन्ने आग्रहका साथ सम्पूर्ण नेपाली नारीहरुसहित देशभरका सम्पूर्णमा हरितालिका तीजको हार्दिक शुभकामना ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।