ताजा अपडेट »

फेमिनिष्ट अर्थतन्त्र

आइतबार, १३ भदौ २०७८, १९ : ५३
22 Shares

विश्व अर्थतन्त्र र आर्थिक क्रियाकलापमा अर्थतन्त्रमा रहेका विभिन्न बहुआयामिक अवधारणाहरु मध्य विकासोन्मुख अर्थतन्त्रमा एकदमै कम चर्चा हुने विषय फेमिनिष्ट अर्थतन्त्र हो। आजका विकसित मुलुकको आर्थिक,सामाजिक,बौद्धिक, राजनीतिक रुपान्तरणको मुख्य सारथी यहि अर्थतन्त्र रहेको कुरालाई ती देशका शासकहरुले समेत स्वीकार गरेको अवस्था छ । कुनै अर्थतन्त्रमा उत्पादक तथा उपभोक्ता रहनुको साथै घरायसी क्षेत्र पनि रहेको हुन्छ । घरायसी क्षेत्र अन्तर्गत रहेर महिलाहरुबाट गरिने क्रियाकलापलाई पनि मौद्रिककरण गरिनु पर्दछ भन्ने आर्थिक विचारलाई नै फेमिनिस्ट अर्थतन्त्र नामाकरण गरिएको छ । यसको अर्थ महिलाहरुले आफ्नो घरको घरायसी कार्यमा बिताएको समय र श्रम अन्य औपचारिक क्षेत्रमा काम गर्दा के कति आम्दानी गुमाउन पुगे भनि मापन गरी सोही बराबरको रकम देशको कुल ग्राहस्थ उत्पादनमा समावेश गरिनु पर्दछ भन्नु हो ।

संसारमा हरेक कुनामा रहेका महिलाहरुले हरेक दिन आफ्नो घर,परिवार तथा केहि महत्वपूर्ण अवसरमा आफ्नो नाता–गोताकोमा पनि शारीरिक तथा मानसिक श्रम गरिरहेका हुन्छन्। यद्यपी ती कार्यहरुलाई कुनैपनि तवरबाट मौद्रिकीकरण गरिएको हुँदैन । जसका कारणले गर्दा उनिहरुले ती कार्यबाट देशको आर्थिक विकास तथा आर्थिक वृद्धिमा के कति योगदान दिए भन्ने कुराको मापन गर्न सकिँदैन । यसरी मापन गर्न नसक्नुले देशको सम्रग समृद्धिको पक्षमा ठोस प्रगति प्राप्त गर्न सकिँदैन भन्ने निष्कर्ष निकाली महिलाहरुको हरेक शारीरिक तथा मानसिक श्रमलाई मौद्रिक एकाईमा अनिवार्य रुपमा मापन गर्ने संयन्त्रको विकास गरिनु पर्दछ भन्ने बहुआयामिक अवधारणलाई फेमिनिस्ट अर्थशास्त्र भनिन्छ ।

नेपालको सन्र्दभमा जनगणना २०६८ का अनुसार नेपालको जनसंख्यामा ५१ प्रतिशत महिलाको संख्या रहेकोे छ । जसका आधारमा नेपाली अर्थतन्त्रलाई सबल र सफल बनाउनको लागी हामीले फेमिनिष्ट क्रियाकलापहरुलाई तत्कालै मौद्रिकीकरण गर्नु जरुरी छ । नेपालको पछिल्लो आर्थिक सर्वेक्षण्का अनुसार नेपाली महिलाहरुका हातमा २८ प्रतिशत सम्पत्तिको स्वामित्व आर्थिक तथ्यांकमा देखिन्छ । यद्यपी ती महिलाहरुका हरेक शारीरिक तथा मानसिक श्रमलाई करेन्सीमा मापन गरिएको छैन । नेपाली अर्थतन्त्रमा स्थापना गरिएका उद्योग व्यवसाय कम राजस्व तिर्नुपर्ने सुविधाका कारणले महिलाका नाममा खोलिएका छन्।

