१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

राजनीति सहज छैन,हुँदैन पनि । यो कठिन त्याग, समर्पण, दृढता, स्वच्छ तत्परता, इमान्दारिता , लगाव र जवाफदेहिताको घोतक हो । राजनीति ओठे भाव होइन । झोले लगाव पनि त होइन । यो मन मस्तिष्कबाट उब्जिने भाव हो । परिवर्तित समयानुसार राजनीतिको स्वभाव बदलिएको छ, विकृत भएको छ । आज राजनीति भनेको तिकडम, जालझेल, फट्याइँ, धुर्त्याइँ, दुष्ट्याइँ, र गुलामीको सूचक हो । राजनीतिको पहुँच प्रत्यक्षतःजनता सम्म हुनु पर्दछ । जनताको पनि राजनीतिमा पहुँच सहज हुनु पर्दछ । संसद भित्र एकजना सांसदले अर्को सांसदलाई ‘मेन्टली फिजीकली फिट हुनु हुन्न’ भनिएको अवस्था छ । जब विकृति टुप्पोबाट पलाउँदछ त्यस अवस्थामा सर्वत्र प्रदुषण चुलिन्छ । त्यसैले त आज राजनीति मूलतःनेतामुखी, झोले, बैठके, हुक्के, छाते, सुसारे, दलाल, गुलाम र माफियामूखि भएको छ ।

Advertisement

जसले तिकडम गर्न सक्यो, धुरी भत्काउन सक्यो, ओठे बोली बोल्न सक्यो, म आगो हूँ भन्दै लड्डु लडाउँदै चिनी सोहोर्न सक्यो, आफूलाई गुल्ट्याउँदै एउटा दलबाट अर्को र अर्कोबाट अर्कोमा पुर्याउन सक्यो, कसैले टप्प टिपेर सत्तामा नपुर्याइदिएसम्म निरन्तर गुल्टिरहन सक्यो त्यस्ता राजनीतिक व्यक्तित्वहरू चर्चाको शिखरमा रहन्छन् । शीर्ष नेताहरूको अनेकौं काण्ड र भ्रष्टाचारहरू पोलपाल भई रहेको छ तरपनि हामी जनता तिनीहरूलाई निरन्तर सलाम ठोकि नै रहेका छौ । तिनीहरू भ्रष्ट छन् ता पनि राजनीतिमा स्थापित छन् । नेताहरूको दुर्गन्धलाई कार्यकर्ताहरूले मात्र होईन हामी जनताले पनि सुगन्धित भन्न थालेका छौ । सांसदहरूको किनबेच त सामान्य भईनै सक्यो अब त निर्वाचनमा हामी मतदाताहरूले खुल्लमखुला ‘जसले सबैभन्दा बढी रकम दिन्छ त्यो उम्मेदवारलाई भोट दिन्छौं ।’ भन्न मात्र बाँकी छ । त्यस्तो भईनै हाल्यो भने पनि आश्चर्य मान्नु पर्ने छैन, किनकी हाम्रो राजनीतिको दिशा र नेताहरूको कर्म कमाउ धन्दातर्फ निरन्तर उन्मुख छ ।

शेर बहादुरलाई तामदानमा बसाई सत्तामा पुर्याउन नेपाल, प्रचण्ड, बाबुरामहरू सफल भएकै हो । जसो गर्दा पनि ओलीलाई राजनीतिक रूपमा लडाउन, ढलाउन, गलाउन नसकेपछि गठबन्धनका थकित नेताहरू प्रतिनिधि सभाको पुनःस्थापनासंग–संगै शेर बहादुरलाई प्रधानमन्त्रीमा नियुक्तिको लागि किटानी आदेश जारी गरि दिन सर्वोच्च अदालतको शरणमा गएको र सोही बमोजिम सर्वोच्चले आदेश परमादेश जारी गरेको आमजनताको मानसपटलमा ताजा छ ।

गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको सम्बन्धमा २०७८ साउन २६ गते ‘यो सरकार जनादेशी होईन परमादेशी हो । आगामी संसदमा जस्केलोबाट होईन मूल ढोकाबाट भारी बहुमतको साथ प्रवेश गर्नेछु भन्दै औंलो ठड्याउदै दश औंला पनि जोड्दै कोट्याइ–कोट्याइ प्रतिनिधि सभामा ओलीको हुङ्कार’ हामी सबैले सुन्यौं देख्यौं बुझ्यौं । शेर जंगलमा बिन्दास विचरण गर्दछ । कसैसँग डराउदैन, तर एउटा सानो जनावर हाइनासँग निकै डराउदछ सावधान रहन्छ । हाइना निकै होशियार हुन्छ । हाइनाको समूह नजिक देख्यो भने शेर निस्फिक्री रहन सक्दैन । किनकी मौका पाउने बित्तिकै हाइनाको समूहले घेराबन्दी गरेर घातक आक्रमण गर्दछ ।

कथमकदाचित गठबन्धन सरकार भीषण राजनीतिक संकटमा अल्झियो सही निकास दिन सकेन, किंकर्तव्यविमूढको अवस्थामा जकडियो भने ब्वाँसो प्रवृत्तिका सत्तासहभागी दलका नेताहरूले आफ्नो एट्टीट्यूड (प्रवृत्ति) देखाउने छन् । आफ्नो पोजीशन क्लिन देखाउन उलिन्काठमा बसाइ प्रधानमंत्रीको कुर्सीमा पुर्याइएका देउवालाई छिर्की लगाउन पनि सक्छन् । किनकी राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन । कसैप्रति पनि चिरकालसम्म विश्वस्त रहन, भर पर्न र धुक्क हुन सकिदैन ।

आजको अवस्थामा प्रधानमंत्रीको कुर्सीमा बस्नु आनन्द, खुशी र जितको अवस्था होईन । चुनौतीको अवस्था हो । त्यसो त नेपाली कांग्रेस चुनौतीसँग डराउने पार्टी होईन । ने.का.ले सृजनशील एवं जनमूखि ढंगमा चुनौतीहरूको सामना गर्दै आएको छ । तथापि परिवर्तित समयानुकूल आफूमा शेरकोसँग–सँगै हाइना स्वभाव पनि विकसित गर्नु आजको राजनीतिक आवश्यकता हो । अन्यथा सहयात्रीहरूले तामदानमा बसाइ बसाइ बोकी बोकी चुर्लुम्म डुबाइ दिने छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण