ताजा अपडेट »

काई ग्रिनका प्रशंसक बुटवलका राजकुमार

शुक्रबार, ०४ असार २०७८, १६ : २५
8 Shares

चर्चित अमेरिकन प्रोफेसनेल बडिबिल्डर काई ग्रिनका विश्वभरि करोडौं प्रशंसक होलान्। अनक्राउण्ड मिष्टर ओलम्पिया काईका ठूला फलोवर हुन, निर्णायक तथा शारीरिक सुगठन खेलाडी राजकुमार श्रेष्ठ। बुवा स्वःश्री बुद्घिलाल तथा माता भिम कुमारी श्रेष्ठको कान्छा छोराका रुपमा वि.सं. २०२७ राजकुमारको जन्म बुटवल उपमहानगरपालिका वडा नं. १ गणेश स्थानमा भएको थियो। उनका बुवाले पुरानो बटौली बजारमा घ्यू तथा जडीबुटीको ब्यापार गर्थे। राजकुमारलाई साथीभाइहरुले मायाले कपुर उपनामले बोलाउने गर्दथे। बाल्यकालदेखि नै नयाँ नयाँ खेलमा खेल्न रुचाउने उनको स्वभाव थियो। शुरुमा उनले पार्कर खेल खेल्न थाले। खेलमा हुने ब्याकवार्ड र समरसल्ट गर्न क्रममा घरको छाना, रुख, पर्खाल, र भर्याङ्गबाट हामफाल्ने गर्थे।

एकपटक जम्प गर्ने बेला लडेर दाहिने हात भाँचियो। उपचारको केहि महिनापछि फेरि झ्यालबाट खसेर पुनः त्यही हात तथा टाउकोमा चोट लाग्न पुग्यो। टाउकामा लागेको चोट गम्भिर प्रकृति भएकाले हातमा चिकित्सकको ध्यान पुग्न ढिलो भयो। जसका कारण उपचारपछि पनि भाँचिएको हात थोरै बाँङ्गिन पुग्यो। त्यसपछि डाक्टरले गरुङ्गो वजन उठाउने काम नगर्न भनि सल्लाह दिएका थिए । यद्यपी उनले खेलमा रमाउन भने छाडेनन्। घरमा दाजु शंकरले बेट ट्रेनिङ्ग गरेको देखेर उनिको मनमा पनि व्यायाम गर्ने आकांक्षा पलाउँदै गयो ।

खेलसँगै उनको रुचि क्रमशः नृत्यतर्फ जागृत भयो । त्यतीबेला ब्रेकडान्सको आर्कषण युवाहरुमा निकै बढेको थियो। विश्व चर्चित कलाकार माईकल ज्याक्सन लगाएत अन्य बिदेशी डान्सरलाइ पछ्याउँदै श्रेष्ठले नृत्यको अभ्यास गर्थे। हङ्गकङ्गका लाहुरेहरु घर फर्कदा उनका छोराहरु मार्फत विदेशी संगीतका क्यासेटहरु मगाएर त्यहीँ भिडियो हेर्दै नाच्न सिक्ने गरेको उनले सुनाए। केही साथीहरु मिलेर २०४३ सालतिर बुटवलमा पहिलो ब्रेकडान्स समूह गठन गरे। जसमा रिम गुरुङ्ग, झुप बहादुर, बुद्घिबल पुन र गोपाल राना लगाएत साथीहरु रहेको उनि संझिन्छन् । हिजोआज समेत प्रचलनमा रहेको हिपहप डान्स ब्याटल उतिबेला नै आफुहरुले नाच्ने गरेको श्रेष्ठ बताउँछन्। राजकुमार डान्स सिक्नका लागि भन्दै भारतको मुम्बई समेत पुगे। त्यहीबेला उनले प्रसिद्ध भारतीय कलाकार धिरज कुमारको चर्चित टि.भी. सिरिएल ‘अदालत’का केही भागहरुमा अभिनय गर्ने अवसर पाए । नृत्य सम्बन्धि सफल कार्यक्रम बुगी–बुगी डान्स प्रतियोगितामा भाग लिएको श्रेष्ठ बताउँछन्।

बुवाको मृत्यु खबरपछि उनि नेपाल फर्किए। केही समयपछि उनले बक्सिङ्ग खेल्न थाले। २०४३ सालमा बुटवलमा भएको राष्ट्रिय बक्सिङ्ग प्रतियोगिताको तैयारीको बन्द प्रशिक्षण शिविरमा उनि सहभागी भएका थिए । उनलाई खेलाडीहरुको बलियो र सुगठित शरीरको तुलनामा आफु दुब्लो पातलो भएकोमा निकै पछुतो लाग्यो। शरीरलाइ बलियो बनाउन भन्दै ढुङ्गाको चक्का बनाई व्यायाम प्रारम्भ गरे ।