दुःखको कुरा ती महिलाले बैंक तथा अन्य कानूनी हस्ताक्षर गर्नु पर्ने स्थानमा पुरुषकै हस्ताक्षर रहने गरेको पनि अध्ययनमा प्राप्त गर्न सकिन्छ । महिलाहरुले घरायसी तथा गैर मौद्रिक क्षेत्रमा कार्य गर्दा श्रम र समय दुबैको समाप्ती हुन्छ। तर, तिनीहरुको उक्त योगदानलाई देशको राष्ट्रिय आम्दानी गणना गर्दा समावेश गरिँदैन । यस्तो प्रकारको आर्थिक पक्षसँग सम्बन्धित गणनामा महिलाहरुले आफ्नो शारीरिक तथा मानसिक श्रम गरेर पुर्याएको योगदानलाई जसरी पनि समावेश गर्नु पर्दछ भन्ने कुराको व्याख्या विश्लेषण नै फेमिनिष्ट इकोनोमी हो ।

विश्व अर्थतन्त्रमा फेमिनिष्ट अर्थतन्त्रको अवधारणा पहिलो पटक सन् १९६९ मा The House worker's नामक पुस्तक Besty Warrior's ले प्रकाशित गरेपछि भएको मानिन्छ । उनका अनुसार दुःख वा सुख सबै प्रकारका कार्यमा महिलाहरुले गरेको श्रमलाई पनि प्रत्यक्ष रुपमा मौद्रिक एकाईमा रुपान्तरण गरी देशको कुल ग्राहस्थ उत्पादनमा गणना गर्नु पर्दछ भनि वकालत गर्ने अर्थशास्त्रको शाखालाई फेमिनिष्ट अर्थतन्त्र भनिन्छ । यसको प्रयोग सन् १९९० को दशक पछि विश्वका तत्कालिन शक्ति देशहरुले गरेको पाइन्छ । विश्व अर्थतन्त्रमा यो अवधारणाको सफल अभ्यास गरेका देशहरुको सूचीमा क्यानडा, फ्रान्स, बेलायत, नर्वे,पर्दछन् ।

नेपाली अर्थतन्त्रमा अहिले सम्म औपचारिक क्षेत्रमा कार्यरत महिलाहरुको मात्रै देशको आर्थिक विकास, आर्थिक वृद्धि, भौतिक तथा सामाजिक पूर्वाधार विकासका क्षेत्रमा पुर्याएको योगदानलाई अर्थतन्त्रसँग सम्बन्धित क्षेत्रमा समावेस गरिएको छ । यसप्रकार घरायसी तथा अन्य अनौपचारिक क्षेत्रमा महिलाहरुको आर्थिक योगदानलाई वर्तमान समयसम्म पनि समावेश गरिएको छैन । नेपाल र नेपाल जस्तै अन्य विकासोन्मुख देशहरुमा अहिले पनि महिलाहरुको आर्थिक हक, अधिकारलाई समयानुकुल व्यवस्थापन तथा कार्यान्वयन गर्न नसकिएको अवस्थामा नेपाली विश्व विद्यालयका पाठ्यक्रम तथा सिकाई क्रियाकलापमा फेमिनिष्ट अर्थतन्त्रका बारेमा अध्ययन अध्यापन गराउनु अनिवार्य आवश्यकता बनेको छ।

अन्त्यमा, वर्तमान समयमा महिला अधिकारवादीहरुले लैङ्गिक समनता तथा महिला सशक्तिकरणका लागि उठाएका आवाज तथा आन्दोलनहरुलाई सफल बनाउनको लागि सबैभन्दा पहिलो भर पर्दो महत्वपूर्ण कार्यक्रम भनेको नै देशमा फेमिनिष्ट अर्थतन्त्रको स्थापना र प्रयोग गर्नु हो ।

हुमराज भुसाल
लेखकको बारेमा
हुमराज भुसाल