८ चैत्र २०७९, बुधबार

Mar 22, 2023

फाइल तस्वीर

म्याग्दी । रघुगङ्गा गाउँपालिका–६ रायखोरको पहिरो खसेर बिहीबार थुनिएको रघुगङ्गा नदीमा करिब एक किलोमिटर लामो, १५ मिटर चौडाइ र १० मिटर गहिरो तलाउ बनेको छ । 

Advertisement

तलाउ भरिएर कालीगण्डकीको सहायक रघुगङ्गा नदी पुरानै स्वरुपमा बगे पनि निरन्तर खसिरहेको पहिरो र तलाउको सतह नघटेकाले जोखिम कायमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत साउन ८ गते धौलागिरि गाउँपालिका–१ खास्टा भन्ने ठाउँमा पहिरो खसेर म्याग्दी नदीको सहायक गुर्जा खोला थुनिँदा बनेको तलाउ अझै छ । रघुगङ्गा र गुर्जाको तलाउ एकै पटक फुटेर बगेका अवस्थामा तटीय क्षेत्रमा बाढी आउने र कटान गर्ने जोखिम हुने भएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

कालीगण्डकी, म्याग्दी र रघुगङ्गा जलाधार क्षेत्रमा विभाजित जिल्लामा बर्सेनि पहिरोले नदी थुनिने, बाढी आउने र कटान गर्ने समस्या छ । म्याग्दीसमेत कार्यक्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेल कमजोर भूगोल र भिरालो जमिन भएको म्याग्दीमा गहिरिएर बगेका नदी थुनिने जोखिम धेरै भएको बताउँछन् ।

“खोलाभन्दा माथिल्लो क्षेत्रको जमिन धेरै भिरालो मात्र होइन पहाडको चट्टान र माटो कमजोर छ”, उनले भने, “अत्यधिक वर्षा, भूकम्प, विकास निर्माणजस्ता प्राकृतिक र मानवीय कारणले जमिन असन्तुलित भएर पहिरो खस्दा साँघुरो भई गहिरिएका खोला थुनिएका हुन् ।” जिल्लामा बर्खा र हिउँद याम दुवै समयमा पहाड भत्किएर तथा पहिरो खसेर नदी थुनिएको इतिहास छ । बर्खामा बर्सातको कारण खसेको पहिरोले नदी थुनिने गर्छ । हिउँदमा भूकम्प र आफैँ पनि सुक्खा पहिरो गएको एक दशकभन्दा बढी समय म्याग्दीमा बसेर काम गर्नुभएका उनले बताए ।

विसं २०७२ जेठमा बैसरी, २०५६ असोजमा भुरुङ–तातोपानी, २०४५ असोजमा छ्यारछ्यारे, २०४२ मा दाना, २०७३ मा बेगखोला, २०६८ मा पाखापानीको औल, २०७५ मा मराङखोला र रघुगङ्गा, २०७७ मा अन्नपूर्णको रुप्से, मङ्गलाको हिलवाङखोला थुनिँदा ठूलो जनधनको क्षति भएको थियो ।

भूकम्पले चर्किएको अन्नपूर्ण गाउँपालिकाको काफल डाँडास्थित पहाडसहित खसेको पहिराले ३० घरधुरीको बसोबास भएको रघुगङ्गा गाउँपालिकाको बैसरी पुरिनुका साथै कालीगण्डकी नदी १८ घण्टा थुनिएको थियो । म्याग्दी नदीलाई करिब एक घण्टा थुनेको र सिङ्गो बस्तीनै पुरेको छ्यारछ्यारेको पहिरोले १०४ जनाको ज्यान लिएको थियो । 

बेगखोला थुनिएर आएको बाढीले विसं २०७३ भदौमा एक जना मानिस, ११ वटा घर, झोलुङ्गे पुल र बेनी–जोमसोम सडकको बेलिब्रिज बगाएको थियो । मालिका गाउँपालिकाको रितुङ, रघु गङ्गाको घारखोला, अन्नपूर्णको नीलगिरि, घलेम्दी, दोवाखोला पनि थुनिने गर्छन् । कमजोर भूबनोट र भिरालो जमिन भएको ठाउँमा जलविद्युत् आयोजना निर्माणका लागि गरिएको बलास्टिङ र सडक निर्माणका क्रममा डोजर चलाउँदा हुने कम्पनले जमिनलाई हलचल गराएको छ । 

जिल्लाका अधिकांश बस्ती नदीको तटीय क्षेत्र र पहाडको शिरमा छन् । सहायक नदीमा आउने बाढी म्याग्दी र कालीगण्डकी नदीमा मिसिन्छ । विसं २०७५ भदौ अन्तिममा बगरखोला भन्ने ठाउँमा खसेको पहिरोका कारण राहुघाट नदी थुनिएर आएको बाढीले झोलुङ्गे पुल, घ्याँसीखर्कको रितुङ माविको भवन, केही घर, गलेश्वर र बेनी बजार संरक्षणका लागि निर्माण भएको तटबन्ध बगाएको थियो ।  

विसं २०७७ को साउनमा अन्नपूर्णको दानास्थित रुप्से खोलामा पहिरो खसेपछि आएको बाढीले रुप्सेको एउटा रिसोर्ट, एक वटा एक्साभेटर, बस बगाउनुका साथै निर्माणाधिन मोटरेबल पुल, पर्यटकीयस्थल रुप्से झरना र संसारकै गहिरो अन्धगल्छीलाई तहसनहस पारेको थियो । सदरमुकाम बेनी, मालिकाको दरबाङ, मङ्गलाको बाबियाचौर, सिङ्गा, भुरुङ तातोपानी, पोखरेबगर, तिप्ल्याङ, घुमाउने ताल, राहुघाट, घ्याँसीखर्कका बस्तीमा बर्सेनि कटान हुने गरेको छ । बस्तीसँगै जलविद्युत् आयोजनाका बाँध, सिँचाइ आयोजनाका नहर, सडक, मोटरेबल पुल र झोलुङ्गे पुलमा बाढीले क्षति गरेको छ । 

भू–तथा जलाधार संरक्षण कार्यलय पर्वतको बेनीस्थित सम्पर्क एकाइका प्रमुख सहायक संरक्षण अधिकृत शम्भुकुमार मिश्रले संरक्षण र वातावरणमैत्री विकास, तटीय क्षेत्रमा नदी नियन्त्रणका लागि संरचना निर्माण र सुरक्षित ठाउँमा बस्ती विकास गर्नुपर्ने बताउँछन् । “भिरालो जमिन भएको र नदी किनारको तटीय क्षेत्रको बस्ती जोखिममा छन्”, उनले भने, “जोखिमयुक्त ठाउँमा तटबन्ध गरी नदी नियन्त्रणका साथै विकास निर्माणका कामलाई व्यवस्थित र वातावरणमैत्री बनाउन आवश्यक छ ।” 

प्रतिकृया दिनुहोस्

Flash News

स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो लागुऔषधसहित ९ जना पक्राउ राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा : राप्रपा भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ? शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’