July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

आर्थिक विकासमा शिक्षाको भूमिका र महत्व

171

शिक्षा मानव जीवनको एक महत्वपूर्ण आधारभूत पक्ष हो । मानिसले औपचारिक तथा अनौपचारिक माध्यबाट प्राप्त गरेको ज्ञान, सीप , अनुभव आदिको सार रुप नै शिक्षा हो । पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैद्धान्तिक तथा व्यवहारिक विषयको बोध वा ज्ञान पनि शिक्षा नै हो । शिक्षाको महत्व भनेको कुनै विषयमा सिकेर ज्ञाता हुने इच्छाँ वा चाहनाको सिर्जना हुनु पनि हो । शिक्षा मानव जातिको तेस्रो नेत्र भएकोले आजको युगमा देशको आर्थिक रुपान्तरणमा निकै ठूलो महत्व रहेको छ । शिक्षा विना मानिस अन्धो नै हुन्छ । शिक्षा आजका दिनमा मानवको एक महत्त्वपूर्ण सम्पतीको रुपमा रहेकोले यसको महत्व व्यापक छ ।

हरेक विषयका बारेमा जान्ने–बुझ्ने तीव्र इच्छाँ वा चाहना मानिसमा रहको हुन्छ । यस्तो चाहना राख्नु मानवीय स्वभाव नै हो । मानिस जन्मदेखि मृत्यु सम्म शिक्षा आर्जन गर्ने क्रम निरन्तर रुपमा चलिरहन्छ । मानिसले बाल्यकालमा अरूको व्यवहार वा गरेका कार्यको अनुकरणबाट शिक्षा आर्जन गर्दछ। उसले स्कूल र क्याम्पस कक्षामा औपचारिक शिक्षा पाउँछ । त्यसपछि पनि उसको शिक्षा आर्जन गर्ने कार्यचाँहि पुरा भइसकेको हुँदैन। प्रकृति जगत नै मानिसको सबभन्दा ठूलो शिक्षालय वा पाठशाला हो । नदि, पहाड, वृक्ष, वनस्पति अनि चराचुरुङ्गी, किरा–फट्यांग्रा आदि जीवहरूको जीवनलाई शिक्षाको मुहान मान्न सकिन्छ ।शिक्षाको व्यवहारिक, सामाजिक , आर्थिक , राजनैतिक विविध प्रकार महत्व रहेको हुन्छ । प्रस्तुत लेखमा शिक्षाको आर्थिक महत्वका बारेमा चर्चा गरिनेछ ।

१ कृषिको आधुनिकीकरण तथा व्यवसायीकरणः
नेपाली अर्थतन्त्र जस्तो कृषिमा आधारित अर्थतन्त्रको गुणात्मक रुपान्तरणका लागि शिक्षाले महत्वपूर्ण योगदान पुर्याएको हुन्छ । कृषिको आधुनिकीकरण र व्यवसायिकरणको कार्यलाई सञ्चालन गर्नका लागि शिक्षित र व्यवहारिक जनशक्तिको आवश्यकता रहन्छ । जुन कुरा प्राप्ति गर्नको लागि शिक्षाको विकास र विस्तार अनिवार्य सर्त हो । शिक्षित प्राविधिक जनशक्तिको सक्रिय सहभागिताले कृषिको विकासका लागि आवश्यक पर्ने सम्पूर्ण प्रकारको खोज अनुसन्धान सम्भव हुने गर्दछ ।

कृषिको आधुनिकीकरण र व्यवसायिकरण लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरुको विकास केबल शिक्षा क्षेत्रले मात्रै सम्भव रहने गर्दछ । शिक्षाका माध्यमबाट कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायिकरणमा रहने योगदानलाई चीन, अमेरिका तथा अष्ट्रेलियाको कृषि प्रणालीबाट स्पष्ट पारिसकेको छ । शिक्षालाई कृषिको व्यवहारिक पक्ष सँग जोड्न सकिएको अवस्थामा वर्तमान समयमा ६३ प्रतिशत नागरिकले यो पेसा अपनाएता पनि देशको अर्थशास्त्री M. P. Todaro ले भनेका छन् ‘कृषिको विकास , विस्तार तथा आधुनिकीकरणका लागि शिक्षालाई यो क्षेत्र सँग जोड्ने देशको शैक्षिक कार्यक्रम सञ्चालित हुनुपर्दछ ।’

२ बेरोजगारी तथा गरिबी समस्या समाधान
बेरोजगारी तथा गरिबी विकासोन्मुख अर्थतन्त्रका मुख्य आर्थिक समस्याहरु हुन । यी समस्याहरुको दीर्घकालिन तथा व्यवहारिक समाधानका शिक्षाको उल्लेखनिय महत्व रहेको हुन्छ । देशका नागरिकहरुलाई व्यवसायिक तथा मागमा आधारित शिक्षा प्रदान गर्न सकिएको अवस्थामा मात्रै गरिबी तथा बेरोजगारी समस्या समाधान गर्न सकिन्छ । भन्ने कुराको स्पष्ट प्रमाण पेस गरेको छ । व्यवहारिक तथा उच्चस्तरीय प्रविधिमा आधारित शिक्षा प्रदान गर्न सकिएमा त्यो कार्यले नागरिकहरुले उच्चस्तरको ज्याला प्राप्त हुने किसिमका रोजगारीमा संलग्न रहनेछन । जसबाट देशको पूँजी निर्माणको प्रक्रियामा चक्रिय रुपमा सकारात्मक परिवर्तन आई थप रोजगारीका अवसरको सिर्जना भई बेरोजगारी तथा गरिबी जस्ता आर्थिक संकटहरुको सरल र सहज तवरले समाधान गर्न सकिन्छ ।

३.औद्योगीकरणको विस्तार
कुनै पनि देशमा औद्योगीकरणको जग बसाल्ने कार्यमा शिक्षाको भूमिका अतुलनिय रहने कुरालाई यूरोप तथा दक्षिण एसियाका जापान , चीन , मलेसिया आदि देशको अद्यौगिक विकासको ईतिहास र वर्तमानको सफलताले प्रमाणित गरेको छ । नेपालको सन्र्दभमा सन १९३६ देखि औपचारिक रुपले उद्योगहरुको स्थापना र सञ्चालनको कार्यलाई अगाडि बढाइएको छ । यद्धपि प्रयाप्त मात्रामा औद्योगिक जनशक्ति उत्पादनका क्षेत्रमा देशको शिक्षा नीति तथा कार्यक्रम नरहेकोले हामीले शिक्षाको औद्योगिक महत्वबाट भरपुर फाईदा लिन सकिरहेका छैनौं ।

शिक्षा , औद्योगीकरण तथा रोजगारी बीच कार्यात्मक सम्बन्ध रहेको हुन्छ । यी मध्यम एकको विकासबाट देशमा आर्थिक रुपान्तरणको आधार तयार हुने गर्दछ । औद्योगिकरणका लागि आवश्यक पर्ने सम्पूर्ण प्रकारका पूर्वाधारहरुको विकास तथा विस्तारका कार्यमा शैक्षिक जनशक्तिको सहज आपूर्ती शिक्षाको माध्यमबाट मात्रै सम्भव रहेकोले यसको महत्व व्यापक छ । औद्योगिकरणका सम्पूर्ण साधनहरु श्रम, पूँजी, भूमि तथा संगठन सञ्चालन गर्नका लागि शिक्षाको सक्रिय सहभागिता बिना कठिन मात्र नभई असम्भव नै छ । पूँजीगत , उपभोग्य वस्तुको उत्पनदनमा सक्रिय योगदान गरेर शिक्षाले आफ्नो औद्योगिक महत्वलाई प्रमाणित गरिसकेको छ ।

