ताजा अपडेट »

अनलाइन पढाएर अतिरिक्त शुल्क असुल्दै निजी विद्यालय

बुधबार, ०६ साउन २०७८, २१ : ०८
36 Shares

बुटवल । विश्वव्यापी कोरोना महामारीले विगत २ वर्षदेखि अस्तव्यस्त बनेको शैक्षिक गतिविधिका बीच केहि निजी विद्यालयहरुले भने सामान्य अवस्थामा जस्तै शुल्क लिइरहेका छन्। सरकारले भौतिक उपस्थिति बिनानै वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न भनेपछि विद्यालयहरुले अनलाइन कक्षाका नाममा पूरा शुल्क उठाउने गरेको गुनासो बढेको छ ।

दैनिक २/४ विषयमा,करिब २ घण्टा वा केही बढी समय अनलाइन कक्षा सञ्चालन गरेकै भरमा निजी विद्यालयहरुले नियमितको जस्तै शुल्क उठाउने क्रम भने रोकेका छैनन् । सरकारले विभिन्न समयमा गरेको निषेधाज्ञाका समयमा पनि अभिभावकहरुलाई शुल्क बुझाउन ताकेता गरिरहेका विद्यालयहरुले विभिन्न शिर्षक तथा उपशिर्षकहरु राखेर शुल्क उठाएको अभिभावकहरुले गुनासो गरेका छन् । रुपन्देहीमा नाम चलेका प्रतिष्ठित शैक्षिक संस्थाहरुबाट नै आफूहरु ठगिएको अभिभावकहरुले गुनासो गरेका छन् ।

विभिन्न समयमा राष्ट्रिय स्तरमा समेत नाम लेखाउन सफल शैक्षिक संस्थाहरुले नै मासिक शुल्कको अतिरिक्त स्टेशनरी शुल्क, सेवा शुल्क, नास्ता शुल्क, ल्याव शुल्क, डिपोजित शुल्क लगायतका उप-शिर्षकहरु जोडेर लुट मच्चाएको भन्दै अभिभावकहरुले गुनासो गरेका हुन् । केही विद्यालयहरुले भने शैक्षिक शुल्क भन्दै नियमितको सरह रकम उठाए पनि स्पष्ट विवरण नै नखुलाएर अभिभावकहरुलाई थमाउने गरेका छन् । विलमा कुन–कुन शिर्षकमा शुल्क उठाइएको हो भन्ने अभिभावकको जिज्ञासामा ती विद्यालयहरुले अहिले विवरण खुलाउन नमिल्ने बताएको एक अभिभावकले उल्लेख गरे ।

यसरी शैक्षिक संस्थाहरुले अनलाइन कक्षामा नाममा पूरै र अतिरिक्त शुल्कसहित असुल्दा समेत सरोकारवाला निकाय स्थानीय सकार तथा अभिभावक संघ समेत चुप बसेका छन् । यसैगरी निजी विद्यालयहरुको छाता संगठन प्याब्सनले समेत आफ्ना सदस्यहरुले गरेका बेथिति बारे बेखबर नै छ । विभिन्न समयमा आन्दोलन र विरोधमा उत्रिरहने विद्यार्थी संगठनहरु समेत यस विषयमा मौन बसेका छन् ।

नियामक निकाय बुटवल उपमहानगरले समेत हालसम्म विद्यालयहरुले उठाउने शैक्षिक शुल्कको विषयमा मौन छ । विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेबापत शुल्क उठाउन पाउने तर छुट गर्ने विषयमा कुनै पनि निर्णय नभएको उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य शाखाका प्रमुख टिकाराम पन्थीले बताए । यसैगरी शैक्षिक शुल्कको विषयलाई लिएर अहिलेसम्म कुनै पनि गुनासाहरु नआएको र आएको खण्डमा आवश्यक कारबाही गर्न सकिने उनले बताए ।

अभिभावकहरुको छाता संगठन रुपन्देही अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवालीले शैक्षिक संस्थाहरुले अतिरिक्त शिर्षकहरुमा शुल्क उठाउन नपाउने उल्लेख गरे । विद्यालयहरुले एक/दुई घण्टा अनलाइन कक्षा सञ्चालन गरेकै भरमा विभिन्न शिर्षक जोडेर शुल्क उठाउनु गलत भएको उनले उल्लेख गरे । नियामक निकाय स्थानीय सरकारहरुले समेत विद्यालयहरुले लिने शुल्क निर्धारण गर्नुपर्ने भएपनि हालसम्म बुटवल उपमहानगरले भने शुल्क निर्धारण नगरेको उनले बताए ।

निजी विद्यालयहरुको छाता संगठन प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले भने शैक्षिक संस्थाहरुले उठाउने शुल्कलाई स्वभाविक रुपमा लिएका छन् । नियमित कक्षा सञ्चालनभन्दा अनलाइन कक्षा सञ्चालन गर्दा शिक्षकहरुलाई थप मार पर्ने बताउँदे उनले शुल्क लिन स्वभाविक भएको उल्लेख गरे । निजी विद्यालयहरुप्रति हेर्ने दृष्टिकोण नै नकारात्मक भएका कारण शुल्क उठाउने कुरालाई गलत देखिएको उनले टिप्पणी गरे । यसैगरी विभिन्न शैक्षिक संस्थाहरुले अतिरिक्त शुल्क उठाएको विषयमा भने आफूहरुलाई जानकारी वा उजुरी आएको अवस्थामा अनुसन्धान गरिने बताएका छन् । कोरोना महामारी र लकडाउनले निम्ताएको समस्याले सबै विद्यार्थीलाई अपूर्णनीय क्षति पुगेको छ भने निजी शैक्षिक संस्थालाई शैक्षिकसँगै आर्थिक घाटा व्यहोर्नु परेको छ । तर, वैकल्पिक शिक्षा,अनलाइन कक्षाको बहानामा केहि समय अध्यापन गराएर पूरै शुल्क अन्य अतिरिक्त शुल्क लिएको भन्ने अभिभावकको गुनासो गम्भीर छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।