ताजा अपडेट »

स्नातक तहको परीक्षा साउनमा

विहीबार, ३१ असार २०७८, १२ : ०५
2 Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले दुई लाख ५० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने स्नातक तहको वार्षिक परीक्षालाई स्वास्थ्य सावधानीपूर्वक अपनाउँदै भौतिक रूपमै सञ्चालन गर्नेभएको छ । परीक्षा भौतिक रूपमा नै सञ्चालन गर्न सरकारले स्वीकृति दिएपछि स्वास्थ्य सावधानी अपनाउँदै अगाडि बढ्ने योजना विश्वविद्यालयले बनाएको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले सरकारबाट स्नातक तहको परीक्षा सञ्चालन गर्न अनुमति लिइएको जानकारी दिए । उनले सावधानीपूर्वक परीक्षा सञ्चालन गरिने बताए । विद्यार्थीलाई सामाजिक दूरी कायम गरेर परीक्षा लिइने र सबै खालको स्वास्थ्य मापदण्डको पालना गरिने जानकारी उनले दिए । साउनदेखि सञ्चालन गरिने स्नातक तहको परीक्षामा दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी सहभागी हुने भएकाले सरकारसित अनुमति लिएको स्पष्ट पारे । कोरोना महामारी अझै पूर्ण रूपमा नियन्त्रणमा आई नसकेको र पछि समस्या हुन सक्ने ठानेर सरकारसित अनुमति लिइएको हो ।

थपिए परीक्षा केन्द्र

विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३५० वटा परीक्षा केन्द्र बनाउनुपर्ने अवस्था रहेको जनाइएको छ । यसअघि स्नातक तहको परीक्षामा जम्मा २१० वटा मात्रै परीक्षा केन्द्र बनाइएको थियो । विद्यार्थीलाई सुविधा पुग्नुका साथै सुरक्षितसमेत हुने अनुमान गरी केन्द्रको सङ्ख्यामा वृद्धि गरिएको हो ।

यसका साथै सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोपमा विश्वविद्यालयका शिक्षक तथा कर्मचारी पनि समेटिएपछि परीक्षा सञ्चालनमा थप सहज हुने अपेक्षा गरिएको छ । मङ्गलबारदेखि खोप पाउने समूहमा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीलाई पनि समावेश गरिएको छ । विश्वविद्यालयले परीक्षा तथा विश्वविद्यालयका कक्षा सञ्चालनका लागि शिक्षक तथा कर्मचारीलाई खोपको प्राथमिकतामा राख्न सरकारसित लबिङ गर्दै आएको थियो । विश्वविद्यालयको परीक्षा सञ्चालनमा शिक्षक तथा कर्मचारीको प्रत्यक्ष सहभागिता रहने गरेको छ । शिक्षक, कर्मचारीले खोप पाएपछि अब सुरक्षित रूपमा परीक्षा सञ्चालन गर्न मनोबल उच्च हुने परीक्षा नियन्त्रक जोशीले बताए । विश्वविद्यालयले साउन पहिलो सातादेखि स्नातक तहको परीक्षा सञ्चालन गर्दैछ ।

परीक्षा फाराम भर्नै समस्या

विश्वविद्यालयको वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीलाई अनलाइन माध्यमबाट परीक्षा फाराम भर्न समस्या परेको पाइएको छ । विद्यार्थीमा इन्टरनेटको सहज पहुँच नभएको, प्रयोगको ज्ञान नभएको र कतिपय विद्यार्थी आफू अध्ययन गर्ने क्याम्पसबाट धेरै टाढासमेत भएका कारण विद्यार्थीलाई परीक्षामा आबद्ध गराउन समस्या परेको जनाइएको छ । भौतिक रूपमा परीक्षा फाराम भर्न समस्या भएपछि त्रिविले स्नातक तहको प्रथम वर्षका विद्यार्थीलाई जेठ ९ गतेदेखि अनलाइनबाट परीक्षा भर्न आह्वान गरेको थियो । कतिपय विद्यार्थीले भौतिक रूपमा नै क्याम्पसमा पुगेर परीक्षा फाराम भर्ने र त्यसलाई क्याम्पसले परीक्षा नियन्त्रण कार्यालयमा पठाइदिने समेत गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।