४. मानव विकास सूचांकमा सुधार
कुनै पनि देशको आर्थिक, सामाजिक, शैक्षिक विकास लगायतका क्षेत्रमा भएको प्रगती वा स्तरोन्नतीका बारेमा स्पष्ट जानकारी दिने सूचक नै मानक विकास सूचाङ्क हो । यसले व्यक्ति समाज, समुदाय र देशमा प्राप्त रहेका विविध अवसर र चुनौतीहरुलाई शिक्षाका माध्यमबाट व्यवस्थित तवरले समाधान गरिएको छ , छैन भन्ने कुराको व्याख्या गरेको हुन्छ । मानव विकासका तीन महत्वपूर्ण आधारहरु प्रतिव्यक्ति आय , औसत आयु र शैक्षिक स्तरहरु हुन । यी सूचकहरुमा सकारात्मक सुधार ल्याउनका लागि शिक्षाले उल्लेखनिय योगदान रहेको छ ।

नेपालको सन्र्दभमा सन १९९० मा औसत आयु ५४.४ वर्ष रहेकोमा २०१९ मा ७०.८ वर्ष पुगेको छ । कुल राष्ट्रिय आयमा प्रतिव्यक्ति आय रु १३७२ डलर रहेकोमा २०१९ मा आउदा रु ३४५७ अमेरिकी डलर भएको छ । यी सुधारहरुले शिक्षाले मानव विकास सूचाङ्कमा सुधार गर्न पुराएको योगदानलाई पुष्टि गरेको छ । मानव विकास सूचाङ्कले देशमा रहेको मानव संसाधनको वास्तविक अवस्थालाई प्रमाणित गर्ने गर्दछ भने त्यसमा प्रत्यक्ष योगदान शिक्षाको रहन्छ । मानव शंसाधनको विकास र त्यसको गुणस्तर सुधारमा शिक्षाले गरेको सकारात्मक प्रयासले मात्र देशको आर्थिक विकास र आर्थिक वृद्धिका लागी आवश्यक पर्ने दक्ष, अदक्ष तथा अर्धदक्ष मानविय जनशक्तिको विकास हुने गर्दछ ।

५. विकासका पूर्वाधार विकास र विस्तार
कुनैपनि देशले आफ्ना नागरिकहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनका लागि विकासका पूर्वाधारहरु विद्युत,खानेपानी,स्वास्थ्य , यातायात, सञ्चार आदिमा लगानी गरेको हुन्छ। त्यो लगानीबाट अपेक्षाकृत गरिएको उपलब्धीहरु प्राप्त गर्नका लागि आवश्यक पर्ने सबै प्रकारका जनशक्तिको उत्पादन शिक्षाले मात्रै सम्भव हुन्छ । वर्तमान समयमा विकसित देशका रुपमा परिचय बनाएका देशहरुले विकासका पूर्वाधार विकास तथा विस्तारमा गरेको प्रगतिको मूख्य कारण ती देशहरुले शिक्षाका क्षेत्रमा गरेको लगानीको प्रतिफल हो । विकासोन्मुख देशको विकासका गतिविधिलाई सहि गतिमा हिडाएर आर्थिक रुपान्तरणमा शिक्षाले गर्ने योगदानलाई सन् १९६५ देखि १९८५ सम्ममा चीनले प्राविधिक शिक्षाका लागि आफ्ना नागरिकहरुलाई उत्प्रेरित गरेर विदेशमा अध्ययन गर्न पठाउनुले पनि पुष्टि गरेको छ ।

शिक्षाको आर्थिक महत्व विकसित तथा विकासोन्मुख देशहरुमा फरक फरक दृष्टिकोणबाट रहेको छ । विश्वका सबै देशहरुले वर्तमान समयमा गरिरहेको आर्थिक प्रगतिको रहस्यका रुपमा शिक्षा क्षेत्रमा गरिएको लगानी स्थापित भएको छ । शिक्षा क्षेत्रमा गरिएको लगानीले अल्पकालिन समयमा उपलब्धी नदिने भएता पनि दीर्घकालमा यसबाट प्रतिफल आउने र युगौं युगसम्म निरन्तर रुपमा चलिरहने भएकोले गर्दा नेपाल जस्ता देशहरुले आफ्नो आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउनका लागि शिक्षको आर्थिक महत्वलाई पहिचान गरी देशको शिक्षा क्षेत्रमा गरिएको लगानीलाई दोब्बर बनाउनु पर्छ ।

पछिल्लो अपडेट