ताजा अपडेट »

टोल शिक्षामार्फत पठनपाठन शुरु

शनिबार, ०९ साउन २०७८, १२ : ३९
4 Shares

रोल्पा । रोल्पाको एक सामुदायिक विद्यालयले टोल शिक्षामार्फत पठनपाठन शुरु गरेको छ । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले असारको अन्तिम सातादेखि टोल शिक्षामार्फत पठनपाठन थालनी गरेको हो । विद्यार्थीमा पढ्ने बानी घट्दै गएको भन्दै अभिभावकले पटकपटक वैकल्पिक विधिवाट पठनपाठन गर्न गरेको आग्रह वमोजिम तल्ला कक्षामा टोल शिक्षा शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले बताए ।

टोल शिक्षामा बढीमा २५ जना विद्यार्थीलाई एउटा कक्षामा राख्ने गरिएको छ । कोरोना महामारीलाई ध्यानमा राखेर सावधानी अपनाउँदै टोल शिक्षा शुरु गरिएको न्यौपानेको भनाइ छ । कोरोनाको दोस्रो लहरसँगै बन्द भएको विद्यालय खुल्ने सुनिश्चित नहुँदा अभिभावकको माग बमोजिम टोलटोलमा पठनपाठन शुरु गरिएको विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले जानकारी दिए । विद्यालय बन्द रहेपनि पढाइ बन्द नहोस् भनेर यो विधिबाट पठनपाठनलाई निरन्तरता दिएको प्रधानाध्यपक पोख्रेलले बताए । कक्षा नर्सरीदेखि तीनसम्म टोल शिक्षा सुरु गरेको विद्यालयले जनाएको छ ।

चालु शैक्षिक सत्रमा नर्सरीदेखि कक्षा तीनसम्म भर्ना भएका ४२३ मध्ये ३५८ विद्यार्थी टोल शिक्षामा समावेश भएको विद्यालयका शिक्षक मुकेश हमालले बताए । टोल शिक्षामा सहभागि हुनेको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले भर्ना भएको तर टोल शिक्षामा नआएका विद्यार्थीलाई पनि सहभागी गराउने पहल भइरहेको शिक्षक हमालको भनाइ छ । लामो समय विद्यालय बन्द भएका कारण उनीहरु सदरमुकाम छोडेर घर गएका हुनसक्ने उनको भनाइ थियो ।

विद्यालयले थालनी गरेको टोल शिक्षाले विद्यार्थी पढाइप्रति आशावादी देखिएको अभिभावकको भनाइ छ । लामो समय विद्यालय बन्द रहँदा मोवाइल र टिभी बढी हेर्ने बालबालिका टोलमै गएर पढ्न पाउँदा सिकाइ प्रक्रिया पनि प्रभावकारी हुने अभिभावक मनवहादुर खत्रीले बताए। “विद्यार्थीमा पढ्ने लेख्ने वानी विर्सदै गएको देख्दा दुःख लागेको थियो, टोल शिक्षाले उनीहरुलाई व्यस्त बनाएको छ”, खत्रीले भने ।

सो विद्यालयले गरेको राम्रो अभ्यास जिल्लाका अन्य विद्यालयले पनि अनुसरण गर्न थालेका छन् । बालकल्याण माविले शुरु गरेको टोल शिक्षालाई आफूहरुले पनि अनुशरण गरेको सरस्वती आधारभूत विद्यालय रोल्पा नगरपालिका–२ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगवहादुर वलीले जानकारी दिए ।

जिल्लाका अन्य सामुदायिक र संस्थागत विद्यालयले पनि टोल शिक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । जिल्लाको पहिलो नमूना माविको रुपमा रहेको सो विद्यालयमा करीब दुई हजार ६०० भन्दा बढी विद्यार्थी अध्ययन गर्दछन् । विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य, मानविकि र शिक्षाशास्त्रमा अध्यापन हुँदै आएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्तरगत सिभिल इन्जिनियरिङ विषयमा प्री डिप्लोमा र डिप्लोमा तहका कक्षासमेत सञ्चालन हुँदै आएका छन् ।

रासस
लेखकको बारेमा
रासस