ताजा अपडेट »

चिरुवा दाउराले हानेर एक युवाको हत्या, अभियुक्त ३ पक्राउ

विहीबार, १७ असार २०७८, १२ : ४९
6 Shares

बुटवल । आपसी विवादमा युवाहरु बीच झगडा पर्दा एक युवाले ज्यान गुमाएका छन् । प्युठानको प्युठान नगरपालिका १० कोटका २४ वर्षिय नगेन्द्र पुनलाई स्थानीय युवाहरुले चिरुवा दाउराले हानेर हत्या गरेका छन् ।

आक्रमणमा परी गम्भीर घाइते भएका २५ वर्षिय सुरेस बस्नेतको यूनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यलय प्युठानले हत्या आरोपमा ३ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा मल्लरानी गाउँपालिका–३ धनुबाँसका १८ वर्षिय रेम बहादुर घर्तीसहित प्युठान नगरपालिका–१० नेपानेका १७ र १५ वर्षका दुई बालक रहेका छन् ।

यही असार १३ गते मृतक ‘हेमन्त’ भन्ने नरेन्द्र पुनसहित गम्भिर घाइते सुरेश बस्नेतले आफ्नो दिदीको गोठ बनाउने काम गएर घर फर्किने क्रममा नेपाने गाउँका युवाहरुसँग विवाद गरेका थिए । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उनीहरु स्थानीय ढेब्रि पसलमा मादक पदार्थ सेवन गरी घर तर्फ जाँदै गर्दा अभियुक्तहरुलाई अश्लिल शब्दले गाली गलौज गरेका थिए । गाली गलौज गरेको भन्दै अभियुक्त ३ जना युवाहरुले बाटो कुरेर मृतक नरेन्द्र र सुरेसलाई चिरुवा दाउराले हानी आक्रमण गरेका थिए ।

रातको करिब साढे ९ बजे भएको यो घटनापछि अभियुक्तहरु त्यहाँबाट आफ्नो घरमा गई सुतेका थिए । घटनामा संलग्न रेमबहादुर भने अभियुक्त बालक मध्ये एक बालको घरमा गई सुतेका थिए । असार १४ गते भोलिपल्ट विहानै स्थानीयहरुले नगेन्द्र र सुरेसलाई बाटोमा लडिरहेको अवस्थामा भेटेका थिए । नगेरन्द्र मृत्यु भइसकेको थियो भने गम्भीर घाइते सुरेसलाई जिल्ला अस्पता बिजुबजार पठाइएको थियो । उक्त अस्पतालले थप उपचारका लागि रुपन्देहीको मेडिकल कलेज भैरहवामा रिफर गरेको थियो ।

दुई गाउँ बीच पुरानै दुश्मनी
घटना बारे प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ । यसैगरी वडा नम्बर १० का अध्यक्ष पदम गिरीले स्थानीय कोट र नेपाने गाउँ बीच समय–समयमा विवाद भैराख्ने बताए । गाउँमा हुने मेला पर्वहरुको समयमा समेत दुई गाउँका युवाहरु बीच विवाद तथा लडाई झगडा भइरहने गरेको अनुभव उनले सुनाए ।

असार १३ गतेको घटना विगत वर्षहरुमा भएको विवादका कारण हो वा अन्य कारण भन्ने बारे अनुसन्धानपछि मात्रै भन्न सकिने बताउँदै वडा अध्यक्ष गिरीले विगतमा समेत दुई गाउँका युवाहरु बीच विवाद भइरहने र दुई गाउँ बीच आपसी सम्बन्ध त्यती राम्रो नरहको ग्लोबल आवाजसँगको कुराकानीमा बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।