ताजा अपडेट »

आठबीसका ३७ घरपरिवार आफन्तका शरणमा

शुक्रबार, ११ असार २०७८, १० : ५४
14 Shares

दैलेख । आठवीस नगरपालिकाको वडा नं ९ का ३७ घर परिवार चार दिनदेखि आफन्तका घरमा र खुल्ला स्थानमा बस्न बाध्य छन् । वडाका ५० घरमध्ये ३७ घरपरिवारका २५० बढी मानिस पहिरोको जोखिममा परेपछि आफन्तको शरणमा बस्न बाध्य भएका हुन् ।

भिरालो जमीनको तल पट्टी बस्ती भएको र घरमाथिको पहाडको केही भागमा पहिरो खस्न थालेपछि बस्ती सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । बस्तीका २५० भन्दा बढी नागरिकलाई कसैलाई आफन्तकोमा राखिएको छ भने कसैलाई अन्य विभिन्न खुल्ला स्थानमा राखिएको श्रेष्ठ बताए ।

दैलेखमा दुई दिनदेखि वर्षा कम भएको छ । स्थानीय सरकार, जिल्ला प्रहरी र अन्य निकायबाट पुनः बस्तीको अनुगमन गरेर जोखिम कम भएपछि मात्र पुनः आफ्नो घरमा फर्काउने तयारी गरिएको आठवीस नगरपालिका दैलेखका प्रमुख खड्गराज उपाध्यायले जानकारी दिए । पहिरोको जोखिमसँगै आफन्तकोमा बसेका समुदायलाई राहत तथा उद्धारका काम पालिकाबाट भइरहेको र वडा अध्यक्षलाई जनताका समस्या समाधानका लागि नगरपालिकाले गर्नुपर्ने कर्तव्यबारे विवरण माग गरिएको उपाध्यायले बताए ।

रासस
लेखकको बारेमा
रासस