स्थानीय व्यायामप्रेमी युवाहरु बिपिन श्रेष्ठ, प्रबिण उदय, मिलेन्द्र श्रेष्ठ, अशोक प्रधान र सन्तोष बि.क लगाएतसँग मिलेर उजिरसिंह ब्यायामशाला स्थापना गरी व्यायाम गर्न थाले। नियमित ब्यायम गरेपछि उनको शरीर आकर्षक देखिन थाल्यो। त्यही समय उनको चिनजान भैरहवाका अग्रज शारीरिक सुगठन खेलाडी शिवध्वज राईसँग भयो। जसले रुपन्देहीमा शारीरिक सुगठनका प्रतियोगिताहरुको आयोजन गर्ने गर्थे। राईले उनलाई प्रतियोगितामा सहभागी हुन प्रोत्साहित गरे । २०५४ सालमा ओलम्पियन जिम सेन्टर तौलिहवाको आयोजनामा कृष्णनगरमा भएको प्रथम मिष्टर पश्चिमाञ्चल स्तरिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी समुहमा श्रेष्ठले रजत पदक हात पारे। राजकुमार पहिलो प्रतियोगितामा पदक प्राप्त भएकोले थप उत्साहित भएर खेल क्षेत्रमा लागि परे। त्यसपछि भएको बिभिन्न जिल्ला, क्षेत्रिय र राष्ट्रियस्तरको प्रतियोगिताहरुमा निरन्तर भाग लिएर अनुभव बटुले। थप प्रशिक्षणका लागि मुम्बई समेत पुगे।

कामका शिलसिलामा बुटवल बाहिर जानु पर्ने भएमा त्यहाँ ब्यायामशाला भए नभएको एकिन गरेर मात्र जाने गरेको उनि सम्झन्छन् । त्यहीबेला तौलिहवामा शारीरिक सुगठनका चर्चित खेलाडी जीवन गिरीले सञ्चालन गरेको शारीरिक सुगठनका प्रशिक्षणमा राजकुमार सहभागी भएका थिए। जसमा प्रथम मिष्टर नेपाल शिवलाल श्रेष्ठ र खेलका बरिष्ठ खेलाडी तिर्थ महर्जनले प्रशिक्षण दिएको थिए। भारतको दिल्लीमा भएको टग अफ वार खेलको दक्षिण एशियाली र विश्व च्याम्पियनसिपमा समेत उनले सहभागीता जनाउँदै पदक प्राप्त गरेको राजकुमार बताए।

नृत्यमा पाराङ्गत रहेका राजकुमार प्रतियोगिताको पोजिङ्ग राउण्डमा निकै राम्रो प्रस्तुती दिने गरेको उनका समकक्षी खेल प्रशिक्षक केशव बहादुर शाक्य बताउँछन् । नृत्य सहितको उत्कृट प्रदर्शन गर्ने गरेका कारण नै आफू बडिबिल्डर काई ग्रिनको प्रशंसक भएको राजकुमार बताउँछन् । काईलाइ पछ्याउँदै आफुले पनि उनकै जस्तो केश पालेको राजकुमार बताउँछन्। काइ ग्रिनकै शैलीमा पालिएका उनका लामा कपालका कारण आउने जाने गरेका धेरै ठाँउहरुमा कपालको चर्चा हुने गरेको राजकुमारले बताए ।

शारीरिक व्यायाममा गरिने बेट ट्रेनिङ्गमा श्वास प्रश्वासको महत्वपूर्ण भूमिका रहने राजकुमार बताउँछन् । उनी भन्छन्, ‘तपाइँले व्यायाम गर्न तौल उठाउँदै गर्दा श्वास छोड्नुहोस् । सुरूवात गर्ने स्थितिमा फर्केर आउँदै गर्दा श्वास लिनुहोस्। राम्रोसँग सास फेर्न जान्दा व्यायाम गर्न सजिलो बनाउँदछ। उचित समयमा श्वास लिदा र छोड्दा भार उठाउन मद्दत समेत पुग्ने गर्छ। सही श्वास प्रश्वास व्यायाम प्रभावकारी बनाउने अचुक अस्त्र हो । व्यायाम सकिए पछि खेलाडीले केही क्षण विश्राम लिएर मांसपेशीहरुलाइ व्यायाम पुर्वको अबस्थामा पुर्याएर मात्रै जिमबाट बहिरिनुपर्छ।’
हाल राजकुमार शारीरिक सुगठन खेलको राष्ट्रिय खेलकूद परिषदबाट मान्यता प्राप्त राष्ट्रिय निर्णायक हुन।

बुटवल उपमहानगरपालिका जागिरे रहेका उनी बिहान साँझ भने बुटवलको प्रतिष्ठित क्लब डेनोभोमा ब्यायाम प्रशिक्षण गराउँदै आएका छन्। रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको सचिव समेत रहेका राजकुमार यही खेलको विकास र प्रवद्र्धनमा लागिपरेका छन् ।

https://www.globalaawaj.com/archives/114191
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार