ताजा अपडेट »

सम्पन्न भएको तीन वर्ष हुँदा पनि सञ्चालनमा आएन टेकु पुल

आइतबार, १३ भदौ २०७८, १६ : १०

काठमाडौँ । निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि टेकु पुल अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण व्यवसायीले कम गुणस्तरको पुल निर्माण गरेपछि अहिले सो पुल अदालती प्रक्रियामा छ । पप्पु कन्सट्रक्स प्रालिले तोकिएको डिजाइनभन्दा फरक गरी निर्माण गरेको सडक विभागले बताउँदै आएको छ । पुलको माथिल्लो भाग (सुपर स्ट्रक्चर) मा समस्या देखिएपछि विभागले अहिले सो पुलमा सवारीसाधन र यात्रुलाई हिँड्न दिएको छैन ।

उक्त पुल भत्काउन पनि रकम माग गर्ने योजना बनाइएको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपाीले बताए । डिभिजन र निर्माण कम्पनीबीच विवाद भएपछि अहिले सो विषय कानूनी प्रक्रियामा छ । मुद्दा प्रक्रियामा रहेकाले अन्तिम सुनुवाइ पर्खिएको उनले बताए । उनले भने, “व्यवसायी र डिभिजनको कुरा मात्रैभन्दा कानूनी झमेलामा फसेको विषय हो, निर्णय आउनासाथ अघि बढिनेछ ।” अहिले हिँड्न र सवारीसाधन चल्न नदिइएको उक्त पुल कति भागसम्म भत्काउने वा कसरी बलियो बनाउने बनाउने भनी अहिले नै टुङ्गो लागिसकेको छैन । डिभिजन र निर्माण कम्पनीबीच जुन कुरामा विवाद भएको थियो त्यो टुङ्गो लागेपछि मात्रै विकल्पका बारेमा छलफल हुनसक्ने प्रमुख नेपालीले बताए । सो मुद्दा अदालती प्रक्रियामा गएको एक वर्ष भइसकेको छ । उनले भने, “कोभिडका कारण नियमित सुनुवाइ नभएकाले टुङ्गो लागिसकेको छैन ।”

सो पुल निर्माणका लागि सरकारले २०६९/७० को ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले तीन वर्ष पहिले पुल सम्पन्न गरे पनि अहिले बन्द गरिएको छ । निर्माण सम्पन्न भएपछि केही समयसम्म पुल सञ्चालन गरिए पनि कम गुणस्तरको भएकाले बन्द गरिएको डिभिजनले जनाएको छ । अहिलेसम्म डिभिजनले सो पुलको जिम्मेवारी लिइसकेको छैन । ठेक्का तोडिएपछि सवारीसाधनलाई चल्न नदिने गरी बन्द गरिएको प्रमुख नेपालीले बताए ।

जिम्मा लिएपछि पुलमा कुनै समस्या आउँदा त्यसको जिम्मेवारी आफ्नो हुने भए पनि अहिलेसम्म सो पुल निर्माण व्यसायीको जिम्मेवारीमा छ । तोकिएअनुसार (स्पेशिफिकेसन) अनुसार निर्माण नभएपछि पुल स्वीकार नगरिएको डिभिजनले जनाएको छ । पुल कति बलियो छछैन भन्दा पनि कसरी गर्ने सहमति भएको थियो त्यो अनुसार नभएको प्रमुख नेपालीले बताए । यो क्षमताको हुनुपर्छ भनेको पुल त्योभन्दा केही कम क्षमताको भए पनि स्वीकार गर्न नसकिने उनको भनाइ छ । उहाँले भन्नुभयो, “२० टन बोक्न सक्ने हुनुपर्नेमा १९ मात्र बोक्नसक्ने क्षमता हुँदा त्यसले तत्काल काम त दिन्छ तर त्यो सम्झौताअनुसार हुँदैन ।”

अहिलेसम्म हेर्दा पुलको माथिल्लो भाग (सुपर स्ट्रक्चर) मा मात्रै समस्या देखिएको छ । परामर्शदाता कम्पनीले अध्ययन गर्दा पनि माथिल्लो भागको जुन खण्डमा समस्या छ त्यो मात्रै भत्काए पुग्छ भन्ने राय दिएको डिभिजनले जनाएको छ । ‘सुपर स्ट्रक्चर’ को एउटा खण्ड बाहेक र त्योभन्दा तलको भागमा अहिलेसम्म समस्या भएको नपाइएको प्रमुख नेपालीले जानकारी दिए ।

उनका अनुसार पहिले नै इञ्जिनीयरले प्रमाणित गरेको भाग भत्काउनु पर्दैन । उनले भने, “अहिले समस्या देखिएको भाग भत्काउँदा अरु भागमा पनि समस्या छ भने देखिन सक्छ ।” निर्माण कम्पनीले सम्पन्न भएको भने पनि डिभिजनले निर्माण कम गुणस्तरको भएको भन्दै स्वीकार गरेको थिएन । डिभिजनले स्वीकार नगर्ने भागको व्यवसायीलाई भुक्तानी असुल गर्न पर्दैन ।

देशभरमा एक हजारभन्दा बढी पुल निर्माणाधीन छन् । सडक बनिसकेका स्थानमा पुल नहुँदा सडक सञ्चालनमा आउन सकेको छैन । सङ्घीय राजधानी काठमाडौँको केन्द्रमा रहेको यो पुल भने सम्पन्न भएको वषौं बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । यस क्षेत्रमा हिँड्ने कतिपयलाई पुलका बारेमा थाहा छ भने थाहा नहुने बनिसकेको पुल किन चल्न नदिइएको भन्नेमा अन्योल हुने गरेका छन् । सोही कम्पनीले जिम्मेवारी लिएको तीन कुनेस्थित वाग्मती पुल पनि समस्याग्रस्त छ । पटकपटक अवधि थप हुँदा पनि निर्माण सम्पन्न नभएपछि विभागले पुरानो ठेक्का तोडेर नयाँ ठेक्कामार्फत पुल निर्माण अघि बढाइरहेको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।