ताजा अपडेट »

एमबिबिएस अध्ययनका लागि आवाससहित छात्रवृत्ति

मंगलबार, २९ असार २०७८, १३ : १०

ताप्लेजुङ । आवाससहित एमबिबिएस अध्ययन छात्रवृत्ति प्रदान गर्ने नीति लिएको ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले छात्रवृत्तिसम्बन्धी विधेयक पारित गरेको छ । गाउँपालिकाको नवौँ गाउँसभामा प्रस्तुत छात्रवृत्ति दिनेलगायतका ४३ बुँदे नीति तथा कार्यक्रमलाई सोमबार बैठक बसी स्वीकृत गरेको हो ।

स्वीकृत छात्रवृत्तिसम्बन्धमा बनेको विधेयकले प्रत्येक वर्ष चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिएस अध्ययन प्रवेश परीक्षा उर्तीण गर्ने गाउँपालिका क्षेत्रभित्रको एक जना विद्यार्थीलाई आवाससहित छात्रवृत्ति दिने व्यवस्था गरेको छ । गाउँपालिकाभित्रका विद्यार्थीले उक्त प्रवेश परीक्षा उत्तिर्ण गर्न नसके जिल्लाका कुनै पनि क्षेत्रका विद्यार्थीले उक्त छात्रवृत्ति पाउनेछन् ।

यस्तै गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीलाई कक्षा ११ र १२ को अध्ययन निःशुल्क गर्ने व्यवस्थालाई समेत निरन्तरता दिने निर्णय भएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिनुभयो । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई निःशुल्क पोशाक र स्कुल ब्याग गाउँपालिको प्रदान गर्ने भएको छ ।

गाउँपालिका क्षेत्रभित्रको क्याम्पसमा पढ्ने दलित, महिला, अपाङ्गता परिचयपत्र भएका विद्यार्थीलाई स्नातक वा सो भन्दा माथिको अध्ययन निःशुल्क बनाइनेसमेत निर्णय भएको छ । यता सबै वडाबाट प्रत्येक वर्षको एसइई परीक्षाको नतिजामा उत्कृष्ट नतिजा हासिल गर्ने हरेक वडाका एक÷एकजना गरी आठजना विद्यार्थीलाई प्राविधिक विधामा प्रविणता प्रमाणपत्र तह वा सो सरह अध्ययनका लागि आवाससहितको छात्रवृत्ति दिने व्यवस्थालाई निरन्तरता दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।

कक्षा ११ र १२ को अध्ययन निःशुल्क गर्ने, पोशाक र ब्याग वितरण गर्ने, प्राविधिक विषयको अध्ययनका लागि छात्रवृत्ति दिने कार्यक्रम चालू आर्थिक वर्षबाटै शुरु गरिएका थिए । उक्त कार्यक्रमलाई पुन निरन्तरता दिने गाउँपालिकाले निर्णय गरेको हो ।

रासस
लेखकको बारेमा
रासस