ताजा अपडेट »

दुधको साक्षी बिरालो : जो व्यवसायी उहि उपभोक्ताको पहरेदार

शुक्रबार, १५ साउन २०७८, १८ : २०
42 Shares
शुक्रबार, १५ साउन २०७८
42 Shares

बुटवल । बुटवल उपमहानगरका विभिन्न ठाउँमा रहेका पसल तथा बजारमा विहिबार विहानै अनुगमन भयो । अनुगमन समितिको संयोजक एवं उपमहानगरकी उप-प्रमुख गुमादेवी आचार्यसहितको टोलीले सो क्रममा कुहीएको मासु तथा अस्वस्थकर माछा बरामद गरी नष्ट गर्यो भने मापदण्ड विपरित सञ्चालन भएका पसल तथा बजारहरुलाई सुधारका लागि चेतावनी दियो ।

बुटवलको नेपालगञ्ज रोडमा रहेको सद्दाम माछा एण्ड मासु पसलमा अनुगमन टोलीले ३८ केजी अस्वस्थ माछा बरामद गरेको थियो भने भुड्किचोकमा अवस्थित ताहिर मासु पसलबाट २५ केजी कुहीएको मासु बरामद गरी नष्ट गर्यो । यसरी जनस्वास्थ्यको ख्यालै नगरी अव्यवस्थित र अस्वस्थकर रुपमा पसल सञ्चालन गरिरहेका सञ्चालकहरुलाई अनुगमन टोलीले सुधारका लागि चेतावनी दिएर छाडेको थियो ।

अनुगमन समितिमा उप-प्रमुख आचार्यसहित उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका अध्यक्ष तेजकुमार पाठक, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, मासु व्यवसायी संघका मोहन खत्री, नारायण जिसी, उपमहानगरका कर्मचारीहरु प्रकाशमणि बस्याल, नगरप्रहरी प्रमुख जयेश्वर पाण्डे र सञ्चारकर्मीहरुको सहभागिता थियो ।

अवैध रुपमा बजार तथा पसल सञ्चालन गरिरहेकाहरुलाई अनुगमन टोलीले आवश्यक सुधार तथा चेतावनी दिएर छाडेको थियो । यसरी समय-समयमा बजार तथा पसल अनुगमन गरिए पनि दोषीलाई चेतावनी दिने र सामान बरामद गरी नष्ट गर्ने बाहेका कारबाही भने नगन्यमात्रा हुने गरेको पाइन्छ । विहिबारको बजार अनुगमनमा पनि खुलेआम कुहीएको मासु विक्रि गरिरहेका सञ्चालकहरुलाई सामान जफत गरी नष्ट गर्ने बाहेका कारबाही भएन । दोषिले सजिलै उन्मुक्ति पाउने अवस्थाले यी र यस्ता घटनाहरुमा कमी नआउने उपभोक्ताहरुको बुझाई छ ।

आवश्यक खबरदारी तथा सचेतना गराउने निकायको नेतृत्व तहमा समेत तिनै व्यवसायी रहेका कारण उपभोक्ताको हित संरक्षणको विषय कमजोर हुने गरेको छ । विभिन्न समयमा हुने बजार अनुगमनहरुमा समेत तिनै उद्योगी व्यवसायीहरुलाई सहभागि गराउँदा सहज हुने भए पनि उपभोक्ताको अधिकारले कम महत्व पाउने जानकारहरु बताउँछन् ।

उपभोक्ताको आवाज उठाउने निकाय नै ‘दुधको साक्षी बिरालो’

उपभोत्ताका अधिकारको सवाल उठाउनका लागि नेपालमा उपभोत्ता हित संरक्षण मञ्च नेपाल गठन भएको छ । यसको केन्द्रीय अध्यक्ष ज्योति बानियाँ हुन । उनी पेशाले कानून व्यवसाय हुन् । यसको सञ्जाल देशव्यापी हुने क्रममा छ । पछिल्लो समय संघ, प्रदेश र स्थानीय तहमा उपभोत्ता हित संरक्षण मञ्च गठन हुने क्रम जारी छ । यसरी गठन हुने मञ्चमा सामाजिक व्यक्तिले नेतृत्व गर्नुपर्ने हो । कुनै पनि व्यवसायमा संलग्न मञ्चको सदस्यले उपभोत्ताको अधिकार सवाल उठाउन सक्दैन । किनकी सवाल उठाउने नै उपभोत्तामैत्री नभई व्यवसायी मैत्री हुन्छ । यस्तोमा उपभोत्ता अधिकार मञ्चले उठान गर्ने मुद्दा जनताले विश्वास नगर्न पनि सक्छ ।

तर त्यहि उपभोत्ताका अधिकार उठान गर्ने नेतृत्व पङ्तीनै पछिल्लो समय व्यवसायीको कब्जामा पर्न थालेको छ । त्यसको एक उदाहरण हो लुम्बिनी प्रदेश र स्थानीय तहमा गठित उपसमितिहरु । उपभोत्ता हित संरक्षण मञ्च लुम्बिनीका अध्यक्ष तेजकुमार पाठक हुन । उपाध्यक्ष प्रभात कुमार ठकुरी (बाँके), सचिव दुर्गा प्रसाद गौतम (रुपन्देही) र कोषाध्यक्ष क्रृषि आजाद (रुपन्देही) हुन् । ४ जना पदाधिकारी मध्ये ३ जना रुपन्देहीका छन् भने एक जना बाँकेका छन् ।

जसमा रुपन्देहीका दुई पदाधिकारी व्यवसायी हुन । तेज कुमार पाठकको तिलोत्तमामा पाठक दालमोट उद्योग रहेको छ भने दुर्गा प्रसाद गौतम सैनामैनामा शुभ लाभ कलर हाउँस चलाउँदै आएका छन् । उपभोत्ताको अधिकारको सवाल उठाउने नेतृत्व पङ्तीनै व्यवसायी हुँदा उपभोत्ताका खास अधिकारका मुद्दा ओझेलमा पर्न सक्ने कानून व्यवसायी महेन्द्र पाण्डे बताउँछन् । ‘उपभोत्ताको नेतृत्व उपभोत्ताले गर्नुपर्छ । तर यस्तोमा व्यवसायीले नेतृत्व गर्न हुन्न भने होईन तर उहाँहरु व्यवसायीहरुप्रति भन्दा पनि उपभोत्ताप्रति उत्तरदायि हुनु पर्यो ।’–उनले भने । कुनै एक व्यवसाय सञ्चालन गर्ने भए पनि अन्यका लागि स्वम् पनि उपभोत्ता हुने भएकाले व्यवसायीको पक्षपोषण भने गर्न नमिल्ने उनले बताए । दोहोरो भूमिकामा रहँदा विरोधाभास पनि हुन सक्ने भएकाले यस्तोमा उपभोत्ता पक्षमा वलाकलत गर्न नेतृत्व पङ्तीले सक्नुपर्ने उनले बताए ।

‘सबै व्यवसायी कन्जुमर हुन । सबै कन्जुमर व्यवसाय हुन सक्दैनन, यो अलग विषय हो । लिडरसीप गर्न हुन्न भन्ने होइन दोहोरो लिडरसीपमा विरोधाभास हुन सक्छ ।’-उनले भने । अहिले उपभोत्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले स्थानीय तहमा पनि उपसमितिहरु गठन गर्न थालेको छ । यसरी गठन भएका उपसमितिहरुमा पनि व्यवसायी नै नेतृत्व पङ्तीमा छन् । भैरहवामा २०७६ असोज ११ गते उपसमिति गठन भयो । जसको नेतृत्व नरेन्द्र भण्डारीले गरेका छन् । उनी होटल सञ्चालक हुन । त्यस्तै बुटवल उपमहानगर कमिटिमा गठन भएको समितिमा अध्यक्ष समुन्द्र जि.सी छन् । उनले बुटवलको बसपार्क ईटाभट्टीमा विशाल होटल चलाउँछन् ।

सैनामैनामा गठित उपसमितिका अध्यक्ष प्रदेशका सचिव समेत रहेका दुर्गा प्रसाद गौतम हुन् । उनी व्यापारी हुन । यी त केही नमूना उदाहरण मात्र हुन । प्रदेशमा गठित समितिका अन्य सदस्य एवं उपसमितिका सदस्यहरु पनि कुनै न कुनै व्यवसायमा जोडिएका छन् । त्यसैले अधिकारको आवाज बोल्नेभन्दा पनि उपभोत्ता हित संरक्षण मञ्च अधिकारलाई कुण्ठित गर्न खोज्नेहरुलाई प्रोत्साहन गर्न सक्ने आशंका बुद्धिजिविहरुले गर्ने गरेका छन् । अर्थ क्षेत्रका जानाकार मनिकर कार्की व्यापारी, व्यवसायी नै उपभोत्ताको हित संरक्षण मञ्चमाहुँदा त्यहाँ हुने गरेका विकृती विसङ्गती बाहिर आउन नसक्ने बताउँछन् ।

उनले उत्पादक, वितरक र सरकारले उपभोत्ताका पक्षमा कुनै पनि ठोस पहल कदमी समेत नचालोको बताए । उपभोत्ताका नाममा गठित भएका मञ्च उत्पादकहरुहरुको राजनीति गने थलो बनेको समेत उनले बताए । ‘उहाँहरुले आफ्ना व्यवसायी साथीलाई नबचाई, आम उपभोत्तको सवाल उठाउनुहुन्छ भन्नेमा ढुक्क हुन सकिदैन । यो त दुधको साक्षी बिरालो जस्तो पो भयो ।’-उनले भने ।

उपभोत्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका कोषाध्यक्ष ऋषि आजद उपभोत्ताको सवाल राम्रोसंग उठाएकै आधारमा कार्य मुल्याङकन गरेर मञ्चमा व्यक्तिहरु राखिएको बताउँछन् । ‘केही व्यवसायमा लागेका साथीहरुले मञ्चको नेतृत्व सम्हालेको भएपनि उहाँहरु आम उपभोत्ताभन्दा बढि सचेत र सुधारको पहलमा लागेको हामीले देखेका छौ ।’-उनले भने, ‘केही व्यक्ति अपबाद हुने रहेछन् । कर्मभन्दा सेवालाई विशेष ध्यान दिने । यसरी बुझौ न मञ्चको नेतृत्वकर्तालाई ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।