ताजा अपडेट »

रुचि कलाकार तर, खेलाडी बनेका विसुराम

शुक्रबार, ०१ साउन २०७८, १७ : १३
16 Shares

हरेक मानिसका आ–आफ्ना पृथक खालका सपनाहरु हुन्छन् । कतिपय मानिसहरुका सपना साकार हुन्छन् भने कतिका जीवनका तरङ्गहरुको बीचमा नै रुमलिएर हराउने गर्दछ् । एउटा सफल कलाकार बन्ने सपना बोकेका बिसुराम के.सी.शारीरिक सुगठन खेलका चर्चित खेलाडी बनेर उदायका छन् । आज हामी उनै खेलाडी केसीको यही बिषयमा चर्चा गर्दैछौ । पिता भक्त बहादुर र माता धनकुमारी खत्रीका सुपुत्रका रुपमा २०३९ सालमा शिवपुरी गा.पा. १ मा बिसुको जन्म भएको थियो ।

बाल्यकालदेखि नै उनलाइ नाँचगान, मादल, बाँसुरी, हारमोनिया र गितार जस्ता बाजाहरु बजाउने सारै रहर लाग्थ्यो। सात कक्षामा हुँदा नाटक लेखेर विद्यालयमा मञ्चन समेत गरेर सबैलाई उनले मख्ख पारे। उनलाई ठुलो भएर एउटा सफल कलाकर बन्ने ठूलो रहर थियो। कलेजतिर पुगेपछि उनले खेलकूदमा चासो राख्न थाले।

बिसु शुरुमा मार्शल आर्ट खेलमा लागे। रंगशालमा गएर कराँते खेलको ट्रेनिङ लिन थाले। खेलको क्रममा घण्टौ दौडने कुद्ने अभ्यास गर्थे । केही समयपछि उनले नेपाली सेनामा भर्ति खुलेको थाहा पाए । उनले दरखास्त दिएर सहजै जागिर खाए। जागिरे भएको छोटो समयमा नै उिनलाई फ्र–भिसा फ्रि–टिकटमा विदेश जाने मौका जुर्यो । बिसु पनि आम नेपालीहरुले जस्तै सुनौलो भविष्यका चाहाना बोकर साउदी अरबतिर हानिए ।

२०६५ सालमा साउदीमा किङ्गडम च्याम्पियन्स जिम उनको भेट नेपाली चर्चित शारीरिक सुगठन खेलाडी किशनदास दिवाकरसँग भयो। उनलाइ नै गुरु मानेर शारीरिक सुगठन खेलबारे ज्ञान आर्जन गर्न थाले। त्यस जिमले आयोजना गर्ने प्रतियोगितामा सहभागि बनेर दोस्रो समेत बने । पहिलो खेलमा उपविजेता भएपछि उनमा थप हौसला बढ्यो ।

उनको खेलयात्रा
-सन् २०१३ मा साउदी अरबमा सम्पन्न अन्तरक्लब किङ्गडम च्याम्पियन्स शारीरिक सुगठन प्रतियोगितामा उनि ७० केजी तौल समूहमा दोश्रो स्थान प्राप्त गरेका थिए ।
-नेपाल व्यायाम मन्दिरबाट आयोजित तेह्रौ धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा उनि ६५ केजी तौल समूहमा सहभागिता जनाएर अनुभव बटुले । (२०७१)
-काठमाडौ जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको प्रथम मिष्टर काठमाडौ जिल्ला स्तरिय शारीरिक सुगठन प्रतियोगिताको ७० केजी तौल समूहमा प्रतिनिधित्व गर्दै रजत पदक (२०७३)
-धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको १४ औँ संस्करणमा उनि ७० केजी तौल समूहमा प्रतिनिधित्व गर्दै पाँचौ स्थान (२०७३)
-नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा भएको छैठौं मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा प्रथम पटक आयोजित पुरुष मेन्स स्पोर्ट फिजिक्स बिधाको १७० सेमी सम्मको समूहमा स्वर्ण पदक जिते । सोही प्रतियोगिताको ७० केजी वजन समूहमा समेत कास्यपदक जित्दै एउटै गेममा दोहोरो पदक हासिल गर्न सफल। (२०७४)
-मिष्टर काठमाडौ जिल्ला स्तरिय शारीरिक सुगठन प्रतियोगिताको दोश्रो संस्करणमा ७५ केजी तौल समूहमा स्वर्णपदक नै कब्जा गरे। (२०७४)
-भक्तपुर जिल्ला शारीरिक सुगठन संघको आयोजनामा तेस्रो मिस्टर भ्याली शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी वजन समूहमा स्वर्णपदक जिते। (२०७४)
-मिष्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको सातौ संस्करणमा पहिलो पटक आयोजित मेन्स एथ्लेटिक्स फिजिक्स प्रतियोगीतामा स्वर्ण पदक लिए। (२०७५)
ड्ड प्रथम नेपाल क्लासिक खुला शारीरिक सुगठन प्रतियोगितामा उत्कृष्ट नवौमा पर्न सफल । (२०७६)
-चौथो मिष्टर काठमाडौ राष्ट्रब्यापी शारीरिक सुगठन प्रतियोगितामा पुरुस फिजिक्स प्रतियोगीतामा रजत पदक जिते । (२०७६)
-बाह्रौ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता १७० सेमी सम्मको समूहमा १७० सेमी सम्मको पुरुष फिजिक्स विधातर्फ पाचौ स्थानमा। (२०७६)

बिसुलाई आफ्नो शारिरीक पोज मध्ये मनपर्ने व्याक डबल आर्म बाइसेप्स र मनपर्ने बड़ी पार्ट एब्स हो । आफ्नो खेलजीवनको सफलताको श्रेय उनले शारीरिक सुगठनका अग्रज खेलाडी सन्जित श्रेष्ठलाई दिन चहान्छन् । उनि भन्छन् ‘सन्जित दाजुले मलाइ प्रतियोगिताहरुमा खानपान लगायत प्रत्येक कुरामा ध्यान दिएर खेल क्षेत्रमा लाग्न विषेश सहयोग गरिरहनु भएको छ । अष्ट्रेलियामा बसोबास गरेपनि वहाँले अनलाइनबाट मलाइ ट्रेनिङ्ग दिइरहनु भएको छ । उहाँले निश्वार्थ हिसावले ट्रेनिङ्ग मात्र नभएर मेरो खेलजीवनका हरेक सुखदुःखमा मलाइ साथ दिनु भएको छ । मेरो खेलजीवनमा सन्जित दाइको नाम लिइन भने त्यो वहाँ प्रति अन्याय हुनेछ ।’

यस खेलमा आउन चाहाने नयाँ पिढींलाई सल्लाह दिँदै उनी भन्छन्, फलाम उचाल्नु मात्र बडीबिल्डिङ्ग होइन। यो त शरिर बनाउन एउटा कला पनि हो । फलाम उचाल्नु भन्दापनि शरीरका जोर्निहरुलाई सुरक्षित पारेर एक्सरसाइज गर्न जरुरी छ । नत्र जीवनभर ढाडकम्मर दुख्ने बेथा हुन सक्छ । व्यायाम गर्न जाने चित्र नत्र विचित्र हुन्छ । प्लेन उडाउन जान्नु ठूलो कुरा होइन, सहजसँगै अफ्ठ्यारो स्थितिमा पनि कसरी अवतरण गर्ने भन्ने जान्नु कुरा महत्वपूर्ण हो । जाने फलामले ज्यान पनि बन्छ नजाने यसले ज्यान पनि लिन सक्छ।

शारीरिक सुगठन खेलका खेलाडीहरुले डाइटमा विशेष ध्यान दिनु पर्ने उनको भनाई छ । उनी भन्छन्, ‘जसरी घर बनाउँदा बालुवा, सिमेण्ट र पानीको उचित समिश्रण आवश्यक हुन्छ । त्यस्तै शरिरलाई पनि कार्बोहाइड्रेट, प्रोटिन फाइवर अन्य मिनरल्सको सन्तुलन आवश्यक पर्छ । म दिनमा चार पटकसम्म भात खान्छु । तर, धेरै मानिसहरु दुइपटक मात्रै खाँदापनि जिउ लागेर हैरान हुन्छन् । याद राख्नुस हामीले भातलाई खाने हो, भातले हामीलाई खाने होइन। कुनैपनि खानेकुरा मात्रामा भर पर्छ । घर बनाउँदा वालुवाको मात्रा बढी भयो भने घर कस्तो बन्ला त ? अनुमान गरौ न । हामीले खाने गरेको डाइटमा पनि मात्रा मिलाउन निकै जरुरी हुन्छ ।’

एउटा कुशल कलाकार बन्ने रहर लिएर अगाडि बढेका बिसुराम के.सी.अन्त्ततः शारीरिक सुगठन खेलका सफल खेलाडी बन्न सफल भएका छन् ।

https://www.globalaawaj.com/archives/116048
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार