ताजा अपडेट »

घोराहीमा २० करोडको फनपार्क

आइतबार, ०६ भदौ २०७८, १८ : ४९
4 Shares

दाङ । घोराही उपमहानगरपालिका- १० अमराईमा दाङ फन भ्याली नामक फन पार्क सञ्चालनमा आएको छ । पार्क सञ्चालनमा आएपछि अहिले स्थानीय पर्यटकको पहिलो रोजाइ बन्न थालेको छ ।

तुलसीपुर १० की सीता नेपालीले यस ठाउँमा सुविधा युक्त पार्क सञ्चालनमा आएको थाहा पाएपछि घुम्न आएको बताइन् । उनले अन्य पार्कभन्दा यस पार्क धेरै राम्रो लागेको बताइन् । घोराही र तुलसीपुरको बीच भागमा रहेको र यातायातको पनि सहजता भएकाले बाह्य जिल्लाका पर्यटकहरू पनि घुम्न आउने उनले बताइन् । यो पार्क दाङका युवाहरूको संयुक्त लगानीमा सञ्चालनमा आएको हो । करिव २० करोड रुपैयाँ लगानी भएको बताइएको छ ।

फन पार्कमा गेष्ट रुम, पार्टी प्यालेस, रेष्टुरेन्ट, इन्डोर गेम, लाइज जिम, ब्याडमिन्टन कोट, बाल उद्यान, वाटर पार्क, प्रतियोगिता गराउन मिल्ने स्विमिङ पुलको व्यवस्था गरिएको पार्कका महाप्रबन्धक नरेशकुमार श्रेष्ठले बताए । उनका अनुसार पिकनिकको लागि पनि छुट्टै व्यवस्था समेत गरिएको र निश्चित रकम लिएर पिकनिक खान दिइने छ ।

अहिले वाटर पार्क, स्विमिङ पुल बाहेकका सेवा सुरु भइसकेको छ। त्यस्तै‚ अन्य संरचनाहरू थप्ने काम भइरहेको समेत उनले बताए। पार्कमा बालबालिकाहरू मात्र नभई अभिभावकहरू पनि रमाउन सक्ने खालका विभिन्न संरचनाहरू तयार परिएको महाप्रबन्धक श्रेष्ठले बताए।

हालसम्म करिब १५ करोड लगानी भइसकेको र पूर्ण रुपमा तयार गर्न अझै ५ करोड रुपैयाँ लगानी लाग्ने दाङ फन भ्याली पार्कका अध्यक्ष मिनराज घिमिरेले बताए । उनका अनुसार कोरोनाका कारण सामग्रीको मूल्य वृद्धि भएकाले लागत बढ्ने देखिएको छ । जिल्लामा विभिन्न क्षेत्रमा काम गर्ने तथा ब्यबसाय गर्दै आएका ११ जना व्यक्तिको लगानीमा फनपार्क सञ्चालनमा आएका समेत उनले बताए । फनपार्क ३ बिघा ५ कट्ठा जग्गा भाडामा लिएर सञ्चालन गरिएको समेत उनको भनाइ छ ।

एकै स्थानबाट धेरै सुविधा सहितको यस पाकै जिल्ला मै पहिलो रहेको सञ्चालकहरुको दावी छ । पार्कमा ५० जनाले रोजगारी पाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।